ad ad

राजनीति


ओली सरकारलाई ‘चेक’ गर्ने प्रतिपक्षको रणनीति : सदनमा चार दल एकै ठाउँ, सडकमा समाजवादी मोर्चा

ओली सरकारलाई ‘चेक’ गर्ने प्रतिपक्षको रणनीति : सदनमा चार दल एकै ठाउँ, सडकमा समाजवादी मोर्चा

सागर न्यौपाने
साउन ६, २०८१ आइतबार २२:५५, काठमाडौँ

साउन ६ गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्ष बेन्चमा रहेका चार दलका नेताहरु आक्रामका रुपमा प्रस्तुत भए।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीबाट बोलेका नेताहरुले कांग्रेस–एमाले मिलेर बनेको सरकारविरुद्ध खरोरुपमा प्रस्तुत हुने उद्घोष नै गरे। संसदमा यी दलका ६४ सांसद छन्। 

गिरीबन्धु टि स्टेट, भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरण, बाँसबारी जग्गा प्रकरण, आदिमा अनुसन्धान नरोक्न खबरदारी गर्ने उनीहरुको तयारी छ। भ्रष्टाचार विरुद्धको कदम अघि बढाएपछि कांग्रेस र एमाले मिलेको निष्कर्ष निकालेका चारै दल प्रतिपक्ष बेञ्चलाई सशक्त बनाउन कस्सिएका छन्। 

त्यसको सुरुवात उनीहरुले साउन ६ गतेको संसद् बैठकबाटै गरिसकेका छन्। 

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रचण्ड नेतृत्वको सरकारले खोलेका फाइल के हुन्छन् भन्दै प्रश्न गरे। 

‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, त्यसैगरी नक्कली भुटानी शरणार्थीलगायत गिरीबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली कांग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेन्डाहरु छाड्दैनौँ भन्नुभएको छ। त्यसमा निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ,’ उनले भने, ‘हिजो यही हाउसमा अपोजिसनमा हुँदा गिरीबन्धु टि स्टेट भन्नुभएको थियो। यसमा के हुन्छ?’

रास्वपाका संसदीय दलका नेता समेत रहेका सभापति रवि लामिछानेले कांग्रेस–एमाले काण्डहरुको अनुसन्धान रोक्न मिलेको आरोप लगाए। उनले अहिले सरकार बनाएकै दलले ३४ वर्ष देशमा केही नगरेको बताए।

‘सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको, हाजिरी जमानीमा छुट्नुभएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो, बाँसबारी छालाजुत्ताको विषय चलिरहँदारहँदै गीतको आवाज आयो बालकोटबाट, त्यहाँ शंकाको विषय बन्यो,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थीको विषयमा कोमाथि अनुसन्धान सुरु भयो, मन्त्रिपरिषदमा को गयो, संसद् र देशलाई थाहा छ। हामीले बालमन्दिरको प्रश्न उठायौँ, त्यहाँ पनि पुरस्कार। स्काउटको विषय उठायौँ, फेरि पनि मन्त्रिपरिषद् हे¥यौँ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले गठबन्धन अप्राकृतिक भएको बताए। 

‘मध्यरातको अपारदर्शी सम्झौताबाट बनेको यो अप्राकृतिक गठबन्धनको उद्देश्य र औचित्यलाई कसरी पुष्टि गर्न सकिन्छ? पक्कै पनि यो कुनै राम्रो संकेत देखिँदैन,’ नेपालले भने। 

साउन ६ गते प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि चारै दलको छुट्टाछुट्टै बैठक बसेको थियो। ती बैठकहरुले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्ने निर्णय गरेको थियो।

जब बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागे, त्यसपछि चारै दल आक्रामक रुपमा प्रस्तुत भए। माओवादी उपमहासचिव वर्षमान पुनले अर्थतन्त्रमा निराश छ भनेर गलत तथ्यांक प्रयोग गरेको बताए।

यस्तै रास्वपा सभापति लामिछानेले भने, ‘आवाज ठूलो हुनेले होइन, विचार हुनेले जितेको छ। संविधान जोगाउन उभिन्छौँ।’

संसद् चर्काउन समाजवादी मोर्चा सक्रिय 
एकीकृत समाजवादीका नेता विरोध खतिवडाका अनुसार कम्युनिस्टहरुको समाजवादी मोर्चा र प्रतिपक्षमा रहेका चार दल एजेन्डाका आधारमा एकै ठाउँमा उभिएर संसदमा प्रस्तुत हुने नीति बनेको छ। 

‘संसदभित्र प्रतिपक्ष बेन्चमा बस्नेहरुको एकै र सामूहिक दृष्टिकोण बनाएर प्रस्तुत हुन्छौँ,’ खतिवडाले नेपालखबरसँग भने, ‘समाजवादी मोर्चामा सामेल भएका दलबीच सडकमै गर्ने आगामी कार्यक्रम बनाउँदैछौँ।’ 

सदनमा हुने गतिविधिका लागि मुद्दा अनुसार मिलेर जाने समझदारी बनेको उनले बताए। 

‘अहिलेसम्म एकैठाउँमा उभिने तहमा छौँ। सरकारको गतिविधि, भएका घटनाका आधारमा थप तय हुन्छ,’ खतिवडाले थपे। 

संसदमा रहेका माओवादी, एकीकृत समाजवादी र संसदबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समाजवादी मोर्चामा छ। रास्वपा समाजवादी मोर्चामा छैन।

‘दीर्घकालसम्म जाने सहकार्य हो। सडक आन्दोलनमा जानपर्ने अवस्थाका लागि समेत यो मोर्चा तयार छ,’ खतिवडाले भने, ‘त्यो भिन्नै प्रकृतिको राजनीतिक दृष्टिकोण मिल्नेसँग एकतामा बस्ने कुरा भयो।’

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि बाहिर आएका मुद्दाहरुलाई बलियोसँग उठाउने निर्णय भएको बताए।

‘बलियो प्रतिपक्ष बनेर संसदमा प्रस्तुत हुने निर्णय भएको छ,’ उनले भने, ‘त्यसबाहेक समितिमा रहेर भूमिका राम्रो बनाउने छौँ।’

प्रतिपक्षका मोर्चाका विषयमा सभापतिले छलफल गर्ने र सहकार्य गर्नुपर्ने भए सोही अनुसार गर्ने उनले जानकारी दिए।

तर, रास्वपाले अगाडि बढाएका सुशासनका कदमहरु रोकिए चुप नबस्ने उनको भनाइ छ।

३२ सांसद रहेको माओवादी प्रमुख प्रतिपक्ष दल बनेको छ। आइतबार (साउन ६) गते बसेको सो दलको बैठकले प्रतिपक्षमा बलियो उभिने, त्यसका लागि अध्ययन गर्ने र तयारी गर्ने निर्णय भएको छ।

‘मिल्नेहरुबीच मोर्चा बनाउने हो,’ माओवादीका एक सांसदले नेपालखबरसँग भने, ‘इमान्दार कम्युनिस्टलाई साथ लिएर जाने, नक्कली कम्युनिस्टको भण्डाफोर गरेर जाने भन्ने निर्णय भएको छ।’

संसदमा बलियो प्रस्तुतिका लागि वाक्कला भएका, अध्ययन गर्ने सांसदलाई अघि सारिने ती सांसदले बताए। जसमा माओवादी केन्द्रबाट वर्षमान पुन, माधव सापकोटा, लेखनाथ दाहाल आदि छन्।

यस्तै, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सुमना श्रेष्ठ अघि सार्ने तयारी छ। यस्तै, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, मेटमणि चौधरी लगायतका सांसदको नाम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .