ad ad

समाज


मुस्लिम आयोगले दियो दसैँको शुभकामना

मुस्लिम आयोगले दियो दसैँको शुभकामना

नेपालखबर
असोज २०, २०८१ आइतबार १५:१८, काठमाडौँ

मुस्लिम आयोगले विजया दशमी एवं शुभ दीपावलीको अवसरमा शुभकामना दिएको छ।

आइतबार ललितपुरमा आयोगले विजया दशमी, शुभ दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरी शुभकामना दिएको हो।

कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कुनै अपराध गर्ने व्यक्तिलाई जात र धर्मका नाममा उन्मुक्ति दिन नहुने बताए। 

अपराधीको कुनै धर्म नहुने भन्दै सामाजिक सद्भाव बिथोल्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। 

केही तत्वहरूले नेपालमा मिलेर बसिरहेका विभिन्न समुदायबीचमा एक आपसमा भिडाएर स्वार्थपूर्ति गर्न खोजिरहेको भन्दै चाडपर्वहरूले यस्ता अराजकता हटाउने विश्वाससमेत व्यक्त गरे।

‘मुस्लिम आयोगले बारम्बार भन्दै आइरहेको यदी कुनै अपराध गर्ने व्यक्ति हो भने कुनै समुदायमा त्यसलाई बाँध्न मिल्दैन। अपराधीको कुनै जात धर्म हुँदैन। यदी मुस्लिम समुदायका व्यक्तिले पनि अपराध गर्छ भने उसलाई छुट दिने नेपालको कानुनमा छैन। केही तत्वहरूले हाम्रो देशमा मिलेर बसिरहेका विभिन्न समुदायबीचमा एक आपसमा सदियौँदेखि जुन प्रकारको बसोवास गर्दै आइरहेको छ,’ उनले भने, ‘चाडपर्वमा रमाउने, खुशीयाली आदानप्रदान गर्ने, यस्ता समयमा खासगरी चाडपर्वको बेलामा मौका छोपेर घुसपैठ भएर त्यहाँ आफैँले दुर्घटना गराउने र केही समुदायका व्यक्तिहरुको नाम लिने र त्यहाँ अराजक शैलीमा प्रस्तुत हुने यसप्रति सधैँ मुस्लिम आयोग गम्भीर भएको छ।’

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले महिलाहरू मठ मन्दिर, पसहरूमा सामान किन्न जाँदा र सार्वजनिक सवारीसाधनमा विभिन्न हिंसा हुने गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरिन्। उनले महिलामाथिको दुव्र्यवहारलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको बताइन्।

काठमाडौँभर विभिन्न सवारीसाधनहरूमा विशेष छानबिन गर्नेगरी सञ्चालन गरिरहेको बताउँदै उनले साधा पोसाकमा प्रहरी खटाउनेदेखि अन्य सुरक्षासम्बन्धी काम गरिरहेको पनि बताइन्।

‘चाडपर्वमा विशेष गरेर महिलाहरु मठ मन्दिरमा जाँदा वा पसहरुमा सामान किन्न जाँदा, सार्वजनिक सवारीसाधनमा यौन हिंसा गरेको, वा विभिन्न किसिमले उनीहरूमाथि दुर्व्यवहार गरेको घटनाहरू हामीसँग प्रशस्त रुपमा छ। काठमाडौँभर विभिन्न सवारीसाधनहरुमा विशेष छानविन गर्नेगरी एउटा अभियान तीन चार वर्षदेखि गरिरहेका छौँ। त्यसका लागि साधा पोसाकमा प्रहरी साथीहरू ५० जनाको संख्यामा विभिन्न रुटमा परिचालित हुनुहुन्छ। यो वर्ष नै उपत्यकामा युनिफर्म, साधा पोसाक प्रहरी, सिसि क्यामेराहरू जडान गरी सुरक्षाका लागि सहजीकरण गर्ने काममा लागेका छौँ,’ उनले भनिन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विभिन्न धर्मका मानिसहरू मिलेर बसिरहेको भन्दै चाडपर्वमा पनि एकले अर्कोलाई सहयोग र सम्मान गर्न सक्नुपर्ने बताए। 

‘हामी विभिन्न धर्मका मानिसहरु छौँ, देशमा। तथापि हामी मिलेर बसेका छौँ। हाम्रो संविधानले पनि धार्मिक स्वतन्त्रता दिएको छ। आफ्नो धर्म मान्न पाइन्छ। हिन्दुहरूको महान चाड दसैँ अहिले छ। यसको लागि शुभकामना व्यक्त गर्दछु। प्राकृतिक प्रकोपका कारण देशमा दुःख छ तथापि चाड मनाउँदा सबै आफ्नो घर जान चाहनुहुन्छ, बस र विमानको टिकट नपाएको गुनासो छ। कसैलाई दुःख नहोस्, शान्ति र सुखपूर्वक चाडवाड मनाउनुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .