ad ad

राजनीति


केपी ओलीलाई सुमना श्रेष्ठको प्रश्न- बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन?

केपी ओलीलाई सुमना श्रेष्ठको प्रश्न- बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन?

एमाले अध्यक्ष केपी शर्मा ओली र शिक्षामन्त्री सुमना श्रेष्ठ


नेपालखबर
जेठ २३, २०८१ बुधबार १९:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफूलक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीको अवाञ्छित टिप्पणीको प्रतिवाद गरेकी छन्। 

‘विदेशमा बिहे गरेर नेपाल घुम्न आउँदा मन्त्री भएको’ भनी आफ्नो आलोचना गरेका पूर्वप्रधानमन्त्री ओलीको नाम नलिईकन शिक्षामन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गुनासोसहित आक्रोश पोखेकी हुन्।  

‘महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ। समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मणरेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी-छोरी विदेशबाट फर्कन खोज्दैनन्’, सुमनाले प्रश्न गरेकी छन्, ‘अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान्‌को पहिचानबाहिर नारीको आफ्नो पहिचान हुँदैन? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ?’

यस्तो छ मन्त्री सुमनाको पूरा वक्तव्य-

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ? पक्कै छैन। अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेसिँदै छन् भन्ने सुन्दा नपत्याउने आधार छैन। साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन्।

आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ। विदेशमा सहजताका लागि लामो समयको भिसा, पीआर वा नागरिकताजस्ता कागजात लिएका हुन सक्छन्। विदेशमा प्रेम होला, बिहे होला।

कतिले विदेश पुगेपछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन्। विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै समृद्ध र सहज जीवन जिउने चाहना हुन्छ। स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन्। ब्रेन गेन, एनआरएनको नागरिकताजस्ता कार्यक्रमहरू त्यसकै लागि हुन्।

तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किंदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ। यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभीष्ट राख्दा रहेछन्।

यो "तँ बसेर आएको देश हो र नेपाल पो हो" भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुँदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेसाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्।

महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ। "समाजको नियम" भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी-छोरी विदेशबाट फर्कन खोज्दैनन्।

अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान्‌को पहिचानबाहिर नारीको आफ्नो पहिचान हुँदैन? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ?

अहिलेसम्म पुस्तौँदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन्।

यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो। देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबैप्रति लक्षित हो।

यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरुद्धमा रहन आवश्यक छ । भन्नैपर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो। त्यसले "नेपाल जान्छु र केही गर्छु" भन्नेहरूलाई निरुत्साहित हुनबाट जोगाउँछ। देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिँदैन भन्ने धारणा फेरिन सक्छ। साँच्चै नै ब्रेन गेन हुन पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .