नेपालीहरुका ठूला चाडवाडको मुखमा सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धविरुद्ध सत्तारुढ दलकै संगठनहरु उत्रिएका छन्।
नेपालीहरुको चुल्होमा महंगी थप्ने गरी एलपी ग्याससहितमा मूल्य बढाएपछि सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दल विरोधमा उत्रिएको हो।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सरकारलाई जनतामाराको संज्ञा दिँदै अदूरदर्शी तथा लोकतन्त्रको मूल मर्म र भावनाविपरीत जनताको आर्थिक स्थितिले धान्नै नसक्ने गरी एलपी ग्यास र पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गर्ने निर्णयको विरोध गरेका हुन्।
उनले दसैं र दीपावली एवम् छठ पर्वको मुखैमा गरिएको यो मूल्य वद्धि निन्दनीय र अक्षम्य रहेको बताएका छन्।
‘जनता आर्थिक मन्दीको चपेटामा छटपटिइरहेको यो विषम परिस्थितिमा गरिएको यो मूल्य वृद्धिले आमनेपाली नागरिकलाई चिन्तित एवं आन्दोलित तुल्याएको छ’, उनले भनेका छन्, ‘जनताको दैनिक जीवनमा बिहान बेलुकाको छाक टार्न पनि कठिन तुल्याएको हुँदा कालो बजारिया, माफिया र भ्रष्टाचारीहरुलाई थप टेवा र मलजल गर्ने यो जनतामारा निर्णय तुरुन्त फिर्ता लिन नेपाल आयल निगम र सरकारलाई तरुण दल जोडदार माग गर्दछ।’
उनले सरकार जस्तो अभिभावकीय भूमिकामा रहनुपर्ने निकायले माफिया, कालोबजारिया र कमिशनखोरको चङ्गुलमा फसेर गरिएको यो मूल्य वृद्धिको निर्णय तुरुन्त फिर्ता नगरे जनताको बाँच्ने अधिकारको रक्षाका लागि देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन्।
‘सरकारले यसबारे समयमै सोचोस् अन्यथा आन्दोलनको आँधीबेहेरी सृजना गर्ने कुनै पनि विषय परिस्थितिको जिम्मेवार सरकार आफैँ हुनुपर्ने चेतावनी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ’, उनले भनेका छन्, ‘हाम्रो आग्रहलाई वेवास्ता गरी मूल्य वृद्धि फिर्ता नगरे देशै भरका सम्पूर्ण तरुण साथीहरु लगायत आमनागरिकहरुलाई आन्दोलनमा उत्रन तयार रहन पनि अपिल गर्दछौँ।’
Shares
प्रतिक्रिया