गुल्मी १ मा कडा प्रतिस्पर्धाका बीच चन्द्र भण्डारीले जित हासिल गरेका छन्। कांग्रेसका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।
गुल्मी १ मा भण्डारी र ज्ञवालीले पालैपालो जित्दै आएका छन्। २०६४ मा ज्ञवाली, २०७० मा भण्डारी, २०७४ मा ज्ञवाली र २०७९ मा फेरि भण्डारी विजयी भएका हुन्।
२०७४ मा ज्ञवालीले जितेर परराष्ट्रमन्त्री भएका थिए। तर, २०७९ को निर्वाचनमा आफ्नो पक्षमा पार्न सकेनन्। गुल्मी १ मा भण्डारी र ज्ञवाली अन्य क्षेत्रको तुलनामा स्वच्छ प्रतिस्पर्धा गर्दै आएका छन्।
यो पटक पराजित भएपछि मतगणनास्थलमै ज्ञवालीले भण्डारीलाई बधाई दिए। ‘ल योसहित दुई दुई पटक बराबरी भयो’, भण्डारीलाई खादा लगाइदिँदै ज्ञवालीले भने, ‘गुल्मी १ जनताको प्रतिनिधि हुनु भएकोमा बधाई।’
लामो समय एमालेको पकड रहेको क्षेत्र २०७० मा भण्डारीले नै भत्काएका थिए। गुल्मीमा भण्डारी जनतामा भिजेका नेताको परिचय बनाएका छन्।
गुल्मी १ मा वडाअध्यक्षहरुले पाएको मतमा एमालेअघि भए पनि सत्तागठबन्धको मत जोड्दा भण्डारीलाई जित्न सहज भयो।
स्थानीय निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतका आधारमा एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, जनमोर्चाले १६०० र एकीकृत समाजवादीको ४९६ थियो।
गुल्मीको छत्रकोटमा जन्मिएका भण्डारी २०३३ साल देखी नै कांग्रेसका गतिविधीमा सरिक भए। २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए।
बीपी कोइरालाबाट प्रभावित भई राजनीतिमा प्रवेश गरेका भण्डारी २०३६ सालको जनआन्दोलनमा सक्रिय हुँदा जेल चलान भएका थिए।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा नेविसंघको सभापति, २०४४ सलामा नेविसंघको केन्द्रीय सदस्य हुँदै २०४८ मा महामन्त्री बनेका थिए। भण्डारी २०६७ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
तर, गत वर्ष भएको नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा उनी उपसभापति पदमा पराजित भएका थिए।
Shares
प्रतिक्रिया