ओखलढुंगाका नेपाली कांग्रेस नेता मित्रसेन दाहालको शुक्रबार निधन भएको छ।
कांग्रेसका महासमिति सदस्य एवं ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसचिव समेत रहेका दाहालको शुक्रबार विहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मेका दाहाल २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए।
‘स्वर्गीय दाहालले नेपाली कांग्रेसद्वारा संचालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गर्नु भएको थियो,’ नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आउनु भएको थियो।’
उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।
उनको आजै अपरान्ह ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँको आत्माको चिर शान्तिको कामनाका साथ उहाँका शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ।’
प्रतिक्रिया