ad ad

राजनीति


दबाबमा उपसभामुख, कांग्रेस सांसदले मागे राजीनामा

राना भन्छिन् : यत्रो त्याग गर्नेलाई त यसो गर्छन् भने राजनीतिमा आउने आँट कसले गर्छ?
दबाबमा उपसभामुख, कांग्रेस सांसदले मागे राजीनामा

सागर न्यौपाने
साउन ४, २०८१ शुक्रबार २२:३०, काठमाडौँ

पदीय दुरूपयोग गरी पाँचजना नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको विषयले उपसभामुख इन्दिरा रानामाथि पद छाड्न चौतर्फी दबाब परेको छ। आर्थिक लेनदेन गरेको पुष्टि भइनसके पनि उपसभामुखको लेटरप्याड दुरूपयोग गरेको भन्दै उनको आलोचना भएको छ।

यही विषयले संसदमा प्रवेश पाउने देखिएको छ। संवैधानिक पदमा रहेको व्यक्तिले गम्भीर दुरूपयोग गरेको भन्दै उनीमाथि नैतिकताको प्रश्न उठाएर कांग्रेसका केही सांसदले राजीनामा मागेका छन्।

संसदको राज्य व्यवस्था समितिमा कारबाही माग्दै उजुरी परेको छ।

‘संवैधानिक पदमा बस्ने मानिसले यस्तो काम गरिसकेपछि पदमा बस्न सुहाउँछ त?’ राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले भने, ‘पैसा लिएको/दिएको भनेर आइसक्यो। संसदसँग साइनो नभएका मानिसलाई ल्याएर चिठ्ठी बनाएको छ। यसले उपसभामुखको गरिमा बढायो त? बरु उहाँले संसदबाट राजीनामा दिँदै फाइदा होला नि।’

रानाले २६ फेब्रुअरी २०२३ मा उपभामुखको लेटरप्याडमा  उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको भिसाका लागि अन्तर्वार्ताको मिति सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्।

२०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्र (सीएसडब्ल्यू ६७) को वार्षिक कार्यक्रममा भाग लिन जान लागेको भन्दै उपसभामुख रानाले ती पाँचैजनाको नाम सिफारिस गरेको पत्रमा उल्लेख छ। 

यद्यपि, दूतावासले ती पाँचैजनालाई भिसा भने दिएन। उपसभामुखले दुतावासलाई लेखेको सो पत्र साउन ३ गते सार्वजनिक भएपछि उनी गम्भीर विवादमा तानिएकी हुन्।

उपसभामुख रानाले साउन ४ गते नै प्रेस विज्ञप्ति जारी गर्दै संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको दाबी गरेकी छन्।

करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको भनाइ छ।

‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान, तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ रानाको विज्ञप्तिमा उल्लेख छ, ‘आज निजी जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौँ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लान्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहने जानकारी गराउन चाहन्छु।’

पत्र सार्वजनिक भएपछि सचिवालयले वास्तविकता पत्ता लगाउन खोजी थालेको छ। तर, अमेरिकी दूतावासमा पठाएको पत्रको सक्कल प्रति (ओसी) नभेटिएको संसद् सचिवालयका प्रवक्ता एकराज गिरीले बताए। 

‘सचिवालय पनि के कसो भएको हो भनेर बुझ्ने क्रममै हो। उहाँले चिठ्ठी पठाउनु भयो कि भनेर हेर्दा हामीले ओसी पनि भेट्न सकेका छैनौँ,’ गिरीले भने, ‘सम्बन्धित निजी सचिवालयले के कसो गरेको हो, देखिन सक्ला भोलिका दिनमा। त्यही भएर अहिले नै निष्कर्षमा पुर्‍याइहाल्ने भन्ने हुँदैन। यस्तो विषयवस्तुमा तर्कका आधारमा मात्र कुरा हुँदैन। यस विषयमा सचिवालयको ध्यानाकर्षण भएको छ।’

त्यतिमात्र होइन, कानुनी रूपमा लेटरप्याड प्रयोग गर्ने कार्यविधि नै नभएको संसद सचिवालयका गिरी बताउँछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रतिशोध साँध्न खोजिएको भन्दै आपत्ति जनाएको छ। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले केहीले यसलाई उचालेको टिप्पणी गरे।

‘अहिले राजनीतिक प्रतिशोधका साथ आक्रमण भइरहेको छ, यसले राम्रो गर्दैन,’ परियारले नेपालखबरसँग भने, ‘यो कहाँसम्म जाला भन्ने फाइदाघाटाको हिसाबकिताब होला। यो खालको सम्मानित पदमा रहेका व्यक्तिमाथि आक्रमण गर्नु, त्यो संस्थालाई जबर्जस्ती बहसमा तानिदिनु, यसले प्रकारान्तरमा हाम्रो व्यवस्था र लोकतान्त्रिक अभ्यासलाई राम्रो गर्दैन।’

उनले कांग्रेस–एमाले गठबन्धन बनेपछि विषयलाई उचालिएको बताए।

‘अहिलेको पछिल्लो विकसित राजनीतितिर मोड्न खोजेका हुन्,’ उनले भने, ‘यो लेख्ने अभ्यास रहेछ, अरुले पनि लेख्दा रहेछन्। यसमा हुने केही पनि होइन।’

तर, कांग्रेस सांसद खतिवडा भने अरुलाई नैतिकताको पाठ सिकाउने व्यक्तिले नैतिकता देखाउनुपर्ने बताउँछन्।

यसविषयमा उपसभामुख रानासँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :

तपाईंले पाँचजनालाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको विषयले राजनीति तात्यो त?  
मलाई यस विषयले चोट पुगेको छ। मैले देखेको समाज, मैले सोचेको देश रहेनछ जस्तो लाग्यो। को आफ्नो, को पराइ भन्ने नै चिन्न सकिनँ, कसलाई के भन्ने र? कसले यहाँ भावना बुझ्छ र?

भोलि यो देशमा के अपेक्षा गर्ने? जो मान्छेले आफ्नो जिन्दगी त्याग गरेर लागेको मान्छेलाई यति गर्छ भने अरु को आउँछ र आँट गर्छन् राजनीतिमा आउन?

तपाईंले पैसा चाहिँ लिएको हो कि होइन?
बाहिर के आउँछन् भन्नेतिर म जान्नँ। अरुले के भनेसँग मलाई मतलब छैन।

मलाई मेरो बुबाले दिएको जमिनधरी स्कुललाई दान गरेको छु, आफैँले यस्ता स्कुल त कतिवटा खोलेको छु। मलाई बुझ्दा हुन्छ। इन्दिरा राना भनेको खुला आकाश हो।

त्यसोभए दूतावासलाई नै पत्र लेख्नुपर्ने के आइपर्‍यो? 
म उपसभामुख भएर गएको एक महिना मात्र भएको थियो। लेटरप्याडबाट कोहीले हस्पिटलमा पैसा तिर्न सकेन भनेर सिफारिस गर्न आएका थिए। परियोजना बनाइदिन भनेर सिफारिस गर्न आएका थिए।

मलाई पनि थाहा छ, म विभिन्न देश गएको मान्छे, मैले अहिलेसम्म एउटा पनि मानिस सिफारिस गरेर लिएर पनि गएको छैन। म विदेशीहरूसँग सम्पर्क भएको मान्छे हुँ। 

अमेरिका जान अन्तर्वार्ताको मिति पाउनै एक वर्ष पर्खनुपर्छ नि। त्यही भनेर उनीहरू आएपछि मैले गर्दिएको हो। त्यो भन्दा बढी म केही पनि जान्दिनँ।

अरु के गर्छन्? बाहिर कसरी सोच्छन्? म त सिधा मान्छे हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .