नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व’ विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक भारदारी सभा जस्तो भएको बताएका हुन्।
घिमिरेले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरेअनुरुप बोल्ने गरिएको बताए। उनले पार्टी केन्द्रीय कार्य समिति भारदारी सभा नभएको भन्दै नेतृत्वलाई चेतावनी दिए।
‘केन्द्रीय कार्यसमितिमा जति गम्भीरता हुनुपर्ने त्यति गम्भीरता मैले देखिनँ। केन्द्रीय कार्यसमितिको बैठक कता कता मलाई भारदारी सभाजस्तो लाग्यो’, उनले भने, ‘महाराजको इशारा जता छ, त्यतैतिर आवाज आउँछन् त्यतैतिर अभिव्यक्ति आउँछन्। कांग्रेस लोकतान्त्रिक पार्टी हो। कांग्रेसको केन्द्रीय कार्य समिति भारदारी सभा होइन। पार्टी प्रमुखको इशारामा, जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ। दुःख र कर्म फरक हो। दुःख र कर्मको भेद छुट्टयाउन जान्नुपर्छ।’
उनले केन्द्रीय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउन नसकेको बताए। ‘दुःख पर्यो भनिदिनुभयो। राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिँदैन’, उनले भने, ‘त्यो कर्म हो। उहाँकै कर्मले हो। जति पनि व्यक्तिहरु भ्रष्टाचारमा मुछिएका छन्, अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने नहुने, टुंगो लागोस्।’
उनले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए।
आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उनले उल्लेख गरे। दोषी भएमा खाँणलाई कारबाही गर्नुपर्ने उनले बताएका छन्।
Shares
प्रतिक्रिया