उर्लाबारी आगलागी घटनाका अर्का घाइतेको पनि मृत्यु भएको छ। योसँगै उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
उर्लाबारी- ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी हुँदा निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए।
यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये आईसीयूमा ५ जना छन्।
यसअघि उक्त आगलागी घटनामा उर्लाबारी–७ ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको पनि कीर्तिपुर अस्पतालमै मृत्यु भएको थियो।
Shares
प्रतिक्रिया