चाडपर्व त्यसमा पनि दसैँको बेग्लै महत्व हुन्छ। दसैँ आएसँगै कतिपय कर्मथलो छाडेर जन्मथलो फर्किसकेका छन्। कति फर्कने तरखरमा छन्।
अरु चाडमा भन्दा लामो छुट्टी दसैँमा मिल्छ। ठूलासँग आर्शीवाद लिने अवसर पनि हो दसैँ। चाहेर पनि अरु बेला घर फर्कन नपाउनेका लागि दसैँ एउटा विशेष अवसर हो।
घर फर्किएर परिवारसँग भेटघाटले छुट्टै उत्साह ल्याउँछ। तर, यसपटक खेलाडीका लागि दसैँभन्दा महत्वपूर्ण अर्को चाड मनाउने तयारीको चटारो छ।
दसैँ सकिएको केही दिनमा गण्डकी प्रदेशमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुदका कारण खेलाडीले दसैँ यसअघिको जसरी मनाउने अवसर हुने छैन। अझ खेलाडीले त खानपान, शारीरिक व्यायाम र मानसिक रुपमा पनि बलियो हुनुपर्ने भएकाले दसैँ उनीहरुका लागि औपचारिकतामा सीमित हुने अवस्था बनेको छ।
अरुले चाडपर्व उल्लाससाथ मनाइरहँदा खेलाडीले असोज २८ गते सुरु हुने राष्ट्रिय खेलकुदको अन्तिम तयारीमा जुट्नु पर्ने छ। राष्ट्रिय खेलकुद अन्तर्गतका खेलहरु २३ गतेदेखि नै सुरु हुँदैछन्।
नवौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, ३ विभाग र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरि ११ टोलीका ७ हजार ५ सय खेलाडीले २ प्रदर्शनीसहित ३८ खेलमा प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दसैँ र तिहारबीच नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्दा खेलाडीले तयारीमा व्यस्त हुनुपर्ने अवस्था छ। दसैँभन्दा उनीहरुको प्राथमिकतामा राष्ट्रिय खेलकुद रहन्छ। सहभागी टोलीहरुले चाडपर्व मनाउने भन्दा बढी तयारीमै जोड दिएका छन्।
नेपाल एपीएफ क्लबका खेलकुद विभाग प्रमुख विजय केसी यो पटक राष्ट्रिय खेलकुदलाई नै दशैका रुपमा मनाउनुपर्ने अवस्था रहेको बताउँछन्।
‘यो पटक खेलाडी आफैँ दसैँभन्दा राष्ट्रिय खेलकुदको तयारीमा केन्द्रित छन् ’, उनले भने, ‘नवौँ राष्ट्रिय खेलकुद एशियन गेम्सको पनि छनोट पनि हो। त्यसैले खेलाडीले दसैँमा घर जानुभन्दा प्रशिक्षणमा व्यस्त हुन चाहिरहेका छन्।’
एपीएफले अहिले राष्ट्रिय खेलकुदको तयारीमा रहेका खेलाडी र टिमलाई बिहान र बेलुका प्रशिक्षण गराइरहेको छ। बिदाको दिन पनि प्रशिक्षण नरोकिएको केसीले सुनाए।
‘खेलाडीहरुले घर जानुभन्दा नवौँको तयारीमा लाग्ने भनेका भनेका छन्, उनले भने, ‘नवौँपछि खेलाडीहरु लामो बिदामा घरमा जानेछन्। दसैँको टीकाका दिन बिदा दिएका छौँ। उपत्यकामा घर हुनेले परिवारसँग त्यही एक दिन दसैँ मान्छन्। बाँकी खेलाडीले यहीँ दसैँ मनाउनेछन्। टीकाको दिन पनि प्रशिक्षणको व्यवस्था मिलाएका छौँ।’
केसीको भनाईबाट पनि राष्ट्रिय खेलकुदलाई विभागले कति महत्व दिन्छ भन्ने बुझ्न पर्याप्त हुन्छ। राष्ट्रिय खेलकुदका लागि मुख्यतः तीन विभाग एपीएफ, सेना र प्रहरीकैबीच प्रतिस्पर्धा हुने गर्छ। यद्यसि अन्य क्षेत्रीय टोलीले पनि बढी भन्दा बढी खेलमा चुनौती पेश गर्ने तयारी गरिरहेका छन्।
आयोजक गण्डकी प्रदेश पनि राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त छ। गृह प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना हुँदा सर्वाधिक पदक जित्ने लक्ष्य गण्डकीले राखेको छ। त्यसैले प्रदेशले आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ।
उमेर समूहमा देशको प्रतिनिधित्व गरिसकेकी गण्डकी प्रदेशकी फुटबल खेलाडी मनमाया परियार अहिले दसैँ मनाउने भन्दा राष्ट्रिय खेलकुदको तयारीमा केन्द्रित रहेको बताउँछिन्।
यसै पनि उनको यसपाली टीका लगाउन मिल्दैन। त्यसैले उनको खास योजना पनि छैन। हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद गर्ने लक्ष्य पूरा हुन सकेको छैन। वर्षौँ कुरेर आउने राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसरलाई खेलाडी उम्काउन पक्कै चाहँदैनन्। त्यसले पनि उनीहरुका लागि दशैभन्दा बढी महत्वपूर्ण नवौँको तयारी हो।
१० औँ राष्ट्रिय खेलकुद आयोजनास्थल कर्णाली प्रदेश पनि अहिले नवौँको तयारीमा जुटेको छ। कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव बीएम सञ्ज्यालका अनुसार अहिले ४ सय ९८ खेलाडी बन्द प्रशिक्षणमा छन्।
कर्णालीले नवौँमा २९ खेलमा प्रतिस्पर्धा तयारी गरेको छ। अधिकांश खेलाडी प्रदेशको सदरमुकाम सुर्खेतमा प्रशिक्षण गरिरहेका छन्। केही खेलाडी गृहजिल्लामै प्रशिक्षणमा व्यस्त छन्। केही खेलाडी नेपालगञ्ज र काठमाडौंमा प्रशिक्षण लिइरहेका छन्।
‘नवौँमा ट्रफी जित्ने र दशौँ हामीले नै आयोजना गर्ने भएकोले कर्णालीले त्यसैलाई मध्यनजर गर्दै तयारी गरेका छौँ’, सञ्ज्यालले भने, ‘हामी विगतमाभन्दा उत्कृष्ट नतिजा निकाल्ने गरि खेलाडी तयार गरिरहेका छौं।’
कर्णालीका फुटबल, ह्याण्डबलका खेलाडीले दसैँमा घर नगई सुर्खेतमै प्रशिक्षण गर्ने भन्दै निवेदन दिएबाट पनि खेलाडीले नवौँ राष्ट्रिय खेलकुदलाई चाड भन्दा ठूलो रुपमा हेरेको बुझ्न सकिन्छ। उनीहरुको प्रशिक्षणको व्यवस्थापन प्रदेशले गरिरहेको छ। यद्यपि दसैँमा घर जान चाहने खेलाडीलाई प्रदेशले बढीमा ५ दिन बिदा दिने बताएको छ।
गण्डकी प्रदेशको पुरुष भलिबल टोलीका प्रशिक्षक रमेश केसीका अनुसार अहिले दसैँभन्दा खेल प्रतियोगिताको तयारीमै व्यस्त छन्। गण्डकी प्रदेशले भलिबल टोलीलाई ५ दिन बिदा दिएको छ। बिदापछि खेलाडीहरु प्रशिक्षणमा सामेल हुने केसीले बताए।
बागमती प्रदेशले भने दशैमा घर जान चाहने खेलाडीका लागि बिदा दिएको छ। बागमती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्य भण्डारीले भने, ‘सप्तमीको अघिल्लो दिनदेखि बिदा गरेर दसैँलगत्तै बन्द प्रशिक्षण भइरहेको स्थानमा खेलाडीलाई सहभागी हुन भनेका छौँ।’
दसैँमा समान्य समयमा भन्दा खानपान बढी हुन्छ। नियमित अभ्यास पनि छुट्छ। त्यसलाई ध्यानमा राख्दै दसँैलगत्तै नियमित प्रशिक्षणमै डाकिएको सदस्य सचिव भण्डारी बताउँछन्।
बृहत् राष्ट्रिय खेलकुद वर्षौँ प्रशिक्षण गर्ने खेलाडीलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर हो। खेलाडीले यस्तो अवसर गुमाउन चाहँदैनन्।
विवादका कारण तेक्वान्दोको तयारी राम्ररी भएको छैन। विवादले खेलाडी छनोट नै हुन सकेको छैन। त्यसबाहेक छनोट भएका बागमतीका अन्य खेलका खेलाडी बन्द प्रशिक्षणमा छन्।
हेटौँडामा २ वटा खेलका खेलाडी, चितवनमा पुरुष भलिबल र बाँकी खेलको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रशिक्षण भइरहेको छ।
Shares
प्रतिक्रिया