ad ad

राजनीति


देउवा चुनाव जित्न पैसा बाँड्छन्, डडेल्धुरा र देशका लागि केही गरेनन् : केपी ओली

देउवा चुनाव जित्न पैसा बाँड्छन्, डडेल्धुरा र देशका लागि केही गरेनन् : केपी ओली

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १८:१०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले देशको मात्र होइन डडेलधुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताएका छन्।

एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको सोमबार पर्शुराममा उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउनलायक कुनै काम गर्न नसक्नु भएको बताए। 

‘मैले देउवाजीलाई सोधेको थिएँ पाँच–पाँच पटक प्रधानमन्त्री हुनु भयो देशको लागि के गर्नु भयो भन्दा उहाँले भन्न सक्नु भएन’, ओलीले भने।

आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिमा अनेकौँ काम गरेको ओलीले बताए। 

आफूले गरेका कामका अनेक उदाहरण दिन सक्ने पनि ओलीले बताए। 

आफूले सरकारको नेतृत्व गर्दा देशैभर ठूला परियोजना एकै साथ सुरु गरेको उनले स्मरण गराए।

देउवाले खुलेआम पैसा बाँडेर चुनाव जित्ने गरेको पनि ओलीले बताए। त्यो आफूले लगाएको आरोप नभई  टेलिभिजनमा लाइभ देखिएको ओलीको भनाइ छ। ‘उहाँको जित्ने तरिका त्यही हो’, ओलीले भने। 

आफूले प्रधानमन्त्री हुँदा उत्पादन वृद्धिदर ७ प्रतिशत माथि पुगे पनि सरकारबाट हट्नेबित्तिकै अर्थतन्त्र निरन्तर ओरालो लागेको ओलीले बताए। 

सेती लोकमार्ग, महाकाली कोरिडोर, मदन भण्डारी मध्य पहाडी लोकमार्ग, ३ सय ९६ अस्पताल, सबै पालिकामा औद्योगिक ग्राम लगायत धेरै काम आफूले सुरु गरेको ओलीले बताए।

ओलीले डडेलधुराको विकासको लागि अब एमालेले काम गर्ने बताए। देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणासमेत कार्यान्वयन नगरेको ओलीले बताए। 

डडेलधुराका जनताले राखेको माग एमालेसमक्ष आएको बताउँदै ओलीले पूरा गर्ने बचन दिए।

ओलीले एमालेका नेता र जनप्रतिनिधि जनतालाई बाटो देखाउने काम गर्नुपर्ने बताए। 

कृषिमा कसरी आधुनिकीकरण गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्नेमा उनले जोड दिए।

ओलीले सुदूरपश्चिमका जनता पहिलेदेखि नै निरङ्कुशताविरोधी भएकाले कुनै प्रकारको निरङ्कुशता सुदूरपश्चिमले नस्विकार्ने बताए। 

भीमदत्त र दशरथ चन्द लगायतले जीवन दिएर त्यसलाई प्रमाणित गरेको ओलीले बताए। ओलीले अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .