ad ad

राजनीति


चुनाव जितेपछि नेम्वाङले हेरे विश्वकप, भन्छन् : मेस्सीको गोलभन्दा असिस्ट राम्रो थियो (भिडिओसहित)

चुनाव जितेपछि नेम्वाङले हेरे विश्वकप, भन्छन् : मेस्सीको गोलभन्दा असिस्ट राम्रो थियो (भिडिओसहित)

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०७९ आइतबार १६:१, काठमाडौँ

शनिबार राति इलाम क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम सार्वजनिक भयो।

विवादबीच सार्वजनिक भएको मतपरिणामअनुसार नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतले पराजित गरे।

राति अबेर मतपरिणाम आफ्नो पक्षमा आएपछि एमाले उपाध्यक्ष नेम्वाङले ढुक्कको श्वास फेरे।

तर, उनी आफूले जितेकै राति कतारमा जारी विश्वकपमा आफ्ना प्रिय खेलाडी लियोनेल मेस्सीको जितको कामना गरिरहेका थिए।

चुनावी दौडधूपबीच थाकेर लखतरान भएका नेम्वाङले नेपाली समयअनुसार शनिबार मध्यराति १२ बजेर ४५ मिनेटमा कतार भएको अर्जेन्टिना र मेक्सिकोबीचको खेल हेर्न छुटाएनन्। 

शनिबार राति करिब २ घण्टासम्म फुटबल हेरेर बसेका उनले आइतवार इलाम बजारमा एमालेको विजय जुलुसलाई सम्बोधन गरे।

आफ्नो करिब आधा घण्टाको भाषणमा उनले प्रतिस्पर्धी दलका नेतालाई धन्यवाद दिए। कसैलाई गालीगलौज नगरी बोलेका उनले भाषणका क्रममा आफ्ना प्रिय फुटबलर लियोनेल मेसीको प्रशंसा गर्न भुलेनन्। 

विश्वकप र मेसीबारे करि २ मिनेट चर्चा गरेका उनले मध्यराति फुटबल हेरेर राम्ररी सुत्न नसकेको पनि सुनाए।

'१२ बजेर ४५ मिनेटमा अर्जेन्टिनाको फुटबल हेरेँ। हिजो त मलाई थामिनसक्नु भयो', उनले भने, 'तपाईंहरुले हामीलाई आशिर्वाद दिनु भयो, एकातिर त्यो खुसी छँदैथियो। अर्कातिर मेस्सीको जितका लागि कुरेर बसेका थियौँ।'

उनले पहिलो हाफ कष्टपूर्ण भए पनि दोस्रो हाफमा आफूले चाहेको नतिजा निस्किएको पनि सुनाए। 

मेस्सी र अर्जेन्टिनाको जितको साक्षी बसेका उनले आफूलाई मेस्सीको गोलभन्दा असिस्ट राम्रो लागेको सुनाए।

'मेस्सीले स्वाट्टै गोल हानेपछि कम्ता खुसी लागेन। पहिलो गोल हानेपछि फेरि अर्को गोल हान्छन् भनेर कुरेको थिएँ', उनले भने, 'तर उनले गोल हानेभन्दा राम्रो एसिस्ट गरे। इन्जो फर्नान्डेजको पनि गोल कम्ता राम्रो थिएन।'

उनले अर्जेन्टिनाको खेलका कारण आफू राम्रोसँग सुत्न नपाएको सुनाए। 'हिजो राति म राम्रोसँग सुत्न सकेको छैन', उनले अर्जेन्टिनाको पक्ष लिएर मेस्सीको प्रशंसा गर्द भने, 'हिजोको फुटबलमा भएको जितका लागि पनि बधाई!'

उनले यतिभन्दा एमाले कार्यकर्ताले पनि ताली बजाए। आधा घण्टा लामो समय भाषण दिँदा उनले आफू विवादमा जान नचाहने भन्दै सन्तुलित रुपमा बोले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .