समाज


वीर अस्पतालको बेडबाट जारी यो भिडिओ सन्देश सत्य होइन : साइबर ब्युरो

‘गृहमन्त्रीलाई ‘सहकारी ठग’ भनी फेसबुकमा लेख्दा यस्तो अवस्थामा पुर्‍याए’
वीर अस्पतालको बेडबाट जारी यो भिडिओ सन्देश सत्य होइन : साइबर ब्युरो

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १५:४२, काठमाडौँ

अस्पतालको शय्या (बेड) बाट नाकमा पाइप लगाएका एक युवकले बोलिरहेको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

जसमा ती युवकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई फेसबुकमा ‘सहकारी ठग’ भनेर कमेन्ट गर्दा आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले विष खाने अवस्थामा पुर्‍याएको दाबी गरेका छन्।

भिडिओमा उनी भन्छन्, ‘मैले गृहमन्त्रीको बारेमा फेसबुक पेजमा सहकारी ठग भनेर कमेन्ट गरेको थिएँ, २/३ महिनाअगाडि। अस्ति साइबर ब्युरोले मलाई बोलायो। अनि अनेक प्रश्न सोध्यो। हिजो बिदा भयो, अनि आज मह लिएर आइज भन्यो। मह लिन गको, मलाई अनेकौँ प्रश्न सोध्यो, तँलाई जेल हाल्छु ६/७ वर्ष। गृहमन्त्रीविरुद्ध बोल्ने। सहकारी ठगेको तँसँग के प्रमाण छ? तँलाई हामी जेल हाल्छौँ, सम्माननीय गृहमन्त्रीलाई चिन्छस् भन्यो। साइबर ब्युरोले मलाई हजारौँ प्रश्न सोध्यो। अनि साइबर ब्युरोको ढोकामै औषधि खान बाध्य भएँ।’ 

उनले भनेको ‘औषधि’ विष हो। जुन खान बाध्य भएर अस्पताल भर्ना हुनुपरेको आशय उनले व्यक्त गरेका छन्। 

तर साइबर ब्युरोले उक्त भिडिओ भ्रमपूर्ण भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ। 

ब्युरोका तर्फबाट प्रहरी उपरीक्षक (एसपी) भाग्येन्द्र पुरुष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...वीर अस्पतालको आकस्मिक कक्ष पठाइएकामा अस्पतालको बेडबाटै आम नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो आपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्‍याउने निकृष्ट उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकबाट पोस्ट भई प्रचार भएको भ्रमपूर्ण भिडिओ सन्देशमा कुनै सत्यता नरहेको बेहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने ब्यहोरासमेत अनुरोध गरिएको छ।’

ब्युरोका अनुसार उक्त भिडिओ सन्देश जाजरकोटको तत्कालीन टालेगाउँ गाविस वडा नम्बर ७ स्थायी ठेगाना भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २७ वर्षीय गणेशमान सिंहको हो। 

ब्युरोको विज्ञप्तिअनुसार Rishi Raj Jha (ऋषि राज झा) नामको फेसबुकबाट अश्लील सामग्री पोस्ट गरी हैरानी दिएको भनी सिंहविरुद्ध उजुरी परेको थियो। अनि अनुसन्धानका क्रममा उक्त Rishi Raj Jha (ऋषि राज झा) नामको फेक फेसबुक अकाउन्ट उनैले सञ्चालन गरेको पुष्टि भएको दाबी ब्युरोले गरेको छ। 

सो आईडीबाट अश्लील सामग्री प्रकाशन गरेको विषयमा ब्युरोको कार्यालयमा उपस्थित हुन अनुरोध गरेपछि उनी यही वैशाख १२ गते १० बजे हाजिर भए। 

ब्युरोको दाबीअनुसार ‘यस कार्यालयमा उपस्थित हुनासाथ निजको साथीले फोनमार्फत ‘निजले मलाई तनाव भयो भनी गएको छ’ भनी यस ब्युरोमा खबर गरेपश्चात् सोधखोज गर्दा निजले २ स्ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालै उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्ष पठाइएको’ थियो। 

त्यही बेडबाटै उनले गृहमन्त्रीविरुद्ध कमेन्ट गर्दा ब्युरोले विष खाने अवस्थामा पुर्‍याएको भनी भ्रमपूर्ण भिडिओ बनाएको दाबी ब्युरोले गरेको छ। 

हेर्नुहोस् ब्युरोको विज्ञप्ति

ब्युरोले आफ्नो विज्ञप्तिमा सिंहले कसलाई कस्तो अश्लील सामग्री पठाएको भनी उल्लेख गरेको छैन। यस विषयमा नेपालखबरले फोन गर्दा साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले फोन काटे। 

यस्तो छ सिंहले अस्पताल बेडबाट जारी गरेको भिडिओ सन्देश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .