ad ad

राजनीति


डाचाराज वाग्लेलाई सहिद घोषणा गर्ने माओवादी केन्द्रको निर्णय

डाचाराज वाग्लेलाई सहिद घोषणा गर्ने माओवादी केन्द्रको निर्णय

नेपालखबर
साउन २२, २०८० सोमबार ८:५७, काठमाडौँ

अढाई वर्षअघि सर्लाहीमा भएको रहस्यमय सवारी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई नेकपा माओवादी केन्द्रले सहिद घोषणा गरेको छ।

माओवादी केन्द्रको आइतबार राजधानीमा सम्पन्न केन्द्रीय समिति बैठकले वाग्लेलाई सहिद घोषणा गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य निर्मल बरालले जानकारी दिए। 

‘रहस्यमय सवारी दुर्घटनामा ज्यान गुमाउने क.डाचाराज वाग्लेलाई पार्टीले सहिद घोषणा गरेको छ,’ बरालले भने, ‘उहाँलाई सरकारले पनि सहिद घोषणा गर्नुपर्छ। त्यसका लागि सरकारलाई आग्रह गर्ने निर्णय पनि केन्द्रीय समिति बैठकले गरेको छ।’

०७७ माघ २१ गते राति सर्लाहीको बरहथवा जंगलमा भएको रहस्यमय सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको थियो। मृत्यु हुँदा वाग्ले ५१ वर्षका थिए।

अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका वाग्लेको तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्ध पाँच राजनीतिक दलले बरहथवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गरेर एक्लै मोटरसाइकलमा घर फर्कने क्रममा मृत्यु भएको थियो। एकान्त जंगलमा मोटरसाइक दुर्घटनामा परेको अवस्थामा उनको शव फेला परेको थियो।

प्रहरीले वाग्ले सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरे पनि परिवारका सदस्य र उनी आबद्ध पार्टी नेकपा माओवादी केन्द्रले भने सुनियोजित दुर्घटनाबाट वाग्लेको मृत्यु भएको दाबी गर्दै आएका छन्। 

प्रहरीले घटनाको एक वर्षपछि दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई पक्राउ गरिएको बताएको थियो। तर, वाग्ले परिवारले त्यसलाई अझै दुर्घटनाका रुपमा स्वीकारेको छैन। उनीहरु घटनालाई रहस्यमय बताइरहेका छन्।

सर्लाहीमा मिटर ब्याज विरोधी आन्दोलनको नेतृत्व गर्दै आएका वाग्लेको मृत्युलाई फगत सवारी दुर्घटनामात्रै मान्न सकिने अवस्था नरहेको नेता बरालले बताए। 

वाग्लेकी पत्नी सरस्वती मिश्रले आफ्ना पतिलाई माओवादी केन्द्रले सहीद घोषणा गर्ने निर्णय गरेकोप्रति खुसी व्यक्त गरिन्।

‘आफ्नो राजनीतिक जीवनमा आफूले पाएको पार्टीप्रतिको जिम्मेवारी र भूमिकालाई निर्वाह गर्दै आउनु भएका क.डाचाराज वाग्लेलाई आज सम्पन्न पार्टीको बैठकले सहिद घोषणा गर्ने जुन निर्णय गरेको छ, त्यसबाट उत्पीडित वर्गले न्याय पाएको अनुभूति मैले गरेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘क.डाचाजीलाई स्मरण गरेर पुनः जीवन्त राखिदिनु भएकोमा पार्टीका सवै कमरेडहरुलाई परिवारको तर्फवाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .