नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने बताएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको संविधानको मर्म र असंवैधानिक कदमप्रति राष्ट्रपति साक्षी बसेको आरोप समेत लगाएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका नेता खाँणले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धि नै संकटमा पार्ने गरी प्रधानमन्त्रीले संसद विघटन गरेको बताए।
‘उहाँले (प्रधानमन्त्री) आम नेपालीको भावनामाथि ठेस पुर्याउनुभयो, जनभावनालाई कुल्चिनुभयो। संसद् विघटनको असंवैधानिक कदम सच्याउनुपर्छ’, उनले भने।
नेता खाँणले यदि संसद पुनस्र्थापना भएन भने ओलीले मुलुकमा निर्वाचन समेत हुन नदिने बताए।
‘मुलुकलाई अस्थिरतातर्फ धकेल्न नै पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो। रक्षक नै भक्षक भएपछि कसरी संविधान जोगाउन सकिन्छ?’, उनले भने।
तर कांग्रेसले संविधानको रक्षा गर्न जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए। उनले गुठी विधेयकविरुद्ध जस्तै एकैपटक नेपाली जनता उठे ओलीले घुँडा टेक्ने बताउँदै जसरी पनि संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिए।
खाँणले कम्युनिस्ट सरकार बनेयता मुलुकमा भ्रष्टाचार, बलात्कार, हत्याहिंसाका घटना बढेको जनाए। उनले भ्रष्टाचार गर्दिन भन्ने ओली आफैँ भ्रष्टाचारी भएको समेत बताए।
नेता खाँणले प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनअधिकार सिध्याउन खोजेमा नेपालबाट कम्युनिस्ट नै सिद्धिने बताए।
‘यदि उपलब्धि नै सिध्याउन खोजियो भने आउने चुनावपछि कम्युनिस्ट सकिन्छ’, उनले भने, ‘उनीहरुका दिनगन्ती सुरु भइसकेका छन्।’
काँग्रेस रुपन्देहीका पूर्वजिल्ला सभापति रामचन्द्र ढकालले भ्रष्ट सरकारले मुलुकको विकासभन्दा संविधान र प्राप्त उपलब्धि नै सखाप पार्ने गरी काम गरिरहेको आरोप लगाए।
ढकालले ओलीले संसद् विघटन गरेर निर्वाचन गर्ने भने पनि त्यो सम्भव नभएको दाबी गरे। उनले प्रधानमन्त्री, माधव नेपाल र प्रचण्डले नै संविधान समाप्त गर्न लागेको बताउँदै कांग्रेसले त्यसको रक्षा गर्ने बताए।
विरोध सभामा बोल्दै जिल्ला सचिव रामकृष्ण खाँण, प्रदेश सभा सदस्य रमा अर्याल, महासमिति सदस्य इस्तियाक अहम्मद खाँन, माधवी शर्मा, क्षेत्र नं. ३ प्रदेश सभा १ का सभापति पुरनप्रसाद श्रेष्ठ, सिद्धार्थनगर सभापति दिलीप धितालले ओलीको असंवैधानिक कदमले मुलुकको लोकतन्त्र र संविधान नै खतरामा परेको आरोप लगाए।
उनीहरुले मुलुकको रक्षा गर्ने र संसद पुनस्र्थापना गर्नमा पहले कदमी गर्ने जिम्मेवारी काँग्रेस काँधमा आएको बताए। कांग्रेसले आज रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रसहित देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको विरुद्ध विरोध सभा गरेको छ।
Shares
प्रतिक्रिया