ad ad

समाज


वकिलको तर्क : केशव दुलाल आफैं अमेरिका जान खोज्दा ठगिए, अरुलाई ठगेको प्रमाण छैन

वकिलको तर्क : केशव दुलाल आफैं अमेरिका जान खोज्दा ठगिए, अरुलाई ठगेको प्रमाण छैन

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८० बुधबार १५:१५, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस थालेका छन्। 

बुधबार एकजना अभियुक्त केशव दुलाको  तर्फबाट ६ जना र सानु भण्डारीको तर्फबाट १ जना वकिलले बहस गरेका छन्। 

बुधबार जिल्ला अदालत काठमाडौंमा भएको बहसका क्रममा दुलालको तर्फबाट अधिवक्ता विश्वास आचार्यले प्रतिरक्षा गरे।

उनले यो प्रकरणमा दुलालले कसैसँग रकम नलिएको जिकिर गरेका छन्। ‘केशव दुलालले यो प्रकरणमा कसैसँग रकम लिएर ठगेका छैनन्। नाम मात्रै उल्लेख छ जाहेरीमा’, उनले भने, ‘सन्देश शर्माबाहेकले बयानमा पनि उनलाई पोलेका छैनन्।’

आचार्यले अभियोजन फाइलमा १० ठाउँमा रकम दिएको उल्लेख गरे पनि प्रमाण कतै नरहेको जनाएका छन्। 

‘अभियोग फाइलको १० ठाउँमा रकम दिएको उल्लेख छ। त्यो अनुसार रकम  दिएकै हो भने पनि उनको भागमा ७२ लाख ९६ हजार ४३३ रुपैयाँ ३३ पैसा पर्न आउँछ’, उनले भने, ‘दशै ठाउँमा नगद लिएको भनिएको छ। नगद लिएको कुरालाई अदालतले मान्यता दिएको मैले अहिलेसम्म देखेको छैन। अरु कागजले पुष्टि गर्न पनि सकेको छैन।’

अधिवक्ता आचार्यले वकिल र प्रहरीले लिएको बयानलाई मान्न नमिल्ने भएकैले अदालतमा बयान लिने गरिएको बताए। 

‘श्रीमानले यो मुद्दामा ठूलो नजिर बन्ने गरी आदेश दिनु हुनेछ भन्ने हाम्रो विश्वास छ। त्यसो भएमा श्रीमानको नाम स्वर्ण अक्षरले लेखिनेछ,’ उनले अगाडि भने।

वरिष्ठ अधिवक्ता योगेन्द्र बहादुर अधिकारीले बहसमा भाग लिँदै केही पत्रपत्रिका र अनुसन्धान अधिकारीका कारण यो सबै भइरहेको बताए। 

‘तर न्यायालयको शाख बचाउने हामीले हो। मुद्दाको सुरुदेखि नै कानुन व्यवासयीलाई भेट्न नदिने, पक्राउ पर्नासाथ प्रेस मिट गर्ने काम भयो’, उनले भने, ‘सरकारी वकिललाई प्रहरी कार्यालयमा लगेर अनुसन्धन गर्न लागइएको थियो त्यो कुरा गम्भीर छ।’

उनले केशव दुलाललाई मुद्दा चलाउने भए ठगीमा नभइ भुटानी शरणार्थी बनेर अमेरिका जान खोजेको कसुरमा चलाउन पनि आग्रह गरे। 

‘केशव दुललाई कारबाही हुन्छ भने ठगीमा होइन, भुटानी शरणार्थी बनेर अमेरिका जान खोजेको कसुरमा गर्नुपर्छ,’ उनले भने।

उनले केशव दुलाल गृहमन्त्रालयको कुनै मान्छे नभएको अवस्थामा त्यहाँको कागजपत्र किर्ते गर्ने कुरा सम्भव नै नहुने बताए। 

‘जाहेरवालाले मार्छन् भनेर थुनामा राख्न मिल्छ त श्रीमान्?  केशव दुलालले कुन कागज कहाँ किर्ते गरे? गृह मन्त्रालयको कागजमा कहाँ एक्सेस छ उनलाई?’, उनले भने, ‘यो संगठित अपराध हो भने आपराधिक समूहको नाम के हो? संस्थापक को हो? त्यो चाहियो नि!’

अधिकारीले अदालतले मिडियाबाजी र अफवाह होइन प्रमाण हेर्ने बताए। ‘केशव दुलासहित भाग्छन् भन्ने लाग्छ भने राहदानी रोक्का गरौँ बाहिर जान नदिऊँ तर थुनामा  नराखौँ’, उनले भने।

अर्का अधिवक्ता नरबहादुर योगीले केशव दुलाल आफैं क्यान्सरपीडित श्रीमतीको उपचार गराइरहेका मान्छे भएकाले यो कसुरमा उनको संलग्नता नरहेको जिकिर गरे।

त्यस्तै अर्का अधिवक्ता राजन भट्टराईले अभियोजन पक्षले ठगीको प्रमाण किन पेश गर्न सकेका छैनन् भनेर प्रश्न गरे।

‘अभियोग लगाएर मात्रै हुँदैन प्रमाण पनि पेश गर्न सक्नुपर्छ’, उनले भने,‘सुन्नलाई रमाइलो भए पनि यो अभियोग प्रमाणित हुन सक्ने अवस्था छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .