ad ad

समाज


दसैँ आउनै लाग्दा विभागले बल्ल राजमार्गका खाल्डा पुर्न थाल्यो

दसैँ आउनै लाग्दा विभागले बल्ल राजमार्गका खाल्डा पुर्न थाल्यो

नेपालखबर
असोज २६, २०८० शुक्रबार १२:२२, काठमाडौँ

सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्नेलगायतका मर्मत सुरु गरेको छ। 

वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तिनको मर्मत सुरु गरिएको विभागले जनाएको छ। 

मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) नातिबाबु खड्काले बताए।  साउनबाट नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको उनले बताए। 

विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्को वर्षा सुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ । उनले भने, ‘वर्षा सकिनासाथ दसैँ पनि पर्छ । तर, मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुन्छ।’

यो वर्ष दसैँ केही ढिला गरी रहेको छ । मर्मतको काम बर्सेनि गर्ने समयमा गर्दा पनि दसैँमा सडक राम्रो अवस्थामा पुग्ने उनले बताए ।  मर्मतको काम सुरु भइसकेको उनले जानकारी दिए । उनले भने, ‘सबैतिर भइरहेको रिपोर्ट आइरहेको छ, दसैँअघि सबैतिर भइसक्छ होला।’

राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन्। सोहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो। 

यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इन्जिनियर खड्काले बताए ।  कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्ने हुन्छ । उनले भने, ‘पुरानो दायित्व नै सबै भुक्तानी भइसकेको छैन।’

सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम सुरु भए पनि भनेजस्तो प्रगति भइनसकेको उनले बताए । उनले भने, ‘तुरुन्त भुक्तानी दिन सक्ने अवस्था नभएसम्म समस्या रहेको छ।’ 

वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालू भइसकेको विभागले जनाएको छ । कतिपय सडकमा ठूलो क्षति रहेकामा तिनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .