डडेल्धुरा प्रदेशसभा १ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन्। उनी १२ हजार १ सय १२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका नेता पठानसिंह बोहरालाई २ हजार ९ सय १८ मतान्तरले हराएका हुन्।
बोहरा यसअघि ०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी बोहरा ९ हजार १ सय ९५ मतमा रोकिए।
यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७ सय ६२ र धनबहादुर बोहराले २ सय २ मत पाए।
२५ हजार ३ सय ६१ मत खसेकामा १ हजार ३ सय ३६ मत बदर भएको थियो। प्रदेश सभा १ मा निर्वाचित खगराज भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ।
उनले ०६४ यताका तीन निर्वाचन डडेल्धुराको प्रतिनिधि सभामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे।
तर सफल हुन सकेनन्। यसपटक पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेर उनी प्रदेशसभाको ढोका खोल्न सफल भएका छन्। र, उनको मुख्यमन्त्रीको बन्ने बाटो खुलेको छ।
Shares
प्रतिक्रिया