ad ad

राजनीति


कोशीमा ओली : पूर्व राजामाथि प्रहार गर्दै जिल्ला जिल्ला घुमे, झापामै एमाले बैठक राखे

पहिलो पटक बैठक बस्न झापा जाँदै एमालेका ३०१ जना नेता, जसलाई देखाइने छ १८ तले भ्यू टावर
कोशीमा ओली : पूर्व राजामाथि प्रहार गर्दै जिल्ला जिल्ला घुमे, झापामै एमाले बैठक राखे

निर्वाचनअघि झापास्थित आफ्नै निवासमा केपी ओली (सरोज बैजु)


ज्ञानेन्द्र खड्का
बैशाख १८, २०८० सोमबार ६:३१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वैशाख १३ गते काठमाडौंबाट गृहजिल्ला झापा उत्रिए। बुद्धशान्ति गाउँपालिकामा आयोजित एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुग्दा उनले त्यहाँ पहिचानवादीको चर्को विरोध सहनुपर्‍यो।

गृहजिल्ला झापा जाँदा सम्भवत: पहिलो पटक उनले कालोझन्डा र ढुंगामुढा सामना गर्नुपर्यो। 

चन्द्रगढी विमानस्थलबाट उत्रेर ओली बुद्धशान्तितिर जाँदै गर्दा ‘कोशी’ प्रदेशविरुद्ध आन्दोलित पहिचानवादीको प्रदर्शन हुन सक्ने अनुमान सुरक्षाकर्मीले पहिल्यै गरिसकेका थिए। 

त्यहीकारण चन्द्रगढी विमानस्थलबाटै उनका लागि सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्थासहित 'स्कर्टिङ' गरिएको थियो।  

यद्यपि ओलीविरुद्ध पहिचानवादीहरुले कालोझन्डा मात्रै देखाएनन्, ढुंगामुढा पनि हाने। यो प्रकरणलाई लिएर त्यही दिन एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलकै कार्यकर्ताबाट ओलीमाथि आक्रमण भएको भन्दै आपत्ति जनाए। 

पहिचानवादीहरुले गृहजिल्ला झापामै आक्रमण प्रयास गरेपछि ओली काठमाडौं फर्किन सक्ने धेरैको अनुमान थियो। तर, एमालेकै स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले राखेको ‘कोशी’ नामविरुद्धको आन्दोलनको नाडी छाम्न ओली लिम्बुवान पक्षधरको पकड रहेका तत्कालीन मेचीका पहाडी जिल्लातिर उक्लिए।

वैशाख १३ मा बुद्धशान्तिमा पहिचनावादीको प्रतिरोध खेपेका ओली भोलिपल्ट अर्थात वैशाख १४ गते इलाम पुगे। उनले पत्नी राधिका शाक्यसहित कन्याममा सेल्फी खिचेर सचिवालयमार्फत सार्वजनिक गरे।

ओली इलामतिर चढेको थाहा पाएका पहिचानवादी त्यहाँ पनि ओलीको विरोधमा उत्रिए। किरात र लिम्बुवान पक्षधहरुको प्रदर्शनबीच कन्याममा बास बसेका ओली पशुपतिनगरसम्म पुगेका थिए।

दार्जीलिङसँग जोडिएको इलामको पशुपतिनगर पुगेर ओलीले सीमाक्षेत्रमा भारतीय मिचाहा प्रवृत्ति हट्नुपर्ने कुरा सार्वजनिक रुपमा राखे। 

त्यसपछि उनी एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई साथमा लिएर इलाम सदरमुकाम निस्किए। जहाँ जाँदा ओलीले पहिचानवादीको अझै कडा प्रतिरोध खेप्नुपर्यो। एमालेले ओलीको गाडीलाई पहिचानवादीहरुले एम्बुसमै पार्न खोजेको आरोप पनि लगायो। 

कुनै बेला संघीयताको पक्षमा आन्दोलन चलिरहँदा इलाम र पाँचथरमा लिम्बुवानसम्वद्ध समूहहरुले छुट्टै राज्य माग्दै अभियान पनि छेडेका थिए। तिनै इलाम र पाँचथरमा लिम्बुवान र पहिचान पक्षधरहरुको आन्दोलन अहिले बढिरहेको छ।

झापामा ओलीविरुद्धको प्रदर्शन

पहिचानवाला र राजतन्त्रविरुद्ध आक्रोश
ओली इलाम सदरमुकाम पुग्दा पनि पहिचानवादीले कालोझन्डा देखाउँदै विरोध जनाए। यद्यपि उनले वैशाख १४ मा इलाममा पार्टीको जिल्ला परिषद बैठकलाई सम्बोधन गरे। त्यहाँ उनले पूर्वयुवराज्ञी हिमानी शाहको फेक ट्विटलाई लिएर ‘फ्याँकिसकेको राजतन्त्रले अब ब्युँतिने प्रयास नगरे हुन्छ’ भन्ने अभिव्यक्ति दिए।

जनयुद्धका समयमा माओवादीले समेत मेचीका जिल्लाहरुलाई लिम्बुवान प्रदेश घोषणा गरेको थियो। लिम्बुवानको चर्को आन्दोलन छेडिएको जिल्ला हो पाँचथर।

इलाममा सम्बोधन गरेपछि ओली त्यही दिन स्थलमार्ग हुँदै पाँचथर पुगे। उपाध्यक्ष सुवास नेम्वाङलाई साथमा लिएर पहिचान पक्षधहरुको पकड भएका जिल्लामा ओलीले चार दिन बिताए। 

वैशाख १४ मा पाँचथरको फिदिममा बास बसेका ओली वैशाख १५ मा जन्मस्थान तेह्रथुम तरे। उनको यो अभियानलाई पहिचानवादीको नाडी छाम्ने राजनीतिक कदम पनि भनिएको छ।

यद्यपि ओली जन्मस्थन तेह्रुथमको आठराई पुग्दा पनि विरोध सहनु पर्‍यो। आठराईमा पुगेर उनले बहुप्राविधिक विश्वविद्यालयको उद्घाटन गरे। उनले झापा, इलाम, पाँचथर र तेह्रथुममा सम्बोधनका क्रममा कोशी प्रदेशको नाम अब हेरफेर हुन नसक्ने बताए। 

शनिबार पाँचथरको फिदिममा आयोजित कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले पहिचान पक्षधरबारे कडा टिप्पणी गरे।

‘दुईचार जना केटा सडकमा उफ्रिदैमा नामकरण परिवर्तनको सम्भावना छैन। म भन्न चाहन्छु, जनताबाट दुईतिहाइ मत ल्याएर नाम संशोधन गरेर देखाओ,’ उनले भने, ‘कोशी प्रदेशमा अब दायाँबायाँ हुँदैन। नाम हेरफेर गर्ने भए संसदमा बहुमत पुर्‍याएर देखाउनू।’

पहिचानवादीलाई चिढ्याउने गरी अभिव्यक्ति दिएका ओली जन्मस्थान तेह्रथुमबाट सिधै तराई-मधेश झरेनन्। उनी फेरि त्यहाँबाट पारी तरेर पाँचथर सदरमुकाम फिदिममै बास बस्न पुगे।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संघीयताविरोधीको आरोप लगाइरहँदा ओलीले यस पटक राजतन्त्रको पक्षमा भइरहेका गतिविधि र आन्दोलनप्रति कडा आलोचना र टिप्पणी गरे।

उनको उक्त टिप्पणीलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी क्रुद्ध बनेको छ। मेची पहाड निस्किएर ओलीले एकातिर पहिचानवादीको नाडी छाम्न खोजे भने अर्कातिर राजतन्त्र पक्षधरसँग वाकयुद्धमा उत्रिए। 

ओलीको भनाइलाई लिएर निर्मल निवासले स्पष्टीकरण नै दिनुपर्यो। निर्मल निवासले पूर्वराजपरिवारका कसैले पनि सामाजिक सञ्जाल नचलाउने स्पष्टीकरण दियो।

पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंपछि आफ्नो धेरै समय झापामा बिताउने गरेका छन्। यसअघि ओलीलाई हजुरबा भन्ने व्यवसायी दुर्गा प्रसाईले झापाको मेचीनगरमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वराजा युवराजलाई अतिथि बनाएर विवादित अभियान सुरु गरेका थिए। 

उक्त अभियान ओलीकै सल्लाहमा भएको कुरा प्रसाईले बेलाबखत गरिरहेका छन्। राजसंस्थासँग जोडेर आफूलाई विवादित बनाइरहेका बेला ‌ओलीले यस पटक त्यसका पक्षधरको चित्त दुख्ने गरी बोलेका छन्। यसलाई ओलीले आफ्नो ‘ड्यामेज कन्ट्रोल’ को उपायका रुपमा प्रयोग गरेको उनीनिकटस्थहरु  नै बताउँछन्।

राप्रपाले पनि ओलीले राजसंस्था र यसका आस्थावानप्रति चोट पुग्ने गरी बोलेको भन्दै आपत्ति जनाएको छ। 

‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्, ‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन्।’

तत्कालीन मेचीका पहाडी जिल्ला घुमेर ओली शनिबार साँझ दमक उत्रिए। त्यहाँबाट उनी आइतबार काठमाडौं आइसकेका छन्। उनले काठमाडौं उत्रिएर पनि राजतन्त्रविरूद्ध कडा अभिव्यक्ति दिए। 

आइतबार एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र स्वार्थी तत्वले मान्ने टिप्पणी गरे

‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मुर्खले मान्छ। कोही कोही अज्ञानीले पनि मान्छ। एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन्। अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन्। दलाल र बुद्धि नभएकाहरुले मान्छन् जन्मिदै यस्तो हुनुपर्छ भनेर,’ उनले अगाडि भने। 

अध्यक्ष ओली पहिचान पक्षधरहरुको आन्दोलनको सामना गर्दै राजधानी फिरिरहँदा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक उनकै गृहजिल्ला झापामा राखेको छ। बैठक अझ ओलीको गृहनगर दमकमै हुँदैछ। जहाँ उनी प्रधानमन्त्री हुँदा अघि बढाइएको १८ तले भ्युटावर बन्दैछ।

एजेण्डामा केन्द्रित हुन झापामा आवासीय बैठक  ​
पाँचथरमा बास बसेर शनिबार झापा ओर्लिएका ओलीले दमकस्थित निवासम त्यहाँ उपलब्ध स्थायी कमिटी, पोलिटव्यूरो, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुसँग छलफल गरे। 

वैशाख २८ गतेदेखि ३० सम्म हुने केन्द्रीय कमिटी बैठकलाई रणनीतिक मानिएको छ। नेपाली कम्युनिष्ट आन्दोलन उदय भएको एउटा जिल्ला झापाको दमकमा तीन दिनसम्म हुने केन्द्रीय कमिटीको बैठकलाई नेताहरुले अर्थपूर्ण मानेका छन्। 

पहिचानवादी र राजतन्त्र पक्षधहरुको समेत उपस्थिति बलियो रहेको झापामा बैठकको उद्घाटन कार्यकर्ताहरुको विशाल उपस्थितिबीच गर्ने तयारी एमालेले गरेको छ। एमालेको केन्द्रीय कमिटीमा ३०१ जना छन्। प्रदेश कमिटी अध्यक्षहरू पदेन सदस्य हुन्छन्। 

यसबीचमा एमालेले दुई महिना लामो ग्रासरुट अभियान चलाएको छ। यही अभियानकोबीचमा वैशाख १० मा भएको उपनिर्वाचनमा एमाले चितवन २, तनहुँ १ र बारा २ तीनै स्थानमा पराजित भएको छ। यसको समेत एमालेले उक्त बैठकमा समीक्षा गर्ने भएको छ। 

उक्त बैठकलाई भव्य बनाउन विशेष तयारीका लागि ओलीले शनिबारै नेताहरुलाई निर्देशन दिएका छन्। ओलीको निर्देशनअनुसार एमालेले यसअघि चलाएको दुई महिने ग्रासरुट अभियानको पनि त्यहाँ समीक्षा हुनेछ।

यो बैठक किन काठमाडौंबाहिर त्यो पनि झापामै गर्न लागिएको हो त? एमाले उपमहासचिव विष्णु रिमाल संघीयताको अभ्यासअनुसार पार्टी गतिविधिलाई विकेन्द्रिकृत गर्ने एउटा प्रयासका रुपमा यसलाई लिन्छन्। 

‘यसमा ठूलो कारण केही पनि छैन। पार्टीलाई चलायमान बनाउने रणनीतिअनुसार पनि यस पटक बैठक झापामा राखिएको हो’, उनले नेपालखबरसँग भने, ‘काठमाडौंमा बैठक हुँदा नेताहरुलाई एकै ठाउँ केन्द्रिकृत गर्न समस्या हुने भयो। झापामा हुँदा देशभरबाट पुगेका नेताहरु आवासीय बैठकमा समय दिन पनि पाउँछन्।’

३०१ जना केन्द्रीय सदस्यलाई देखाइने छ १८ तले भ्यू टावर
रिमालका अनुसार बैठकमा सहभागी नेताहरुलाई त्यहाँका विकास योजना पनि अवलोकन गराइनेछ।

त्यसैगरी दुई दिन बैठक बसिसकेपछि वैशाख ३१ गते सबै केन्द्रीय सदस्यहरुलाई झापाका राजनीतिक, पर्यटकीय र धार्मिकस्थल भ्रमण गराउने कार्यक्रम बनाइएको छ।

त्यसैगरी झापा आन्दोलनका पाँचजना योद्धाहरुलाई गोली हानेर हत्या गरिएको सुखानी, उनीहरुको प्रतिमा राखिएको सालबाडी, नेपालकै होचो कचनाकवल, धार्मिकस्थल अर्जुनधारा र किच्चकबध पनि घुमाइने भएको छ। 

नेपालकै नमुना खेतीका रुपमा रहेको गौरादह-५ को सामूहिक नमुना खेती, निर्माणाधीन १८ तले दमक भ्यू टावर, भुटानी शरणार्थी शिविर, दमक सभा हल लगायत विकास नमुना पनि केन्द्रीय सदस्यहरुलाई देखाउने योजना एमालेको छ। 

ती केन्द्रीय सदस्यहरुलाई अवलोकन गराउने स्थान र रुटबारे स्थानीय कमिटीसँग छलफलपछि टुंगो गरिने एमाले नेता थापाले बताएका छन्।

फरक भूगोलसँग परिचय झापामै बैठक
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल केन्द्रीय कमिटी बैठक झापामा राखेर पार्टीले एउटा राजनीतिक सन्देश दिन चाहेको बताउँछन्। 

‘झापा एउटा ऐतिहासिक जिल्ला हो। झापा आन्दोलनबाटै पञ्चायतविरुद्ध कम्युनिष्ट आन्दोलन पनि उठेको थियो’, उनले भने, ‘कम्युनिष्ट आन्दोलनका क्रममा झापामा कयौँ योद्धाको बलिदान भएको छ। उहाँहरुको सम्मान र स्मरणका लागि पनि झापामा यो बैठक राखिएको हो।'

रिजालले पार्टीको मिसन ग्रासरुट अभियानको समीक्षासँगै नेताहरुलाई देशका फरक भूगोलसँग परिचय गराउन झापामा बैठक राखिएको बताए।

‘देशभरका नेताहरु बैठकमा सहभागी हुने भएकाले फरक भूगोलसँग परिचय पनि गराउने पार्टीको उद्धेश्य हो’, उनले भने, ‘पार्टीले यसअघि ठूला कार्यक्रमहरु काठमाडौंबाहिर नगरेको होइन। तर झापामै केन्द्रीय कमिटी बैठक राखेर एमालेले राजनीतिक सन्देश पनि दिन चाहेको छ।’

कांग्रेस नेतृत्वको घेराबन्दीबीच झापासहित कोशी प्रदेशमा गत निर्वाचनमा एमालेले राम्रो नतिजा निकालेको थियो। झापामा पनि क्षेत्र नम्बर ३ र ५ बाहेक अरुको नतिजा एमालेको पक्षमा थियो।

पार्टी संगठन चलायमान बनाउन पनि केन्द्रीय कमिटी बैठक काठमाडौंबाहिर लगिएको एमाले नेताहरुको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .