ad ad

राजनीति


ओलीको आरोप- दुर्गा प्रसाईंले मेरो हत्या गर्न खोजेका थिए (भिडिओ)

ओलीको आरोप- दुर्गा प्रसाईंले मेरो हत्या गर्न खोजेका थिए (भिडिओ)

एमाले अध्यक्ष केपी शर्मा ओली र मेडिकल व्यवसायी दुर्गा प्रसाईं


नेपालखबर
चैत १४, २०८० बुधबार ९:४८, काठमाडौँ

अहिले नेकपा एमालेका कार्यकर्ताले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको एउटा भिडिओ क्लिप्स सेयर गरिरहेका छन्। जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली कुनै बेला आफ्नै पार्टीका केन्द्रीय सदस्य बनेका दुर्गा प्रसाईंले आफ्नो हत्या प्रयास गरेको बताइरहेका छन्। 

अन्तर्वाता दिँदै उनले प्रसाईंको समूहले २०६४ सालमा आफूलाई ढुंगाले हानेर मार्न खोजेको दाबी गरेका छन्। 

‘२०६४ सालमा मेरो बाटो छेकेर हत्या गर्ने प्रयास गरेका थिए तिनीहरूले। तिनै मान्छे अगाडि थिए। तिनै हुन् ढुंगा हान्ने मान्छे। त्यसमा उनीहरू सफल हुन सकेनन्। पछि पनि उनीहरूका त्यस्ता प्रयासहरू रहे, अगाडि पनि त्यस्ता प्रयासहरू भए’, ओलीले भनेका छन्।

अन्तर्वार्ताकार सोध्छन् : यहाँको हत्याको प्रयास भएको छ?

ओली भन्छन् : हत्याको प्रयास त, बाटो छेकेर दिनदहाडै अब यत्रो यत्रो, ठूल्ठूलो ढुंगाले ड्याड्याम्ती हानेपछि मान्छे मर्छ कि मर्दैन? बचाउन खोज्या हो र? त्यस्तो हर्कत त गरेकै हो नि दुर्गा प्रसाईंहरूले। यिनीहरूले मार्नै खोज्या हुन् नि! 

सुन्नुहोस् भिडिओ क्लिप्स-

तर सो भिडिओ क्लिप्समा ओलीले कुन ठाउँमा के सन्दर्भमा आफ्नो हत्या प्रयास भएको थियो भन्ने कुरा खुलाएका छैनन्।   

तर मेडिकल व्यवसायी प्रसाईं तिनै व्यक्ति हुन्, जसलाई ओलीले बताएको उक्त घटनाको १० वर्षभन्दा बढी समयपछि पार्टीको केन्द्रीय सदस्य बनाएका थिए। 

प्रसाईं तिनै पात्र हुन् जसले एमाले अध्यक्ष ओली र हाल प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भक्तपुरस्थित आफ्नो आलिसान महलमा लगेर २०७४ फागुन ६ गते मार्सी चामलको भात खुवाएका थिए। जुन तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल भएको थियो। 

प्रसाईंले प्रचण्ड र ओलीलाई मार्सी चामलको भात खुवाएको तस्बिर

खासमा प्रसाईं झापाको बिर्तामोड नगरपालिका-५ स्थित बीएन्डसी अस्पताललाई  सम्बन्धन दिलाउन ओली, प्रचण्डलगायतका नेतासँग नजिकिएका थिए। यस क्रममा उनी नेपाली कांग्रेस, माओवादी हुँदै एमालेको केन्द्रीय सदस्य पनि बनेका थिए। 

ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गर्ने प्रसाईं २०७८ असोजमा ललितपुरमा भएको एमालेको विधान महाधिवेशनमा एकैचोटि प्रतिनिधि बने। जतिबेला उनले एमालेको पार्टी सदस्यतासमेत लिएका थिएनन्। 

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनपछि एमालेले उनलाई केन्द्रीय सदस्यमा  मनोनयन गरेको थियो। त्यति मात्र होइन, ओलीले उनलाई पार्टीको उद्योग विभागको उपप्रमुखसमेत बनाएका थिए। 

तर कसैले पनि आफ्नो अस्पताललाई सम्बन्धन नदिलाएपछि उनले ओलीको पनि साथ छाड्दै एमाले परित्याग गरेका थिए। अहिले भने प्रसाईं राजावादी बनेका छन्। 

यसैबीच सर्वाेच्च अदालतले केही दिनअघि मात्र प्रसाईंको बीएन्डसी अस्पताललाई सम्बन्ध दिनू भनी आदेश जारी गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .