ad ad

समाज


‘छोरी-ज्वाइँ पाहुना आएका छन्’ भन्दै कुलबहादुरले घर छाड्न नमान्दा...

‘छोरी-ज्वाइँ पाहुना आएका छन्’ भन्दै कुलबहादुरले घर छाड्न नमान्दा...

नेपालखबर
असार २९, २०८१ शनिबार ५:५९, कास्की

कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन्, ‘आज हामी सुत्नु हुँदैन। झ्याल ढोका खुला राखेर बस्नुपर्छ, पहिरो आयो भने भागौँला।’ 

उनकी सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न देवरको घर गएकी थिइन्। साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर गइन्।

सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बसेकी थिइन्। अन्य सबै जना घरमा एउटै कोठामा थिए। राति  १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन। उनी र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै थिए। भूकम्प जस्तो भयो। दुवैजना डरले कोठाबाट बाहिर निस्किए।

राधिका डरले पल्लोघरतिर भागिन्। सूवर्ण भाईको परिवारलाई बचाउँछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिराले पुरिसकेकेको थियो।

पहिरोले कुलबहादुरसहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ र २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुर्यो। 

कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भए। पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए। घरमाथि अघिल्लो दिननै सानो पहिरो खसेको थियो। जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरे पनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए।

‘अस्ति सानो पहिरो खसेको थियो। अब तल आउँदैन होला भन्ने भयो। आयो भने भाग्ने भनेर बसेका पनि थियौँ,’ राधिकाले भनिन्। उनका अनुसार कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न गएका थिए। 

‘माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ। पहिरो आउँदैन भने। तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै घरमाथि पहिरो खस्यो’, उनले भनिन्। कुलबहादुरलाई पहिराको त्रास भए पनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उनले बताइन्।

पहिराले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ। अर्को कोठामा बसेकाले उनी पहिराबाट जोगिइन्। राधिकाको सुत्ने कोठा पहिराले पुरिएको हो। गएराति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताइन्। 

पहिराबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उनी विक्षिप्त छिन्। ‘जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली। कसरी खबर गर्नु, कस्तो दिन भोग्नुपर्योँ’, राधिकाले आँखाबाट आँसु झार्दै भनिन्।

स्थानीयका अनुसार कुलबहादुरलाई पहिराको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो। छिमेकीहरुले वैकिल्पक व्यवस्था गर्न भनेका थिए। अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन। पहिराको त्रास भने थियो।

पोखरा–१९ का वडासदस्य विकास आचार्यले बिहीबा साँझ कुलबहादुरलाई खाना घरमै खाए पनि बास नबस्न आग्रह गरेको बताए। 

उनले भने,‘पानी परिरहेको छ, पहिराको जोखिम छ आजलाई खाना पकाएर खाए पनि  रात नबस्नु हामी अर्को व्यवस्था गछौँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भनेका थिए। राति ठूलो आवाज सुनेर बाहिर निस्कँदा अरुलाई पहिराले पुरिसकेको रहेछ। छोरालाई मात्र जोगाउन सफल भयौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .