ad ad

समाज


गैँडाकोट नगरपालिकाले घर-घरमै पुर्‍याइदियो सामाजिक सुरक्षा भत्ता, वृद्ध आमा भन्छिन्- निकै सहज भयो

गैँडाकोट नगरपालिकाले  घर-घरमै पुर्‍याइदियो सामाजिक सुरक्षा भत्ता, वृद्ध आमा भन्छिन्- निकै सहज भयो

नेपालखबर
कात्तिक ४, २०८० शनिबार १५:२२, काठमाडौँ

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। गैँडाकोटका नगर प्रवक्ता एवं वडा नम्बर तीनका वडाध्यक्ष शिवकान्त तिवारीसहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षाभत्ता घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए। तिवारी भन्छन्, ‘नगरपालिकाले एकमुष्ट रकम लाभग्राहीको व्यक्तिगत खातामा जम्मा गरिदिन्छ। भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुन्छ। त्यसैले हामीले सहजीकरण गरेर सबैको पैसा घरमा नै पुर्‍याएका हौँ।’

नगरपालिकाले सबैको खातामा पैसा हालिदिएपछि लाभग्राहीको घरमा पुगेर चेक जम्मा गरी वडा कार्यालयले बैंकबाट साटेर लाभग्राहीको हातमा दिएको वडाध्यक्ष तिवारीले बताए।

‘हामीले बैङ्कका कर्मचारीलाई हाम्रो विश्वास लाग्दैन भने चेक लिने बेलामा सम्बन्धित व्यक्तिले चेकमा ल्याप्चे लगाउनुभएको भिडिओ देखाउँछौँ भनेपछि बैङ्कका कर्मचारीले रकम साटिदिनुभयो। त्यसपछि हामी घरघरमै सेवा पुर्‍याउन सफल भएका हौँ,’ वडाध्यक्ष तिवारी भन्छन्, ‘हाम्रो वडाबाट भत्ता बुझ्न जाँदा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म खर्च हुन्छ। यस्तो समस्याको समाधान गर्नुपर्ने हामी जनप्रतिनिधिको दायित्व हो। त्यसैले रकम घरमै लगेर वितरण गरेका हौँ ।’

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडा सदस्यहरूलाई समेत परिचालन गरेको वडाध्यक्ष तिवारी बताउँछन्। उनले दसैँका लागि मात्रै भत्ता घरमा पुर्‍याउन लागेका नभई आफ्नो पहिलो कार्यकालदेखि नै यस्तो भत्ता घर-घरमा पुर्‍याउँदै आएको बताए।

वडामा रहेका दुई सय २२ घरधुरीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिने गरेको उल्लेख गर्दै अध्यक्ष तिवारीले सबैको रकम जोड्दा करिब २२ लाख रुपैयाँ हुने बताए।

यसरी घरमै भत्ता लिन पाउँदा लाभग्राहीसमेत खुसी छन्। ९० वर्षीय सानुमाया सुनार दिनभरि हिँडेर लाइनमा बसी भत्ता बुझ्दा समस्या हुने गरेकोमा वडा कार्यालयले घरमै ल्याएर दिँदा निकै सहज भएको बताउँछिन्। ‘पैदल हिँडेर तथा अटो चढेर बैङ्कसम्म पुग्नपर्थ्यो’, उनी भन्छिन्, ‘बैङ्कमा गएर पनि लामो लाइन बसेपछि मात्रै भत्ता पाइन्थ्यो, यसरी घरमै रकम बुझ्न पाउँदा ज्यादै खुसी लागेको छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .