ad ad

राजनीति


सीके राउतलाई सरकारमा आउन प्रधानमन्त्रीको निम्तो, रविमार्फत ओलीको सन्देश- परराष्ट्र लिनूस्

सीके राउतलाई सरकारमा आउन प्रधानमन्त्रीको निम्तो, रविमार्फत ओलीको सन्देश- परराष्ट्र लिनूस्

सागर न्यौपाने
जेठ ३२, २०८१ शुक्रबार १९:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। मंगलबार अध्यक्ष राउतलाई प्रधानमन्त्रीले सरकारमा आउन भनेका हुन्। 

संघीय संसदमा जनमतका ६ सांसद छन्।

जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकार छाडेर समर्थन फिर्ता लिएपछि आरामदायी बहुमत कायम राख्न प्रचण्डलाई जनमतको साथ आवश्यक छ। 

जनमत अध्यक्ष राउतले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको नेपालखबरसँग बताए।

तर, मधेस प्रदेशको बजेट ल्याएपछि मात्र संघीय सरकारमा सहभागिताका विषयमा कुरा गर्ने जवाफ आफूले दिएको राउतको भनाइ छ।

‘दुईतीन दिनअघि प्रधानमन्त्रीज्यूले सरकारमा सहभागी हुन सोध्नुभएको थियो,’ राउतले नेपालखबरसँग भने, ‘बजेटपछाडि मात्रै गरौँ भनेर भन्यौँ।’

प्रधानमन्त्रीको प्रस्तावमा विस्तृत छलफल हुन नपाएको राउतको भनाइ छ।

केही दिनअघि प्रचण्डले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि सरकारमा सहभागी हुन निम्तो गरेका थिए। उन्मुक्तिको ४ सांसद छन्। 

जनमत र उन्मुक्ति दुवै दलले प्रचण्डलाई विश्वासको मत दिएर समर्थन गरेका छन्। 

मधेस प्रदेशले असार १ गते आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउँदैछ। 

राउतले मधेस प्रदेशलाई उच्च प्राथमिकता दिएकोले केन्द्रीय सरकारभन्दा पनि सरकारको नेतृत्व गरेकै ठाउँलाई ध्यान दिइएको दाबी गरे। नीति तथा कार्यक्रम प्रगतिशील ल्याइएको जनमतको भनाइ छ।

‘प्रधानमन्त्रीसँग कुरा हुँदा मन्त्रालयसहित डिटेलमा प्रवेश गरेनौँ,’ राउतले भने।

नेताहरूका अनुसार जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन माओवादी केन्द्र र नेकपा एमालेबाट एक–एक जना मन्त्री फिर्ता बोलाउने तयारी छ।

तर, कसलाई फिर्ता बोलाउने भन्ने निर्णय भइसकेको छैन। यसबारे प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्।

बिहीबार (जेठ ३१) संसद भवनबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री फेर्ने विषय प्रधानमन्त्रीलाई नै सोध्नुपर्ने जवाफ फर्काएका थिए।

एमालेकै कारण मन्त्री हेरफेरको निर्णय रोकिएको हो प्रश्नमा ओलीले कुनै जवाफ दिएनन्।

निकट स्रोतका अनुसार ओलीले अहिले पठाएका मन्त्री हटाउन रुचि देखाएका छैनन्।

तर, जनमत र नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउन जोड दिइरहेका छन्।

रविमार्फत् राउतलाई ओलीको सन्देश 
एमाले अध्यक्ष ओलीले राउतलाई उपप्रधान र परराष्ट्र मन्त्रालय लिन सन्देश पठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेमार्फत् ओलीले त्यस्तो सन्देश पठाएका हुन्।

‘मलाई सिधै भन्नुभएको होइन, तर कुरा आएको साँचो हो,’ राउतले नेपालखबरसँग भने, ‘रविजीहरूबाट तपाईं आफैँ उपप्रधान र परराष्ट्र मन्त्रालय लिएर आउनुपर्छ भन्ने सन्देश आएको हो।’

तर, राउत मन्त्री बन्न इच्छुक छैनन्। 

‘अहिले सरकारमा नजाने भनेर सोचेको छु, हाम्रो पार्टीबाट कसैलाई पठाउनुपर्छ,’ उनले थपे।

परराष्ट्र मन्त्रालय माओवादीको भागमा छ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सो मन्त्रालय चलाइरहेका छन्।

जनमत पार्टीले प्रचण्ड नेतृत्वको सरकारमा लिने मन्त्रालयबारे निर्णय गरिसकेको छैन।

राउतले भने, ‘बजेटपछि केन्द्रीय सरकारमा हाम्रो पार्टीबाट कोही जान्छौँ।’

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले केही मन्त्री हेरफेरको तयारी गरे पनि सहमति जुटिनसकेको बताए। एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र जसपाबाट मन्त्रीको संख्या २३ पुगिसकेको छ। २५ भन्दा बढी मन्त्री बनाउन पाइँदैन।

त्यही भएर सत्ताको नेतृत्व गरेको माओवादी र एमालेबाट एकएक मन्त्री फिर्ता बोलाएर दुई दललाई सरकारमा अटाउने प्रयास भइरहेको छ। तर, एमाले तयार नहुँदा रोकिएको दाहाल बताउँछन्।

‘मन्त्री हेरफेर गर्ने चर्चा चलेको छ तर, निर्णयमा पुगिसकेको छैन,’ दाहालले नेपालखबरसँग भने, ‘नागरिक र जनमतलाई ल्याउनु छ। तर, कसले छोड्ने? एमालेले कि माओवादीले? यसमा टुंगो लागिसकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .