प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको गोंगबुमा सोमबार दिउँसो भएको आगजनी र लुटपाटको घटना गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो छानबिन गर्न निर्देशन दिएका हुन्।
उनले अन्याय परेका सबैले उचित न्याय पाउने गरी कारबाही गर्न पनि निर्देशन दिएका छन्।
'गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमै भएका यस्ता घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ', उनले भने, 'घटनाको पृष्ठभूमि के छ? के कारणले त्यस्तो अप्रिय घटना भयो? दोषी को को छन्? सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस्। जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्।'
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटनाबारे पूर्वअनुमान नगरेको बताए।
छलफलमा उनीहरूले घटनामा ३३ जना प्रहरी घाइते भएको जानकारी दिए।
उनीहरुले शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादबीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरे।
छलफलका क्रममा उनीहरूले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिए।
प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित थिए।
Shares
प्रतिक्रिया