ad ad

समाज


झ्याल फोरेर आफू निस्किए, बालकलाई पनि बचाए

झ्याल फोरेर आफू निस्किए, बालकलाई पनि बचाए

सुदीप भण्डारी
जेठ २२, २०७९ आइतबार १६:४१, बुटवल

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम भइरहेको छ। त्यसैले थोरै भएपनि अप्ठ्यारो छल्न पूर्वबाट भैरहवा आउने गाडीहरु नवलपरासीको भूमहीबाट दक्षिण परासी भएर त्यहाँबाट हुलाकी सडक हुँदै आउने गर्छन्।

शनिवार साँझ जनकपुरबाट छुटेको लु २ ख ३८४२ नम्बरको बस भूमहीबाट परासी हुँदै भैरहवा आउँदै थियो। आइतबार विहान साढे ४ बजे रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सिमा क्षेत्रमा पर्ने रोहिणी खोलामा दुर्घटना भयो। पुलबाट खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो। २५ जना घाइतेको भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। 

बसमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१३ का १८ वर्षीया रोहन चौधरी र धनुषाको हंसपुर नगरपालिका–३ का १८ वर्षीया मुफिद मन्सुरी पनि सवार थिए। बस खोलामा खसेपछि उनीहरु ब्यूँझिए र बसको सिसा फोडेर बाहिर निस्किए। 

‘हामी दुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं’ दुर्घटनामा घाइते भएर भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘बाहिर निस्केपछि शरीरले काम नगरेजस्तो भयो, केहीबेरमा प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो।’ 

उनको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ। 

केही महिनाअघि रोहिणी पुलमै भारतीय नम्बरको लरी दुर्घटना भएको थियो। पुल भन्दा अगाडिको ‘सी’ आकारको घुम्तीमा घुम्न नसकेर स्टेरिङ फेल हुँदा त्यसबेला लरी दुर्घटना भएको थियो। अहिलेको दुर्घटनाको प्रकृति फरक भएको प्रहरीको भनाइ छ।

आइतबार विहान दुर्घटना भएको बस पुलको बिच भागबाट डिभाइडर भाँचेर खसेको छ। त्यसैले सडकको कारण भन्दा अन्य कारणले दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका  प्रमुख प्रहरी निरिक्षक केशव केसीले बताए। 

‘सडक घुमाउरो भएपनि पुल सिधा छ। बिच भागबाट गाडी तल खसेको हुँदा चालकलाई अरु केही चिजले डिस्टर्ब गरेको पनि हुन सक्छ’ उनले भने, ‘अथवा लामो दूरीमा आएको बस भएकाले चालक निदाउनुभयो कि भन्ने हाम्रो अनुमान हो। अर्को कुरा गाडी अलि बढि स्पिड भएर गति नियन्त्रण गर्न नसक्दा पनि दुर्घटना हुन सक्छ।’ 

अहिले चालक घाइते अवस्थामा रहेको र चालकलाई सुधार भएपछि सोधेर घटनाको थप अध्ययन गर्ने प्रहरी निरिक्षक केसीले बताए। 

विहान पौने ५ बजे गाडी दुर्घटना भएको खबर थाह पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा स्थानीयबासी पनि जम्मा भएका थिए। पल्टिएर उत्तानो अवस्थामा रहेको गाडीको सिसा फोरेर यात्रुहरुलाई निकालेर अस्पताल पठाइएको थियो।

पछि उत्तानो परेको बसलाई जेसिबीको सहायताले सिधा बनाएर च्यापिएका यात्रुहरु खोजिएको थियो। 

बसमा ३४ जना यात्रु थिए। त्यस मध्ये ९ जनाको मृत्यु भएको छ। मृत्यु भएका ६ जनाको सनाखत भएको छ।

रुपन्देही ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल,  तिलोत्तमा ८ कि ३७ वर्षीय तुलसी बस्याल, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ।

अन्दाजी ३० वर्षीय दुई जना र ४० वर्षीय जस्तो देखिने १ जना गरि ३ पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

पश्चिम नेपाल बस व्यवसायी प्रालिको उक्त गाडी जाँदा रिजर्भमा गएको थियो। फर्कंदा भने नम्बरमै आएको थियो। जनकपुरबाट २० जनाको चलानी काटिएको छ। अरु यात्रु बिच बाटोबाट चढेका हुन्। 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक सदस्य जिवन बन्जाडेले घाइतेहरुको उपचारमा कमि कमजोरी नहोस् भनेर अस्पतालमा कर्मचारी खटाएको बताए। ‘घटनाको यथार्थ विवरणको लागि प्रहरी प्रशासनलाई सहयोग गर्न तयार छौँ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .