ad ad

राजनीति


गृहमन्त्री बोलाइएको बैठकमा सांसदहरू सभापति खतिवडामाथि नै खनिएपछि...

गृहमन्त्री बोलाइएको बैठकमा सांसदहरू सभापति खतिवडामाथि नै खनिएपछि...

रुपक चौलागाईं
चैत १४, २०८० बुधबार १८:२९, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको कार्यशैलीमाथि एमालेका सांसदहरूले प्रश्न उठाएका छन्। 

बुधबार सभापति खतिवडाले गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतलाई समितिको बैठकमा बोलाएका थिए। 

बैठकको जानकारी सांसदहरूले मंगलबार साँझ मात्रै पाए। 

सांसदलाई समिति सचिवालयबाट बैठकका एजेन्डाबारे पूर्ण जानकारी गराइएको थिएन। भनिएको थियो– गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल आयोजना गरिएको। 

यही सूचना सुनेर बुधबार बिहान सांसदहरू सिंहदरबार पुगे। 

गृहमन्त्रीसहित बोलाएर छलफल हुने भनेपछि सञ्चारकर्मीको पनि बाक्लै उपस्थिति थियो। 

बैठक सुरु भएपछि बोल्न थालेका सांसदहरूले भने सभापति खतिवडाको कार्यशैली ठिक नभएको भन्दै आपत्ति जनाए। 

बैठककै बीचमा एमाले सांसद पृथ्वीसुब्बा गुुरुङसँग त उनको भनाभन नै चल्यो। 

एमाले सांसद गुुरुङले एउटा ठाउँबाट पसेर अर्को ठाउँबाट निस्केजस्तो भएको आरोप लगाए। कार्यक्षेत्रभन्दा बाहिरका विषयलाई पनि छलफलमा राखिएकोमा उनको आपत्ति थियो। 

‘गृह मन्त्रालयसँगको एजेन्डा हो भने कुन चाहिँ हो त? बैठक राख्ने जुन सभापतिज्यूको तरिका हो, यसमा मेरो गम्भीर आपत्ति छ। यसरी बैठक बोलाउन पाउनुहुन्न तपाईंले,’ बैठकमा गुरुङले भने। 

‘जताततै पसेर जे जे मन लाग्यो, त्यही त्यही भन्न पाउने समिति हो यो? आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रहेर छलफल चलाउने यो समिति होइन,’ उनले थपे।

विशेषगरी बैठकमा सहकारीको विषय पनि प्रवेश गराइएको भन्दै उनले आपत्ति जनाएका थिए।

‘मन लाग्यो भनेर सबै कुरा यहाँ राख्न मिल्दैन। सहकारीसँगको विषय छ भने सहकारी मन्त्रालय अन्तर्गत कुन समिति छ, त्यहाँ छलफल हुनुपर्‍यो,’ उनले भने। 

एमालेकै अर्का सांसद कृष्णगोपाल श्रेष्ठले पनि सभापतिले एजेन्डाबिनै छलफल चलाएको भन्दै आपत्ति जनाए। 

उनले सभापति खतिवडालाई ‘पूर्व हेरेर पश्चिम हान्ने’ काम नगर्न समेत सचेत गराए। 

‘पूर्व हेरेर पश्चिम हान्ने काम नगरौँ। हाम्रो क्षेत्रभित्र रहेर छलफल र निर्णय गर्ने परम्परा अघि बढाऔँ। आगामी दिन आजको जस्तो सहज हुनेवाला छैन,’ उनले भनेका छन्। 

सांसद श्रेष्ठले एजेन्डामाथि छलफल नगरी बैठक बोलाउँदा संसदीय समितिको गरिमामाथि प्रश्न उठ्ने पनि बताए। 

सवालजवाफ
गुरुङभन्दा अगाडि बोलेका कांग्रेस सांसद दिलेन्द्र बडूले सहकारीको विषयसमेत उठाएका थिए।

आफ्नो बोल्ने पालो आएपछि गुरुङले सुरुवातमै सभापतिमाथि प्रश्न उठाउन थाले। 

‘आफ्नो रिस कहाँ छ, त्यहीँ रिस पोख्ने ठाउँ हो र यो? होइन,’ गुरुङले भने। 

गुरुङले बोल्दाबोल्दै बीचमै बोल्न थाले सभापति खतिवडा। ‘गृह मन्त्रालय अन्तर्गतकै छलफल चलाएको छु,’ खतिवडाले भने। 

त्यसपछि पृथ्वीसुब्बाले फेरि जवाफ फर्काए। ‘सहकारी गृह मन्त्रालय अन्तर्गतको होइन।’

त्यसपछि सभापति खतिवडा अलिक साम्य भए।

‘गृह मन्त्रालयसँग सम्बन्धित छ माननीयज्यू! मैले डिसकस गरिनँ,’ उनले भने।

‘अबदेखि हामीले हाम्रो अधिकार क्षेत्रभित्रको मात्रै छलफल चलाउनुपर्छ,’ गुरुङले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .