नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता खगराज भट्टले आफूहरुले सत्ताभित्र प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णयको जानकारी गराउँदै प्रदेश सभा बैठकमा उनले यस्तो बताएका हुन्।
माओवादी केन्द्रले शाहलाई विश्वासको मत दिने निर्णय गरेसँगै सत्ता पक्षको बेञ्चमा बसेको छ।
राजनीतिक दलहरु प्रतिस्पर्धी नभएर मिलेर अगाडि बढ्नु पर्ने बताउँदै भट्टले प्रतिपक्षी दलले पनि सत्ताधारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
‘दलहरु प्रतिस्पर्धी भएर होइन, परिपुरक भएर अगाडि बढ्नु पर्छ भन्ने बुझाइले आज हामी सरकारको पक्षमा उभिएका छौँ,’ उनले भने, ‘त्यसैले हामी सत्ता पक्षभित्र पनि प्रतिपक्ष हुने छौँ, प्रतिपक्षले पनि सत्ताधारी भूमिका खेल्ने गरी यो प्रदेश सभामा प्रस्तुत हुनेछन्।’
आफ्नै नेतृत्वको सरकारलाई खबरदारी गर्ने दायित्व सत्तापक्षको बढि हुने उनले बताए।
‘आफ्नै सरकारले राम्रो काम गरेन भने त्यसलाई खबरदारी गर्ने काम प्रतिपक्षी भन्दा पनि सत्तापक्षको बढी हो,’ उनले भने, ‘सरकारले राम्रो काम गर्यो भने त्यसको रक्षा गर्ने दायित्व प्रतिपक्षको पनि हो।’
नेकपा एमालेबाट संविधान र व्यवस्थामाथि प्रश्न उठेपछि नयाँ गठबन्धन बनेको उनले बताए।
Shares
प्रतिक्रिया