भारतमा दुई नेपालीको अपहरणपछि हत्या भएको छ। जनकपुर उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो।
उनीहरू अपहरणमा परेको सूचनापछि प्रहरीले खोजि गरिरहेको थियो। अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती माग गर्दै परिवारलाई फोन गरेका थिए। त्यसपछि परिवार आफन्तको सम्पर्कमा पुगेका थिए।
अपहरण भारतमा भएको र अपहरणकारी पनि भारतमै भएका कारण नेपाल प्रहरीलाई घटनास्थल पत्ता लगाउन समय लागेको थियो। पछि आफन्त फिरौती रकम बुझाउन जाँदा पनि अपहरणकारी भागेका थिए।
अपहरणकारी फिरौती रकम लिन समेत नआएपछि प्रहरीले पत्ता लगाउन सकेको थिएन।
‘भारतीय प्रहरीको सहयोगमा हामीले खोजिकार्य तिव्र बनाएका थियौं। यता पनि घटनामा संलग्नहरूको खोजी भइरहेको थियो। तर उद्धार गर्न सफल भएनौं। भारतमै हत्या भइसकेको रहेछ’, मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त कुँवरले भने।
प्रहरीले अपहरणमा संलग्न मध्ये २ जनालाई नेपालमा र भारतमा २ जनालाई पक्राउ गरेको छ। २ जनालाई भारतमै भारतीय प्रहरीले पक्राउ गरेको डीआईजी कुँवरले बताए।
यस्तै घटनामा अन्य ४ जनाको पनि संलग्नता खुलेको छ। तर उनीहरू फरार छन्।
अपहरणमा लागुऔषधको कारोबार जोडिएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ। घटनामा जोडिएका व्यक्तिहरु लागुऔषधको कारोबारमा संलग्नहरू छन्।
‘उनीहरुले लागु औषधकै लागि रकम जुटाउन अपहरअण गरेको देखिन्छ। पछि प्रहरीबाट उम्किनका लागि हत्या गरेर फरार भएको देखिएको छ’, डीआईजी कुँवरले भने।
२८ गते जाहेरी परेपछि प्रहरीले खोजिकार्य सुरु गरेको थियो। तर, घटनामा संलग्नहरूको लोकेसन भारतमा देखिएको थियो। पछि मोबाइल बन्द भयो । दुई दिनपछि मोबाइल खोलेर फिरौती रकम माग गरेका थिए।
त्यतिबेला पनि लोकेसन भारततिरै देखिएको थियो। त्यसपछि प्रहरी आफन्तसँगै भारततर्फ गएको थियो।
आफन्त फिरौती रकम बुझाउन तयार रहेको भन्दै गएका थिए। आफन्तले पहिले आफ्नो मान्छेसँग कुरा गराउन र त्यसपछि मात्रै फिरौती रकम बुझाउने भनेका थिए। अपहरणकारीले आफन्तसँग कुरा गराएनन्।
बरु, फिरौती रकम बुझ्न कहिले कहाँ कहिले कहाँ बोलाए। आफन्तसँग भेट्नै चाहेनन्।
त्यहीक्रममा प्रहरीले नेपालमा दुई जना र भारतमा दुई जना पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले शव फेला पार्यो। नेपालमा पक्राउ पर्ने एकजना पण्डित र एक जना पासवान थरका छन्।
Shares
प्रतिक्रिया