ad ad

समाज


जंगी अड्डा पुगेर रक्षामन्त्रीले भने : सेनाप्रति नेपालीको विश्वास र भरोसा छ

जंगी अड्डा पुगेर रक्षामन्त्रीले भने : सेनाप्रति नेपालीको विश्वास र भरोसा छ

नेपालखबर
चैत १२, २०८० सोमबार १८:२, काठमाडौँ

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले जङ्गी अड्डाको भ्रमण गरेका छन्। रक्षा मन्त्रीमा नियुक्त भएपपछि पहिलो पटक उनी नेपाली सेनाको मुख्यालय पुगेर जानकारी लिएका हुन्।

जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको छ।

कार्यक्रमका क्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले मन्त्री उप्रेतीलाई बधाई दिँदै सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरे।

उनले संविधानप्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माण लगायत विविध काम समयमै पूरा गर्न सेना कटिबद्ध रहेको उल्लेख गरे। 

ती जिम्मेवारीहरू पुरा गर्ने क्रममा आईपर्ने चुनौतीलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आइरहेको र त्यसको निरन्तरता हुनेमा विश्वस्त रहेको उनले बताए। 

सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरूले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाउनुका साथै सैन्य कूटनीति प्रवर्द्धन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको उनले बताए।

संयुक्त राष्ट्र संघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीति-रणनीति अख्तियार गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृद्धिको अभिलाषा पूरा गर्न सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको उप्रेतीले बताए।

नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवम् व्यावसायिकताका साथ सम्पन्न गर्नुका साथै विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको मन्त्री उप्रेतीको भनाइ थियो।

उनले विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यवसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवम् राष्ट्रिय एकता प्रवर्ध्दनमा गरेका उल्लेखनीय कार्यका कारण सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान रहेको दोहोर्‍याए। 

राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरणबारे नेपाल सरकार गम्भीर रहेको बताउँदै उनले समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .