ad ad

समाज


अजित मिजारको न्यायका लागि जुर्मुराउँदै दलित, शनिबार काठमाडौँमा खबरदारी सभा

अजित मिजारको न्यायका लागि जुर्मुराउँदै दलित, शनिबार काठमाडौँमा खबरदारी सभा

काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेस्थित अजित मिजारको घरमा उनका बुवा (बायाँबाट दोस्रो) र आमा (बायाँबाट तेस्रो) सँग दलित अभियन्ता खगेन्द्र सुनार (दायाँबाट पहिलो)।


नेपालखबर
माघ ४, २०८० बिहिबार ११:१५, काठमाडौँ

गैरदलित केटीसँग प्रेम विवाह गर्दा साढे ७ वर्षअघि मारिएका अजित मिजारलाई न्यायका लागि काठमाडौँमा खबरदारी सभा आयोजना गरिने भएको छ। 

‘दलितका लागि दलित आन्दोलन’का संयोजक खगेन्द्र सुनारका अनुसार आगामी शनिबार (माघ ६ गते) रत्नपार्कस्थित शान्तिवाटीकामा अजितको न्यायका लागि आवाज उठाउन सभा गर्न लागिएको हो। 

‘घटनाको वास्तविकता सार्वजनिक गर्न, आगामी आन्दोलनबारे जानकारी गराउन माघ ६ गते दिउँसो रत्नपार्कको शान्तिवाटीकामा खुला पत्रकार सम्मेलन तथा खबरदारी सभा गर्दै छौँ’, सुनारले भने, ‘उपस्थितिका लागि सबैलाई अपिल छ।’ 

कार्यक्रम दिउँसो १ बजे सुरु हुने उनले जानकारी दिए। 

अजित हत्याकाण्डको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ। 

यसअघि जिल्ला अदालत धादिङ तथा उच्च अदालत पाटनले समेत उक्त अजित हत्याका तीनै प्रतिवादीलाई सफाइ दिएपछि अजितका बुवा हरिभक्त ढकाल मिजारले उक्त मुद्दा पुनः हेरिपाऊँ भनी गत वैशाखमा सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। सो मुद्दामा सर्वोच्चले फैसला गर्न बाँकी छ। 

यस्तो थियो घटना
काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित मिजार गाउँकै पराजुली थरकी किशोरीसँग प्रेम गर्थे। तर केटीको परिवारलाई आफ्नी छोरीले कथित अछूत जातका केटासँग सम्बन्ध बनाएको पटक्कै मन परिरहेको थिएन। उनीहरू कुनै पनि हालतमा यो सम्बन्ध छुटाउने पक्षमा थिए। 

त्यसैले अजितले २०७३ असार २५ गते प्रेमविवाह गर्दै केटीलाई भगाए। श्रीमती लिएर अजित भक्तपुरस्थित दिदीको घर गएर बसे। 

यता अजितका बुबा हरिभक्तलाई केटीपक्षबाट लगातार ज्यान मार्ने धम्की आउन थाल्यो। यसपछि हरिभक्त २०७३ असार २७ गते प्रहरी कार्यालय पुगे। प्रहरीले बिहे गर्न केटा र केटी दुवैको उमेर नपुगेको भन्दै उनीहरूलाई घर फर्काउने सहमति गरायो।

तर त्यसको ३ दिनपछि अजित धादिङको परेवाटारस्थित विश्रामस्थलमा झुन्डिएको अवस्थामा मृत फेला परे। 

साउन १ गतेसम्म पनि शवको सनाखत नभएपछि प्रहरीले उनको मृत्युलाई आत्महत्या भनी बेवारिसे शवका रूपमा गाडिदियो। छोराको मृत्युको खबर पाएपछि हरिभक्त ढकाल मिजार धादिङ पुगे। तर प्रहरीले अजितले आत्महत्या गरेको र उनको शव गाडिसकिएको जानकारी गरायो। 

हरिभक्तले अन्तिम संस्कार गर्न छोराको शव खाल्डोबाट निकालिदिन प्रहरीसँग अनुरोध गरे।

जब शव खाल्डोबाट निकालियो, तब हरिभक्तले आत्महत्या नभई छोराको हत्या भएको संकेत पाए।

त्यसपछि छोराको शव लिएर उनी काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आए। 

यसपछि आफ्नो छोराको हत्या भएको शंका गर्दै अजितका बुबाले २०७३ साउन २ गते धादिङकै गजुरीस्थित इलाका प्रहरी कार्यालयमा केटीका बाबुसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिए।

त्यसको एक महिनापछि भदौ २० गते प्रहरीले उनीहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलायो। तर जिल्ला अदालत धादिङले उक्त मुद्दामा २०७५ जेठ २० गते तीनैजना विनोद भनिने टेकबहादुर पराजुली, ध्रुव भनिने भोजबहादुर पराजुली र सम्झना पराजुलीलाई सफाइ दियो। 

चित्त नबुझेपछि अजितका बुवा हरिभक्तले उच्च अदालत पाटनमा पुनरावेदन गरे। तर उच्च अदालतले पनि २०७९ वैशाख १२ गते जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी गत वैशाखमा सर्वोच्च अदालत पुगेका हुन्। 

न्याय नपाएसम्म छोराको अन्तिम संस्कार नगर्ने हरिभक्तको अडानका कारण अजितको शव साढे ७ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहमै अलपत्र छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .