ad ad

राजनीति


सुन तस्करीबारे गृहमन्त्रीप्रति ओलीको आक्रोश : क्‍विन्टलका क्विन्टल भित्रिँदा सुरक्षा गर्नेले किन देखेन?

सुन तस्करीबारे गृहमन्त्रीप्रति ओलीको आक्रोश : क्‍विन्टलका क्विन्टल भित्रिँदा सुरक्षा गर्नेले किन देखेन?

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
साउन ९, २०८० मंगलबार १२:३९, काठमाडौँ

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गरे। 

उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए। 

‌ओलीले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन भन्दै प्रश्न गरे। उनले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए। 

‌ओलीले कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृहमन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै प्रश्न गरे। 

एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति उनले आपत्ति जनाए।

‌ओलीले नेपाल चेम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोमा आपत्ति जनाए। 

सुन तस्करीको विषय छोप्न गृहमन्त्रीले कुरा मोड्ने काम गरिरहेको उनले बताए। ओलीले अनियमितता गर्नेहरुलाई अब छुट नहुने बताए। 

अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याइ एमालेले नछोड्ने बताए। उनले सुन बोक्ने भन्दा बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ हाम्रो। उहाँले यहाँ सेक्युरिटीको बन्दोबस्त गरेको छ कि छैन। एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन? यहाँको आउने जाने चिजको निरीक्षण गर्ने काम उहाँको हो कि होइन’, उनले भने, ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ। यो अनैतिक क्रियाकलाप हो। गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ। आफू गृहमन्त्री भएर यसको यस्ता गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले?’

उनले अहिलेको सुनकाण्डमा भरिया समातिँदा मालिक छाडिएको पनि बताए। 

‘गृहमन्त्रीलाई थाहा होस्, यो गृहमन्त्रीसम्म पुगोस्। पहिला पनि सुन तस्करी हुने गरेको थियो, खनेर निकालेको हो हामीले, फेरि पनि यस्ता कुरालाई हामी खनेर ननिककालेसम्म छोड्दैनौँ’, उनले भने, ‘यसमा कारबाही के हुन्छ, कसमाथि कारबाही हुन्छ, हेरिरहेका छौँ। बोक्न त प्लेन, गाडी भरियाले बोक्यो होला तर बोकाउने को? कसले बोकायो? त्यसकारण यो ढाकछोप हुन सक्दैन।’

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए। 

त्यही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाणबिना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदै हिँड्न नहुने बताएका हुन्। 

अध्यक्ष ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशंका  व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .