प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्पबाट पीडितको सहयोगका लागि सांसदबापत आउने एक महिनाको तलब सरकारी कोषलाई दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद पौडेलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु।’
शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएकाप्रति उनले दुःख व्यक्त गरेका छन्।
यस्तो विपत्तिका बेला उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारको कोषमा सांसदका रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेको उनले उल्लेख गरेका छन्।
साथै उनले भूकम्पपीडितका लागि सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन्।
भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सांसद पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
Shares
प्रतिक्रिया