रामप्रसाद राई र नारदमुनि थुलुङहरुले २००७ सालमा विद्रोहको झण्डा उठाएको भोजपुरमा ६४ वर्षपछि नेपाली कांग्रेसले जितको स्वाद लिन पाएको छ।
२०१५ यताका कुनै पनि संसदीय चुनावमा जित निकाल्न नसकेको कांग्रेसले नेकपा माओवादी केन्द्रको समेत साथ लिएर पहिलो पटक नतिजा आफ्नो पक्षमा पार्न सकेको हो।
संघतर्फत नेकपा माओवादी केन्द्रका सुदन किराती र प्रदेश 'क' तर्फ नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई सघाएको कांग्रेसले प्रदेश 'ख' मा जित निकाल्यो।
भोजपुर प्रदेशसभा 'ख' मा कांग्रेस जिल्ला सभापति पनि रहेका बान्तवा ७५१ मतान्तरसहित विजयी भएका हुन्। तर कांग्रेसले २०१५ यता संघीय संसदतिर अहिलेसम्म जित निकालेको छैन।
कांग्रेसमा शेखर कोइराला पक्षका विनोदले १३ हजार ५७९ मत ल्याए। त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्की ‘प्रेम’ ले १२ हजार ८२८ मात्रै ल्याउन सके।
गठबन्धनको बलमा यो जितपछि भोजुर कांग्रेसले संसदीय राजनीतिमा शिर उठाउन पाएको छ।
लगातार हार
बहालवाला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भोजपुरमा तीन पटकसम्म हारेका थिए।
त्यहीकारण उनी २०७४ मा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर छाडेर सुनसरी क्षेत्र नम्बर ४ मा बसाइँ सरेका थिए।
भोजपुरमा नेपाली कांग्रेसले २०४८ पछिका कुनै पनि संसदीय निर्वाचन नजितेपछि कार्की सहज जितको खोजी गर्दै सुनसरी झरेका थिए।
२०५१ को मध्यावधि निर्वाचनमा भोजपुरबाट ‘डेब्यु’ गरेका कार्की हारमा ‘ह्याट्रिक’ भएपछि २०७० को दोस्रो संविधानसभामा समानुपातिकतर्फ बसे।
२०५१ मा पहिलोपल्ट हारेका कार्की २०५६ को आम निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि भोजपुर–१ बाट पराजित भए।
२०७० मा दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–४ मा झरे र वाम गठबन्धनका उम्मेदवारलाई हराउँदै उनले चुनाव जिते।
२०१५ को क्लिन स्वीप
२०१५ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्रहरु भोजपुर–१९ (मध्य), भोजपुर–२० (दक्षिण) र भोजपुर–२१ (उत्तरपूर्व) मा विजयी भएर विजयी भएर कांग्रेसले क्लिन स्वीप गरेको थियो।
पहिलो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट भोजपुर–१९ (मध्य) बाट खड्गबहादुर कार्की, भोजपुर–२० (दक्षिण) बाट भूदेव राई, भोजपुर–२१ (उत्तरपूर्व) बाट देवानसिंह राई विजयी भएका थिए।
उक्त निर्वाचनमा भोजपुर–१९ (मध्य) बाट उठेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हर्षबहादुर श्रेष्ठ १ हजार १९९ मतसहित चौथो र भोजपुर–२१ (उत्तरपूर्व) बाट उठेका महेन्द्रबहादुर राई १ हजार २६४ मतसहित तेस्रो भएका थिए।
भोजपुर–२० (दक्षिण) मा भने दोस्रो भएका गोरखा परिषदका सुवेदार दुर्गाबहादुरपछि ३ जना स्वतन्त्रले बढी मत ल्याएका थिए।
पहिलो संसदीय चुनावमा तीनवटै सिट जितेको कांग्रेसले भोजपुरमा विगत ६४ वर्षदेखि विजयको हर्षोल्लासमा पार्टीको चारतारे झण्डा फहराउने अवसर पहिलो पटक पाएको हो। माओवादी र समाजवादीको बलमा प्रदेशतिर बान्तावाले जितेपछि कांग्रेसले राहतको श्वास फेरेको छ।
प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो आम निर्वाचन (२०४८) मा भोजपुरमा तीनवटा निर्वाचन क्षेत्र थिए। उक्त निर्वाचनमा कांग्रेसले १ बाट लक्ष्मी राई, २ बाट हेमराज कोइराला र ३ बाट कुमार राईलाई उम्मेदवारका रुपमा अघि सारेको थियो।
तीनवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए। भोजपुर–१ म कांग्रेस नेतृ राई एमाले नेता नरेन्द्र बस्नेतसँग, २ मा कांग्रेसका कोइराला एमालेका हेमराज राईसँग र ३ मा कांग्रेसका राई एमालेका धनहर्क राईसँग पराजित भएका थिए।
२०५१ को मध्यावधि निर्वाचनमा भोजपुर–१ बट एमाले उम्मेदवार हेमराज राई विजयी भएका थिए। यो निर्वाचन नै सञ्चारमन्त्री कार्कीको ‘डेब्यु’ थियो। उनी राईसँग मात्र २६ मतले पराजित हुन पुगेका थिए। राईले १५ हजार ९७४ र कार्कीले १५ हजार ९४८ मत प्राप्त गरेका थिए।
Shares
प्रतिक्रिया