ad ad

राजनीति


कांग्रेस नेताले प्रधानमन्त्री बनाउनपर्छ भने भन्दै ओलीले संकेत गरेका ‘स्वतन्त्र सांसद’ को हुन्?

कांग्रेस नेताले प्रधानमन्त्री बनाउनपर्छ भने भन्दै ओलीले संकेत गरेका ‘स्वतन्त्र सांसद’ को हुन्?

नेपालखबर
माघ २१, २०८० आइतबार ८:९, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका केही नेताबीच मनमुटाव भइरहेको खबर सार्वजनिक भइरहेका बेला शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका एक उच्च पदाधिकारीले नै ‘स्वतन्त्र हैसियतका सांसद’लाई प्रधानमन्त्री बनाउनपर्छ भन्न थालेकाे भनी आपत्ति जनाए। यसलाई उनले ‘लोकतन्त्र नै समाप्त पार्ने चलखेल’को संज्ञा दिए। 

‘अहिले देशको अवस्था नराम्रो छ। राजनीतिक हिसाबले गैरजिम्मेवार चलखेल भइरहेको छ। लोकतन्त्रको औचित्य नै समाप्त पार्नेगरी’, ओलीले भने, ‘नेपाली कांग्रेसका एकजना उच्चस्तरीय पदाधिकारीले स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनपर्छ भन्नुभयो। देश कहाँ पुग्यो! देश उकालो जाओस् कि नजाओस् त्यता ध्यान छैन। अर्का एकजना पूर्व महामन्त्रीले पनि त्यसै भन्नुभयो। अहिलेदेखि नै विकृत राजनीति भइरहेको छ। अहिलेको राजनीति कसरी चल्दैछ? के का लागि चल्दैछ?’

तर ओलीले संकेत गरेका ती ‘स्वतन्त्र हैसियतका सांसद’ को हुन्? सम्भवतः कसैले भेउ पाउन सकेनन्। 

खासमा कुरो के हो भने कांग्रेसका केही नेताले गठबन्धनभित्र भएको सहमतिअनुसार अब प्रधानमन्त्री बन्ने पालो गठबन्धनमै रहेको अर्काे दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हो भन्न थालेका छन्। 

सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १० महिनाअघि भएको सहमतिअनुसार माधव नेपालको पालो आउन अझै एक वर्ष बाँकी छ। प्रचण्डलाई दुई वर्ष सरकार चलाउन दिने सहमति भएको भए पनि कांग्रेसका असन्तुष्ट केही नेताले माधव नेपाललाई अहिल्यै प्रधानमन्त्री बनाउनुपर्ने भन्न थालेका हुन्। 

यसै क्रममा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री शशांक कोइरालाले केही दिनअघि सार्वजनिक रूपमै अबको प्रधानमन्त्री माधवकुमार नेपाल हुनुपर्ने बताएका थिए। वास्तवमा शनिबार ओलीले माधव नेपालप्रति नै संकेत गरेका हुन्। माधव नेपाल तिनै नेता हुन्, जसले एमाले फुटाएर एकीकृत समाजवादी गठन गरे। केही समयसम्म त ओलीले एकीकृत समाजवादीलाई राजनीतिक दल नै होइनसमेत भनेका थिए।

त्यसो त माधव नेपाल गत निर्वाचनमा रौतहटबाट निर्वाचित भए पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन सकेन। यसैकारण ओलीले माधव नेपाललाई ‘स्वतन्त्र हैसियतका सांसद’ भनी कटाक्ष गरेका हुन्। राष्ट्रिय दलको मान्यता नपाएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा ‘जनमतको अवमूल्यन’ हुने तर्क ओलीले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .