प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका पाँच दलमध्ये अहिलेसम्म सबैभन्दा बढी समानुपातिक मत नेपाली कांग्रेसले पाएको छ।
निर्वाचन आयोगको ताजा तथ्यांकअनुसार कांग्रेस १० लाख ३७ हजार ४ सय ७३ समानुपातिक मत ल्याएर सत्ता गठबन्धनका दलमध्ये सबैभन्दा अगाडि छ। सबै दलमध्ये भने कांग्रेस दोस्रो स्थानमा छ। एमाले १० लाख ८९ हजार ७ सय ८४ मतका साथ समानुपातिकतर्फ पहिलो स्थानमा छ।
सत्ता गठबन्धनभित्रका दलमध्ये दोस्रोमा नेकपा माओवादी केन्द्र देखिएको छ। उसले अहिलेसम्म ४ लाख ७९ हजार ४ सय ९२ मत ल्याएको छ। सबै दलमा भने माओवादी चौथो स्थानमा छ। नेपाल समाजवादी पार्टीले पनि माओवादी केन्द्रकै चुनाव चिह्न गोलाकारभित्र हँसिया–हथौडाबाट प्रतिस्पर्धा गरेकाले उसको छुट्टै समानुपातिक मत छैन।
नेकपा एकीकृत समाजवादी गठबन्धनका दलमध्ये समानुपातिक मतमा तेस्रो स्थानमा छ। उसले अहिलेसम्म ७७ हजार ९८ मत ल्याएको छ। सबै दलमा भने ऊ आठौं स्थानमा छ।
सत्ता गठबन्धनमा समानुपातिक मतमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चाैथाे स्थानमा देखिएको छ। निर्वाचन आयोगको ताजा तथ्यांकअनुसार उसले अहिलेसम्म ५६ हजार ८ मत पाएको छ। सबै दलमा भने ऊ एघारौँ स्थानमा छ।
सत्ता गठबन्धनका दलमध्ये समानुपातिकमा सबैभन्दा पुछारमा राष्ट्रिय जनमोर्चा छ। उसले अहिलेसम्म २९ हजार ९ सय ४१ समानुपातिक मत पाएको छ। सबै दलमा भने जनमोर्चा १३औं स्थानमा छ।
चुनावमा सहभागी सबै दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५ लाख १५ हजार ७ सय २८ मत ल्याएर तेस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया