ad ad

समाज


अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको इन्फानाइट स्टुडियोज्‌को छात्रवृत्ति

अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको इन्फानाइट स्टुडियोज्‌को छात्रवृत्ति

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १३:५०, काठमाडौँ

सिंगापुरको इन्फानाइट स्टुडियोज्‌ले अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ। स्टुडियोज्‌का प्रतिनिधि सुयी मोले बिहीबार अस्कर कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ विद्यार्थीलाई रकम हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा ५ विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड प्राप्त गरे। 

इन्फानाइट स्टुडियोज्‌ले २०७३ सालदेखि अस्कर कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइरहेको छ। प्रतिनिधिका रुपमा नेपाल आएकी मोले कलेजले विद्यार्थीको वृत्ति विकासमा ठूलो योगदान पुर्‍याउने बताइन्। 

‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले गर्दा फिल्म कलेज सिनेमा उद्योगका आधार हुन्। यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका हौँ। आगामी दिनमा हामी अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ’, मोले कार्यक्रममा भनिन्। 

मोले बिहीबार नै कलेजमा विद्यार्थीले बनाएका ६ वटा सर्ट फिल्म पनि हेरेकी थिइन्। फिल्म हेरेपछि मोले विद्यार्थीसँग फिल्मका विषयमा अन्तरङ्ग छलफल गरेकी थिइन्। 

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल रामराजा दाहालले इन्फानाइटले दिइरहेको रकम कलेज र विद्यार्थीका लागि ठूलो महत्त्वको रहेको धारणा राखेका थिए। 

‘छात्रवृत्तिबापत विद्यार्थीले पाउने रकमको ठूलो अर्थ छ। योबाहेक हामी स्टुडियोसँग आगामी दिनमा अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ,’ उनको भनाइ थियो। 

स्टुडियोले कोभिड १९ को महामारीका कारण क्षति बेहोर्नुपरेका विद्यार्थीका लागि भनेर दुई साल अघिदेखि बुरसरी अवार्ड पनि वितरण गर्न थालेको थियो। स्टुडियोले तेस्रो साल पनि यो अवार्डलाई निरन्तरता दिने निर्णय गर्दै बिहीबार यो अवार्ड प्राप्त गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको थियो। 

इन्फानाइट छात्रवृत्ति पाउने ५ जनाका तर्फबाट सजन भण्डारी तथा इन्फानाइट बर्सरी पाउने विद्यार्थीका तर्फबाट जेम्स ढकालले स्टुडियोप्रति कृतज्ञता प्रकट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .