ad ad

राजनीति


हिरासत पुगेपछि बालकृष्ण र टेकनारायणको पहिलो जम्काभेट : मन्द मुस्कानसहित छोटो संवाद

हिरासत पुगेपछि बालकृष्ण र टेकनारायणको पहिलो जम्काभेट : मन्द मुस्कानसहित छोटो संवाद

उजिर कार्की
बैशाख ३१, २०८० आइतबार २०:१९, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेबीच जम्काभेट भएको छ। आइतबार म्याद थपका लागि उपस्थित गराउने क्रममा उनीहरु जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा भेट भएका हुन्। 

पूर्वगृहसचिव पाण्डेलाई उपस्थित गराउनुपहिले नै खाँणलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइसकिएको थियो। खाँण सुरक्षाकर्मीसहित सरकारी वकिल कार्यालय प्रमुख अच्यूतमणि नेउपानेको कक्षमा थिए। 

खाँणलाई प्रहरी परिसर काठमाडौंमा राखिएको छ। पाण्डे सिंहदरबार वृत्तको हिरासतमा छन्। 

त्यही भएर उनीहरुको भेट भएको थिएन। यसअघि दुवैको म्याद थप भएको थियो। तर छुट्टाछुट्टै मितिमा म्याद थप भएकाले पहिलो पटक उनीहरुको एकसाथ म्याद थप गरिएको हो। यो प्रकरणमा पक्राउ परेका १२ जनालाई आइतबार भने एकसाथ अदालतमा उपस्थित गराइएको थियो। 

काठमाडौंका मुद्दा फाँटका डीएसपी निरञ्जन भट्टसहितका प्रहरी अधिकारीहरु खाँणलाई उपस्थित गराउनुपहिले नै पुगिसकेका थिए। सिंहदरबार वृत्तका एसपीमा सिफारिस (डीएसपी) गोविन्द पुरी पनि सचिव पाण्डेलाई लैजानुअघि नै सरकारी वकिल कार्यालय पुगे। 

सीमित प्रहरी र सरकारी वकिल कार्यालय प्रमुखका माझ खाँणलाई उपस्थित गराइयो। पक्राउ पर्दा लगाएकै कालो क्याप, खैरो कोट र सर्जिकल मास्क लगाएर खाँण उपस्थित भए। 

पूर्वपट्टिको सोफामा बसेका पूर्वगृहमन्त्री खाँणले कार्यालय प्रमुख नेउपानेसँगै त्यहाँ रहेका प्रहरीलाई पनि हात जोडेरै नमस्कार गरे। तर प्रहरीले भने फर्काएनन्। नदेखे झैँ गरे।  

उनले सुरुमा सोधे, ‘लयर राख्न पाइँदैन?’

‘पाइन्छ,’ नेउपानेले जवाफमा भने।

‘मेरो लयर बोलाइदिनु न त,’ खाँणले भने। 

‘होइन, आज बयान होइन हजुर,’ प्रहरी अधिकृतले भने। 

‘अनि, किन ल्याउनु भा’को त यहाँ?’

‘अस्ति थपिएको म्याद सकियो, फेरि म्याद थपका लागि ल्याइएको हो, प्रक्रिया नै यही हो हजुर। हामीले यो प्रक्रिया त गर्नैपर्छ,’ अनुसन्धान अधिकृतले भने।

सरकारी वकिल कार्यालयका प्रमुख नेउपानेले प्रहरी अधिकारीहरुसँग भने, ‘बयान भोलिबाट सुरु हुन्छ, होइन त?’

‘भोलि बिहानैबाट गर्नु पर्ला। सकेसम्म भोलि नै बयान सक्नुपर्छ,’ वकिल र प्रहरीले सल्लाह गरे। 

खाँणको बयानबारे उनीहरुले सल्लाह गर्दैगर्दा भित्र छिरे पाण्डे। पाण्डे ढोकाबाट भित्र छिर्नासाथ अगाडि खाँणलाई देखे। मास्क नलगाइ पुगेका पाण्डे मुस्कुराए। खाँण पूर्वपट्टिको सोफामा थिए। पश्चिमतिरको सोफामा गएर बसे पाण्डे। उनीहरु ठिक आमनेसामने भए। 

केहीबेर कोठा शान्त भयो। खाँणले पानी मागे। मास्क खोले। कार्यालयका सहयोगीले गिलासमा पानी लगिदिए। पाण्डेले पनि पानी पिउँछु भने। 

उनलाई पानी बोतलमै दिए। दुवैले पानी पिए। सरकारी वकिल र प्रहरी प्रक्रियाकै बारेमा छलफल गरिरहेका थिए। 

केही मिनेट शान्त बसेका खाँणले सचिव पाण्डेसँग बात सुरु गरे, ‘सचिवज्यूको बयान सकियो?’ 

‘दुई पटक त भइसक्यो हजुर, अझै कतिपटक हुने हो,’ पाण्डेले जवाफ दिए। 

‘मेरो त सुरु नै भएको छैन,’ खाँणले थपे। 

यो छोटो संवादमा दुवै जना पीडा लुकाउने प्रयासमा देखिन्थे। उनीहरुको निन्याउरो मुहारमा जबरजस्त मुस्कान देखिन्थ्यो। 

टेकनारायण पाण्डे बालकृष्ण खाँणकै रोजाइमा गृहसचिव भएका थिए। आफूलाई गृहमा लैजाने मन्त्री खाँणलाई हिरासतसम्म पुर्याउने माध्यम भने पाण्डे नै बने। 

पाण्डेको बयान र उनको मोबाइलबाट खुलेका प्रमाणका आधारमा खाँण पक्राउ परेका हुन्। पाण्डे वैशाख २० गते बिहान पक्राउ परेका थिए।

उनले सुरुको सोधपुछमा खाँणको संलग्नता नरहेको बताएका थिए। मोबाइल पनि फर्म्याट गरिसकेका थिए। 

तर प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा लगेर म्यासेज रिकभर गर्यो। ती म्यासेजले खाँणको संलग्नता थप प्रष्ट भएको प्रहरीको भनाइ छ। म्यासेज रिकभर भइसकेपछि भने पाण्डेले खाँणको संलग्नता स्वीकार गर्दै बयान दिए। 

पाण्डे पक्राउ परेको ७ दिनपछि (वैशाख २७) खाँण पक्राउ परेका थिए। खाँणसँगै समातिए, उनी गृहमन्त्री हुँदाका निजी सचिव नरेन्द्र केसी। बरु खाँणले पक्राउ परेपछि केसीलाई भेट्न पाएका छैनन्। तर पूर्वगृहसचिव पाण्डेसँग भने आइतबार संवाद नै गरे। 

चार दिनभित्र अनुसन्धान सक्न सरकारी वकिलको निर्देशन
आइतबार प्रहरीले यो मुद्दाका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो। तर सरकारी वकिल कार्यालयले सुरुमा ३ दिन मात्रै म्याद दिने बतायो। 

‘अब तीन दिनभित्रमा अनुसन्धान सकेर फाइल पठाउनुस्। हामीलाई पनि यहाँ समय लाग्छ,’ नेउपानेले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई भने। 

ती प्रहरी अधिकृतले अनुरोध गरे, ‘दुई दिन गइसक्यो। भोलि नै त अनुसन्धान सकिँदैन हजुर। धेरै काम बाँकी नै छ।’

‘त्यसो भए लु चार दिनमा सक्नुस्।’

प्रहरी अधिकृतले पनि यो अवधिमा सक्ने आशय देखाए। अनि, थप चार दिन म्याद दिइयो। अब प्रहरीले मंगलबारसम्ममा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुधबार अनुसन्धानको फाइलसहित उपस्थित हुनु पर्नेछ। 

त्यसपछि अभियोग तयार गर्न ५ दिन लाग्ने सरकारी वकिल कार्यालयले जनाएको छ। यो मुद्दामा प्रहरीले चैत १२ गतेदेखि पक्राउ गर्न थालेको हो। 

४९ दिन बिते पनि अझै केही अभियुक्त फरार हुँदा अनुसन्धान सक्न प्रहरीलाई हम्मेहम्मे परेको हो। पक्राउ परेका १२ जनामध्ये भने अब खाँणको मात्रै बयान बाँकी छ। केहीको पुरक बयान समेत गराउन सक्नेछ। 

अहिलेसम्म १२ जना पक्राउ परेका छन्। पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित केही फरार छन्। 

चैत १२ गते पहिलो पटक केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए। त्यसपछि सागर राई र सन्देश शर्मा पक्राउ परे। 

उनीहरुको बयानका आधारमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, बिचौलियाहरु रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका हुन्।

भुटानी शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै नेपालीबाट लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले ठगी र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ। प्रहरीले संगठित अपराधमा आरोपितलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। 

आगामी जेठ ११ गतेसम्ममा यो मुद्दाको अभियोग अदालतमा दर्ता गरिसक्नुपर्नेछ।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .