ad ad

राजनीति


एकीकृत समाजवादी : कसैलाई जिम्मेवारीको खातैखात, कसैलाई पक्षपात

झलनाथ खनालको गम्भीर आपत्ति, अरू नेतामा पनि चर्को असन्तुष्टि
एकीकृत समाजवादी : कसैलाई जिम्मेवारीको खातैखात, कसैलाई पक्षपात

केन्द्रीय परिषद् सदस्य अस्वीकार गरेका दीपक मनाङे (राजीव गुरुङ) सँग माधव नेपाल। तस्बिर : नेपालखबर


ज्ञानेन्द्र खड्का
भदौ ३०, २०८० शनिबार ६:१, काठमाडौँ

गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकबाट पारित भएका निर्णय भन्दै अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनले एकीकृत समाजवादीका भुइँचालो ल्याइदिएको छ।

उक्त अपानिमा कयौँ नेताहरुको जिम्मेवारी बाँडफाँट र हेरफेर भएको  थियो। अध्यक्ष नेपालले केही नेताहरुलाई बढुवा गरेका थिए भने केहीलाई केन्द्रीय परिषद् र केन्द्रीय समितिमा मनोनयन गरेका थिए।

तर उक्त अपानिलाई लिएर सम्मानित नेता झलनाथ खनालले गम्भीर आपत्ति र असहमति प्रकट गरेका छन्। उनले अध्यक्ष नेपालले जारी अपानिलाई अत्यन्तै खतारनाक भनेका छन्।

खनालले शुक्रबार पार्टीसम्वद्ध अखिल नेपाल महिला संघको तीज विशेष कार्यक्रमका क्रममा अध्यक्ष नेपालले जारी गरेको अपानिलाई खतारनाक संज्ञा दिँदै आफूसँग कुनै सल्लाह नभएको पनि बताएका छन्।

खनालले शुक्रबार सञ्चारमाध्यमहरुसँगको प्रतिक्रियाका क्रममा अध्यक्ष नेपालले पार्टीमा 'कोत पर्व' नै गराउन खोजेको गम्भीर टिप्पणी गर्दै यसलाई कुनै हालतमा नस्वीकार्ने बताएका छन्।

अध्यक्ष नेपालकै सचिवालय पनि अपानिमा सन्तुष्ट छैन। नेपालका सहयोगी एवम् केन्द्रीय सदस्य मोहन गौतमले अपानिमा उल्लेख भएका मनोनयन र जिम्मेवारी हेरफेरलाई लिएर व्यापक असन्तुष्टि, विरोध, विधि र मापदण्डप्रतिका कतिपय प्रश्नहरु जायज मात्रै नभएर शतप्रतिशत सही रहेको उल्लेख गरेका छन्।

‘अपानिमा अनेक कमजोरी छन्। यसलाई स्वीकार गर्दै सच्याउन सके मात्र नेतृत्व र पार्टी स्थापित हुन्छ। यो रुपान्तरणको टर्निङ प्वाइन्ट पनि हुन सक्छ’, उनले भनेका छन्, ‘कुनै गलत भयो भन्दैमा त्यसबाट टाढा हुने होइन, भित्रै पसेर गल्तीलाई हटाउनु असलहरुबीच सहकार्य गरौँ।’

यो अपानिलाई लिएर सम्मानित नेता झलनाथ खनालको सचिवालयले बिहीबारै आपत्ति जनाइसकेको थियो। खनालका स्वकीय सचिव कृष्ण काफ्लेले अपानि पार्टीमा छलफल नगरी कोठाभित्रबाट आएको कडा टिप्पणी गर्दै देशभरमा देखिएको असन्तुष्टिलाई ख्याल गरेर तत्काल सच्याउनुपर्ने बताएका थिए।

आमकार्यकर्ताको भावनाअनुसार अपानिमा भएका गल्तीलाई सच्याउने काम नभए एमालेभन्दा खराब बाटोमा समाजवादी पुग्ने चेतावनी भट्टराईले बिहीबार दिएका थिए।

झलनाथ खनाल

अवज्ञा
यो अपानिमार्फत नै केन्द्रीय परिषद् सदस्यको जिम्मेवारी पाएका गण्डकी प्रदेशका सांसद् दीपक मनाङे (राजीव गुरुङ) आफू त्यो भूमिका नबस्ने घोषणा गरेका छन्।

केन्द्रीय सदस्य राजु गुरूङले कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै राजीनामा नै दिने घोषणा गरिसकेका छन्।

दैलेख सह-इन्चार्जको भूमिका तोकिएकी सावित्री मल्ल र समाजवादीनिकट युवा संघका महासचिव दीपक जीएमले पार्टीमा सक्रिय भइरहनुको अर्थ सकिएको घोषणा गरेका छन्। उनीहरुले अब पार्टीमा काम नगर्ने जनाएका हुन्।

मल्ललाई बिनामापदण्ड दैलेख इन्चार्जबाट घटुवा गरेर सह-इन्चार्जमा झारिएको छ।

उता केन्द्रीय परिषद सदस्य ओसिम आलमले पनि पार्टीमा रगत पसिना बगाएर सक्रिय भइरहनुको अर्थ नरहेको बताएका छन्। अनेरास्ववियूको वरिष्ठ उपाधय्क्षबाट बिदा भएका आलमलाई केन्द्रीय समितिमा नलगेकोमा समाजवादीको युवापंक्ति आक्रोशित छ।

उता पार्टीको केन्द्रीय पर्यटन विभाग सदस्य कुमार थापाले उक्त जिम्मेवारीबाट बाहिरिने घोषणा शुक्रबार नै गरिसकेका छन्।

अध्यक्ष नेपालले एक वर्षदेखि आफूसँस सम्बन्ध बिग्रिएको अवस्थामा भूगोलमा राम्रो पकड भएकी पार्टी सचिव रामकुमारी झाँक्रीलाई प्रवास विशेषको भूमिका दिएका छन्। उनलाई प्रवास विशेषसँगै युरोप, ल्याटिन अमेरिका र अमेरिकाको इन्चार्ज तोकिएको छ।

जबकि उनी देशभर बलियो सम्पर्क सञ्जाल भएका समाजवादीका नेतामध्ये एकमा पर्छिन्। समाजवादीका एक नेताले पछिल्लो समय असन्तुष्टि पोखेकै आधारमा उनलाई अध्यक्ष नेपालले जनाधार नै नभएको स्थानमा थन्क्याएको दाबी गरे।

समाजवादीका केन्द्रीय सदस्य एवम् पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले पार्टीले विधि र मापदण्ड पालना गर्दै जिम्मेवारी तोक्नुपर्ने बताए।

‘पार्टीले जिम्मेवारी हेरफेर र थपघट गर्दा मापदण्डको ख्याल गर्नु आवश्यक छ’, उनले नेपालखबरसँग भने, ‘पार्टी पंक्तिबाट व्यापक प्रश्न उठिसकेपछि नेतृत्वले केमा कमजोरी भएको हो, सुधारेर अघि बढ्नेतर्फ समयमै सोच्नुपर्छ।’

दलित मुक्ति मोर्चाकी इन्चार्ज कल्याणी खड्का

 कसैलाई पदमाथि पद
रोचक त के छ भने अध्यक्ष नेपालले जारी गरेको अपानिमा केही नेताहरुलाई तेहेरोसम्मको जिम्मेवारी दिइएको छ।

प्रचार विभागका उपप्रमुख दामोदर अर्याललाई सरुवा गरेर साहित्य-संस्कृति विभागको उपप्रमुख बनाइएको छ।

उनको स्थानमा पार्टी केन्द्रीय सदस्यसमेत रहेकी चमिना (राममाया) भट्टराईलाई ल्याइएको छ। जबकि उनलाई अर्को भूमिका पनि अध्यक्ष नेपालले दिएका छन्। प्रचार विभाग उपप्रमुख रहेकी उनी मधेश प्रदेश विशेष सम्पर्क कमिटीकी इन्चार्ज पनि हुन्।

अध्यक्ष नेपालले अर्को रोचक निर्णय भनेको दलित मुक्ति मोर्चामा गरेका छन्। मोर्चामा नयाँ इन्चार्जका रुपमा केन्द्रीय सदस्य कल्याणी खड्कालाई ल्याइएको छ।

तर मोर्चाका पुराना इन्चार्ज गणेश बिकलाई भने घटुवा गरेर सह-इन्चार्ज बनाइएको छ। अर्को अनौठो निर्णय भनेको खड्का समाजवादीकी स्थायी समिति सदस्य खड्का गैरदलित समुदायकी हुन्। अर्थात्, दलित मुक्ति मोर्चाको नेतृत्व गैरदलितले गर्दा सह-नेतृत्व दलित समुदायका विकले गर्नेछन्।

अर्कातिर उनै कल्याणी खड्का राजकीय महिला विभागकी उपप्रमुख पनि छन्। जुन विभागका प्रमुख केन्द्रीय कमिटी उपाध्यक्ष राजेन्द्र पाण्डे छन्।

कल्याणीलाई अर्को जिम्मेवारी पनि अध्यक्ष नेपालले दिएका छन्। उनलाई मधेश प्रदेशको सह-इन्चार्जको पनि भूमिका दिइएको छ। मधेशमा धर्मनाथ शाह इन्चार्ज छन्।

अनेका भूमिका पाउने अर्का केन्द्रीय सदस्य हुन् लक्ष्मण केसी। उनलाई अध्यक्ष नेपालले शिक्षा विभागको प्रमुख बनाएका छन्। उनैलाई फेरि सम्पर्क विशेष प्रदेशको सह-इन्चार्जको जिम्मेवारी पनि दिइएको छ।

केसीको भूमिका त्यतिमात्रै छैन, उनलाई अध्यक्ष नेपालले उपाध्यक्ष प्रमेश हमाल नेतृत्वको आर्थिक समितिको सदस्यमेत बनाइदिएका छन्। केसीको अर्को भूमिमा पनि छ, उनलाई संगठन विभागको तर्फबाट लुम्बिनी प्रदेश कमिटीको अनुगमनको नेतृत्व अध्यक्ष नेपालले सुम्पिएका छन्।

अध्यक्ष नेपालले अर्को त्यस्तै अनौठो निर्णय नेपाल आदिवासी जनताति महासंघ (समाजवादी) मा गरेका छन्।

उनले महासंघका वर्तमान इन्चार्ज पासाङ शेर्पाको घटुवा गरिदिएका थिए। उनलाई महासंघकै सह-इन्चार्ज बनाइदिएर नयाँ इन्चार्जमा पार्टी सचिव नागेन्द्र चौधरीलाई ल्याइएको छ।

पासाङ घटुवामा पर्दा आदिवासीका नयाँ इन्चार्ज बनेका नागेन्द्रलाई भने दोहोरो जिम्मेवारी दिइएको छ। उनलाई स्वास्थ विभागको प्रमुख पनि बनाइएको छ। उनको जिम्मेवारी त्यतिमै सकिँदैन।

उपमहासचिव डा. विजय पौडेल प्रमुख रहेको मोर्चा फाँटमा पनि चौधरीलाई उपप्रमुखको भूमिका दिइएको छ।

दोहोरो जिम्मेवारी सम्हाल्ने मौका पाएका अर्का नेता हुन् रामकुमार भट्टराई। उनलाई अध्यक्ष नेपालले अनेरास्ववियूको इन्चार्ज बनाएका छन्।

अर्कातिर उनै भट्टराईलाई अध्यक्ष नेपालले निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पनि सुम्पिएका छन्।

पार्टी सचिवसहित तेहेरो जिम्मेवारी पाएका नागेन्द्र चौधरी

युवा छुटे
अध्यक्ष नेपालले युवाहरुलाई नेतृत्वमा ल्याउने भने पनि समाजवादी पार्टी निर्माणमा भूगोलमा महत्वपूर्ण भूमिका खेलेका ‌ओसिम आलम, हिरेन्द्र शाही, माधव पन्त र अखिलको उपाध्यक्षबाट केही समयअघि बिदा भएकी केशरी रेग्मी भूमिकाविहीन भएका छन्।

तर अनेरास्ववियूबाट बिदा भएका सुदेश पराजुलीले भने केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्। 

नेतृत्वले आफूनिकटलाई तेहेरो जिम्मेवारी दिइरहँदा सम्भावना भएका युवाहरुलाई छुटाइएको भन्दै सम्मानित नेता खनालले पार्टीमा कोत पर्व जस्तै घटना अपानिमार्फत गराइएको गम्भीर आरोप लगाएका छन्।

समाजवादीका एक नेताले माधव नेपालमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीमा जस्तै इगोको समस्या देखिएको दाबी गरे।

‘माधव नेपालमा पनि आफ्नालाई काखी च्याप्ने र आलोचकलाई ठेगान लगाउने समस्या देखियो’, ती नेताले भने, ‘एमालेबाट विद्रोह गरेको औचित्य यस्तो शैलीले पुष्टि हुँदैन। न त यसरी पार्टी अगाडि बढ्छ। यो अपानि नसच्याउने हो भने बनिनसक्दै पार्टीमा ठूलै विद्रोह हुन सक्छ।’

समाजवादीको अन्तरपार्टी निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .