ad ad

समाज


प्रतिवादीको प्रतिरक्षा बहस सुरु, केशव दुलालको तर्फबाट बहस गर्दै अधिवक्ता विकास भट्टराई

प्रतिवादीको प्रतिरक्षा बहस सुरु, केशव दुलालको तर्फबाट बहस गर्दै अधिवक्ता विकास भट्टराई

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८० बुधबार ११:२२, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुतर्फका वकिलहरूले बहस थालेका छन्। 

बुधबार बिहान जिल्ला अदालत काठमाडौंमा एकजना अभियुक्त केशव दुलालको तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस थालेका छन्। 

यो प्रकरणमा केशव दुलाल र सानु भण्डारी मुख्य बिचौलियाका रुपमा रहेका छन्। प्रतिवादीहरुले आफ्नो बचाउका लागि दर्जनौँ अधिवक्ताहरुलाई तयार राखेका छन्। 

दुलालको पक्षम बहस सुरु भएसँगै अब प्रतिवादीहरुले आफ्नो प्रतिरक्षा गर्ने चरण सुरु भएको छ। प्रतिवादीहरुले प्रतिरक्षा बहस सकेपछि मुद्दामा आदेश तयारी अदालतले गर्नेछ।

आइतबारदेखि मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलहरुले बहस सकेका थिए। त्यसपछि प्रतिवादीका वकिलहरुले प्रतिरक्षा बहस सुरु गरेका हु्न्। 

प्रतिवादीतर्फका वकिललाई बहसका लागि शनिबारबाहेक बुधबारदेखि आगामी मंगलबारसम्मको समय छुट्याइएको छ। 

प्रतिवादीतर्फको बहस सकिएपछि आगामी बुधबार फेरि सरकारी वकिलले जवाफी बहस गरेर त्यही दिन आदेश जारी गर्ने समय–तालिका छ। 

जिल्ला अदालतको आदेशले पक्राउ परेका १८ अभियुक्तलाई थुनामा पठाउने वा कारागारबाहिरै राखेर मुद्दा अगाडि बढाउने निर्णय दिनेछ।

सरकारी वकिलका तर्फबाट आइतबार महेश खत्रीले, सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई र प्रकाश घिमिरेले तथा मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल घोलालले बहस गरेका थिए। उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए।

यस्तै जाहेरवालाका तर्फबाट मंगलबार सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरेका थिए। 

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने भनी लाखौँ ठगी गरेको अभियोगमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल र सानु भण्डारी छन्। 

त्यसैगरी टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका छन्। 

अभियोग लागेका १२ जना अझै फरार छन्। नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनाविरुद्ध अदालतमा अभियोग दायर गरिएको छ।

उनीहरुविरुद्ध जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर,  संगठित अपराध र एकीकृत कसुरमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .