ad ad

राजनीति


जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ : दलित आयोग अध्यक्ष

जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ : दलित आयोग अध्यक्ष

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १३:२५, भक्तपुर

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप लगाएका छन्। 

भक्तपुरको घ्याम्पे डाँडामा म‌ंगलबार सुरु ‘राष्ट्रिय दलित आयोगको रणनीतिक योजना (२०८०/८१–२०८४/८५) को मस्यौदा छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप लगाएका हुन्। 

‘एउटा तप्का जातपात प्रथा जोगाउन चाहन्छ, त्यसको नेतृत्व सिंहदरबारले गरिरहेको छ’, उनले भने, ‘सिंहदरबार दलित शब्द भनेपछि सुन्नै चाहँदैन, त्यहाँका मानिस दलित लेख्नपर्‍यो भने हात कपाउँछन्, लेख्नै चाहँदैनन्।’

राज्यले सरकारी दस्तावेजहरूबाट क्रमशः दलित शब्द हटाउँदै लगेको उनको दाबी छ। 

पहिले दलितका लागि छुट्याइने छात्रवृत्ति अहिले विपन्नको नाममा मात्र दिने गरेको अध्यक्ष विश्वकर्माले बताए। यसले गर्दा छात्रवृत्तिको सुविधाबाट दलित समुदायका बालबालिका वञ्चित हुन थालेको उनको भनाइ छ। 

पछिल्लो समय सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ भन्ने रहेको उनको आरोप छ। 

राज्यले पर्याप्त स्रोत–साधन दिए मात्र दलित आयोगले आफ्नो काम गर्नसक्ने उल्लेख गर्दै उनले यसमा पनि बेवास्ता गरिएको गुनासो गरे। 

‘पाँच जना कर्मचारी नियुक्ति गर्देर चुपो लागेर बस्छ राज्य’, उनले भने, ‘आयोगमा सचिव पद खाली भएको ३ महिना भइसक्यो, अहिलेसम्म सरकारले पठाएको छैन, अरू पद पनि खाली नै छन्।’ 

मंगलबार र बुधबार २ दिन चल्ने कार्यक्रमले दलित आयोगको आगामी ५ वर्षसम्मको व्यवस्थित योजना निर्माण गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए। 

कार्यक्रममा दलित क्षेत्रका विज्ञ, दलित अधिकारकर्मी, दलित समुदायका अधिवक्ता, बुद्धिजीवी, पत्रकार सहभागी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .