ad ad

राजनीति


सार्वजनिक आह्वान गरेर माग्दै छ रास्वपाले राजदूतको नाम, यी ४ मापदण्ड तय

सार्वजनिक आह्वान गरेर माग्दै छ रास्वपाले राजदूतको नाम, यी ४ मापदण्ड तय

सागर न्यौपाने
असार ९, २०८१ आइतबार २२:२५, काठमाडौँ

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको राजदूतको लागि सार्वजनिक आह्वान गरेर नाम माग्ने भएको छ।
त्यसका लागि उसले मापदण्ड नै बनाइसकेको छ। 

राजदूत सिफारिससम्बन्धी मापदण्ड बनाउन उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल र सोविता गौतम रहेको समिति बनाएको छ। 

समितिले काम पनि सुरु गरिसकेको छ। 

यद्यपि, आइतबार (असार ९) संसद बैठक लामो चलेकोले रास्वपाको राजदूत छनौट समितिको बैठक बस्न सकेन। यही कारण बाँकी राजदूत सिफारिसको निर्णय गर्न समय लाग्ने भएको छ। 

रास्वपाले २ देशको राजदूत पाउने सत्ता गठबन्धनमा सहमति छ। 

‘हामीले राजदूतमा नाम सिफारिस गर्न मापदण्ड बनाएका छौँ, सार्वजनिक रूपमा नाम आह्वान गर्दै छौँ,’ समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘आम नागरिकले पनि सिफारिस गर्न सक्नुहुन्छ। हाम्रै पार्टीलगायत शुभेच्छुकहरूले पनि नाम दिनुहुन्छ।’
समिति अहिलेसम्म व्यक्तिमा नगइसकेको र मापदण्डको मसौदा मात्र तयार पारेको ती सदस्यले नेपालखबरलाई जानकारी दिए। 

यस्ता छन् मापदण्ड
समितिमा रहेका सदस्यहरूले चारवटा मापदण्ड तय गरिएको बताए।

पहिलो, कूटनीतिक–राजनीतिक क्षमता, अनुभव, अर्थ–राजनीति बुझेको, अर्थशास्त्र, सार्वजनिक मुद्रा बुझेको व्यक्ति हुनुपर्नेछ ।
दोस्रो, नेपालबाहिर रहेका नेपालीहरूसँग सम्बन्ध विस्तार गर्न सक्ने, नेपालीलाई परेको समस्या समाधान गर्न सक्ने हुनुपर्नेछ।
तेस्रो, भाषा र कूटनीतिक क्षेत्रमा दख्खल राख्ने।

चौथो, जुन देशको भए पनि त्यहाँको भूगोल, नियम कानुन र राजनीतिक व्यवस्थाबारे जानकार व्यक्तिलाई प्राथमिकता दिइने।

यी चार मापदण्डका साथै व्यक्तिको सार्वजनिक छवि तथा व्यक्तिगत कार्य क्षमतासमेत हेरेर नाम तय गर्ने रास्वपाको तयारी छ। 

रास्वपाले पाउने देश निश्चित भइसकेको छैन।

जेठ २४ मा सरकारले ११ देशका राजदूत फिर्ता बोलाएको थियो।

८ वटा देशमा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले भागबण्डा गरेर सिफारीस गरिसकेका छन्।
एमालेको भागमा ६, जसपा २ र माओवादी १ परेको भनिएको छ। 

एमालेको भागमा भारत, अमेरिका, दक्षिण कोरिया, मलेसिया र डेनमार्क परेको छ।

भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र डेनमार्कका लागि सुम्निमा तुलाधरको नाम सिफारिस भएको छ। यद्यपि, प्याकुरेलले पद अस्वीकार गरिसकेका छन्।

जसपाका तर्फबाट साउदी अरबमा अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि डा. पुष्पराज राजकर्णिकारलाई सिफारिस गरेको छ। 
बेलायतका लागि माओवादी केन्द्रको कोटामा डा विजन पन्त सिफारिसमा परेका छन्। 

बाँकी रहेका देशहरूमा कतार, इजरायल र पोर्चुगल छन्।

प्याकुरेलले अस्वीकार गरिसकेको र अरू केही विवादित पात्रका कारण अझै खाली हुने आकलन छ। 

रास्वपाले नेपालीका प्रमुख श्रम गन्तव्यमध्येको देश माग गरेको छ। नेताहरूका अनुसार कतार र इजरायललाई रास्वपाले उच्च प्राथमिकता दिएको छ।

तर, भागबण्डाका आधारमा तय हुने भएकोले अडान नै लिने पक्षमा रास्वपा नेता छैनन्।

विवादबाट जोगिने उपाय 
एमालेको कोटामा परेका सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न अस्वीकार गरे। 

उनले आइतबार (असार ९ मा) प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाउँदै राजदूत बन्न अस्वीकार गरेका हुन्। 

सिफारिसमा परेका केहीको विषयमा विवाद देखिन थालेको छ।

यही मेसोमा रास्वपाले सार्वजनिक रूपमै मापदण्ड दिएर नाम माग्न लागेको हो।

रास्वपाका सांसद अशोककुमार चौधरी आफूले राजदूतमा नाम सिफारिस गर्दा विवादरहित, क्षमता र कौशल प्रस्तुत गर्न सक्ने योग्य मान्छेलाई पठाउनुपर्ने सुझाव दिएको बताउँछन्। 

शुक्रबार नै नाम तय गर्ने प्रयासमा रहेका रास्वपाका नेताहरू पार्टी स्थापना दिवस र शनिबार विभिन्न कार्यक्रममा व्यस्त भएर रोकिएका थिए।
आइतबारसम्म आइपुग्दा उनीहरू सिफारीसमा परेकाहरूको असन्तुष्टि देखिन थालेको र केही विवादित भएको कारण समय दिएरै नाम छान्ने निष्कर्षमा पुगेका हुन्। 

‘अहिलेसम्म नाममा प्रवेश नै गरेका छैनौँ, हामीलाई राजदूतमा नाम सिफारिस गर्न केही दिन लाग्छ,’ सांसद शिशिर खनालले भने, ‘बाहिर अनेक खालका चर्चा चले पनि पारदर्शी ढंगले हाम्रो पार्टीले नाम पठाउँछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .