ad ad

राजनीति


शंकर पोखरेलको संसदीय यात्रा : कहिले घाम, कहिले छाया, यसपटक के होला?

गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग हुनेछ तीव्र प्रतिस्पर्धा
शंकर पोखरेलको संसदीय यात्रा : कहिले घाम, कहिले छाया, यसपटक के होला?

मतदातामाझ एमाले महासचिव शंकर पोखरेल। तस्बिर : सुवास शर्मा


सुदीप भण्डारी
कात्तिक १८, २०७९ शुक्रबार ८:५३, बुटवल

शंकर पोखरेल विद्यार्थी राजनीतिबाट नेकपा एमालेको मूल धारको राजनीतिमा आएका हुन्। भारतमा अध्ययनका क्रममा २०४० सालमा उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको पहिलो अध्यक्ष बनेका थिए।

२०४५ सालमा काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु सभापति बने। २०४७ सालमा पोखरेल एमालेको भ्रातृ संस्था अनेरास्ववियुको अध्यक्ष भए। 

२०५१ सालमा पोखरेलको संसदीय यात्रा सुरु भयो। तत्कालीन दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य चुनाव लड्न टिकट पाए। ३२ वर्षको उमेरमा चुनाव जितेर सांसद बने।

त्यसबेला दाङका ४ वटा क्षेत्रमध्ये शंकर मात्र विजयी भएका थिए। त्यसयताका २८ वर्षमा शंकर पोखरेलको संसदीय दौड कहिले घाम र कहिले छायाजस्तै बनेको छ। 

२०५६ सालको संसदीय चुनावमा फेरि सोही क्षेत्रबाट उम्मेदवार बने तर विजयी हुन सकेनन्। २०६४ सालमा भने समानुपातिक तर्फबाट सभासद बनेका थिए।

सभासद बनेपछि माधव नेपाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भए। यो संसदीय कार्यकालमा शंकरले पार्टी राजनीतिमा पनि फड्को मार्ने अवसर पाए। २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनबाट पोखरेल एमालेको केन्द्रीय सचिव बने। 

२०७० सालमा भएको अर्को संविधान सभाको चुनावमा दाङबाटै प्रत्यक्ष उम्मेदवार बने।  तर विजयी हुन सकेनन्। संसदमा पुग्न नपाएसँगै उनको पार्टी राजनीति पनि अघि बढ्न सकेन।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्ष हुँदा पोखरेल उपमहासचिव पदमा हारे। त्यसबेला विष्णु पौडेल र घनश्याम भुसाल उपमहासचिव बनेका थिए। 

२०७४ सालपछिको संसदीय कार्यकाल भने शंकर पोखरेललाई निकै फाप्यो। ५ वर्षअघि उनी प्रतिनिधि सभामै चुनाव लड्न चाहेका थिए। तर वाम गठबन्धनका कारण आफ्नो क्षेत्र उनले माओवादीका कृष्णबहादुर महरालाई छाड्नुपर्यो।

मुख्यमन्त्री बन्ने सर्तमा पोखरेल प्रदेश सभामा चुनाव लडे। चुनाव जितेर लुम्बिनी प्रदेशकै पहिलो मुख्यमन्त्री पनि बने र चर्चामा आए। साढे ३ वर्ष लुम्बिनी सरकारको नेतृत्व गरे। 

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा शंकरले खुलेर साथ दिए। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना भयो।

त्यसको केही समयपछि नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र ब्यँुतिए। केपी ओलीले फेरि संसद् विघटन गरे। सर्वोच्च अदालतले दोस्रोपटक प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै ओली सरकार ढल्यो। 

कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। केन्द्रमा ओली सरकार ढलेको केही दिनमा लुम्बिनी प्रदेशमा शंकर पनि सरकारको नेतृत्वबाट बाहिरिनुपर्यो। २०७८ साउनमा ५ दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ  सरकार बन्यो। 

साढे ३ वर्ष लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्दा पोखरेल प्रदेशमा मात्र नभई केन्द्रको राजनीतिमा पनि हावी भए। प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा लामो समयसम्म किचलो भयो। केन्द्रमा शीर्ष नेताहरूलाई मनाएर प्रदेश सभामा ह्विप लगाएर स्थायी राजधानी दाङको देउखुरीलाई बनाउन सफल भए। 

उता केपी ओलीका हरेक कदममा पोखरेलले साथ दिइरहे। शंकरकै सल्लाहका आधारमा ओलीले आफ्नो निर्णय गर्ने गर्छन्। चितवनमा भएको एमालेको दसौँ महाधिवेशनबाट उनी शक्तिशाली महासचिव बने। 

यो पटक शंकर पोखरेल प्रदेशमा चुनाव नलडी दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाकै उम्मेदवार बनेका छन्। निकै लामो तयारीपछि उनी चुनावी अभियानमा होमिएका छन्। यतिबेला पोखरेल निरन्तरजसो आफ्नो क्षेत्रको चुनावी कार्यक्रममा खटिरहेका छन्। 

शंकर पोखरेलको प्रतिस्पर्धीका रूपमा गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा उम्मेदवार छिन्। अघिल्लोपटक वाम गठबन्धनका तर्फबाट जितेकाले यो क्षेत्रमा कृष्णबहादुर महरा उम्मेदवार बन्ने चर्चा थियो तर उनी नबनेपछि शर्मालाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो।

स्थानीय चुनावको परिणामले देखाएको आशा 
विगतका चुनावी नतिजालाई आधार मान्दा नेकपा एमाले समग्र दाङ जिल्लामा खासै बलियो होइन। २०४८ र २०५१ सालमा एउटा क्षेत्रमा मात्र एमालेले जितेको थियो। २०५६ सालमा जिल्लाका चारवटै क्षेत्रमा कांग्रेस विजयी भएको थियो।

संविधान सभाको चुनावका लागि क्षेत्र थपिएर जिल्लामा ५ वटा पुगेको थियो। २०६४ सालमा पाँचवटै क्षेत्रमा माओवादीले जित्यो। २०७० सालको संविधान सभा चुनावमा कांग्रेसले सबै क्षेत्रका परिणाम आफ्ना पक्षमा  ल्यायो। 

वाम गठबन्धनका कारण २०७४ सालको चुनावमा भने दाङमा एमालेले राम्रो उपस्थिति जनायो। अहिले शंकर पाखेरेल उम्मेदवार बनेको २ नम्बर क्षेत्रमा ५ वर्षअघि माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका थिए। १ र ३ नम्बर क्षेत्रमा एमाले विजयी भएको थियो। 

गत स्थानीय चुनावमा दाङका १ र ३ नम्बर क्षेत्रमा कांग्रेस नै अगाडि देखिन्छ। तर पोखरेल उठेको २ नम्बर क्षेत्रमा एमाले बलियो छ। 

दाङका दुईवटा उपमहानगर घोराही र तुलसीपुरमा गत वैशाखमा भएको स्थानीय चुनावमा एमाले मेयर, उपमेयर पदसहित धेरैजसो वडामा विजयी भएको थियो। घोराहीका अधिकांश  भाग र तुलसीपुरका केही वडा २ नम्बर क्षेत्रमा पर्छ। 

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूको मतलाई आधार मान्दा दाङ २ मा एमालेको ३३ हजार ५९३ मत छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २३ हजार ३०१, माओवादी केन्द्रको १० हजार ४७८ मत र एकीकृत समाजवादीको २ हजार ९४२ मत आएका छन्।

त्यस्तै राप्रपाका वडाध्यक्षको ३ हजार २६४ मत छ। दाङमा एमाले र राप्रपाबीच भने तालमेल छैन। राप्रपाबाट भोलानाथ योगी प्रतिनिधि सभाको उम्मेदवार छन्। 

एकल रूपमा दाङ क्षेत्र नम्बर २ मा एमाले बलियो छ। तर कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा गठबन्धनका पक्षमा केही मत बढी देखिन्छ। यसले एमालेका शंकर पोखरेल र गठबन्धनकी उम्मेदवार रेखा शर्माबीच तीव्र प्रतिस्पर्धा हुने ठानिएको छ। 

लामो चुनावी तयारी, एमालेको महासचिवजस्तो शक्तिशाली पद, प्रदेशको मुख्यमन्त्री हुँदा जिल्लामा गरेको विकास निर्माणका काम, प्रदेशको स्थायी राजधानी ल्याएको जस लगायतका कारण दाङ २ मा पोखरेलले केही मत तान्न सक्छन्। 

तर गठबन्धन दलको मत दायाँबायाँ नगएमा शंकर पोखरेलको संसदीय यात्रा यसपटक पनि घाम-छायाको निरन्तरता बन्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .