यस पटक अरु नेपाली दसैँमा रमाइरहँदा खेलाडीहरुको प्राथमिकता भने नवौँ राष्ट्रिय खेलकुद भएको छ।
खेलाडीहरु दसैँबिदामा पनि नवौँ खेलकुदका लागि ऊर्जा लगाइरहेका छन्। हरेक चाडपर्वका आफ्नै विशेषता छन्। दसैँ टीकामा मात्रै सीमित छैन। अरुभन्दा दसैँ लामो पनि हुन्छ।
दसैँ आफन्तसँग लामो समय बिताउने अवसर पनि हो। तर, फरक फरक पेशा र व्यवसायमा लागेका मानिसको अवस्था पनि फरक हुन्छ।
सुरक्षा र स्वास्थ्यलगायत अतिआवश्यकीय क्षेत्रमा आवद्धहरु सबैले एकै पटक बिदा पाउँदैनन्। नियमित सेवा दिनुपर्ने पेशाकाले चाड चलिरहँदा पनि सेवा रोक्न मिल्दैन।
राष्ट्रिय अन्तर्राष्ट्रिय खेल आयोजना भएका बेला खेलाडीले पनि चाडभन्दा बढी खेललाई महत्व दिनुपर्ने हुन्छ। यसपटक दसैँ र तिहारबीचमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना हुँदैछ। छनोट चरण पार गरेका अधिकांश खेलाडीको ध्यान त्यसकै तयारीमा केन्द्रित छ। तयारी बीचमा केही समय परिवारसँग बिताउने योजना खेलाडीको छ।
देशबाहिर व्यवसायिक फुटबल खेल्दै आएका राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ र डिफेन्डर रोहित चन्द ठकुरीले परिवारसँग दसैँ माउन पाउने छैनन्। मंगलबार बगंलादेशसँगको मैत्रीपूर्ण खेलका लागि स्वदेश आएका किरण बुधबार नै भारत पुगेका छन्। रोहित बिहीबार इन्डोनेसिया लागेका छन्।
किरण आई लिग र रोहित इन्डोनेसियन लिग खेल्ने क्लबमा आवद्ध छन्।
नवौँ राष्ट्रिय खेलकुदका लागि ऊर्जा लगाइरहेका खेलाडीले नेपालखबरसँग आफ्नो दसैँ योजना यसरी सुनाए :
अन्जना राना मगर, फुटबल खेलाडी (आर्मी)
त्रिभुवन आर्मी फुटबल क्लबकी गोलरक्षक अन्जना राना मगर यो पटकको दसैँ ब्यारेकमै मनाउने तयारीमा छिन्। नवौँ राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त विभागीय टोलीले आफ्ना खेलाडीलाई दसैँको समय पनि प्रशिक्षणमा राखेको छ।
प्रशिक्षणमा व्यस्त भएपछि यो वर्ष उनी आफ्नो गृह जिल्ला रौतहट जान पाउने छैनन्। राष्ट्रिय खेलकुदको तयारीकै कारण अन्जनाले यो वर्षको दसैँ आर्मीको महिला फुटबल टोलीसँग मनाउँदैछिन्।
अजित यादव (एथलेटिक्स)
एपीएफ क्लबका धावक अजितकुमार यादव अर्को पटक दसैँ मनाउने योजनामा छन्। नवौँ खेलकुद प्रतियोगितामा व्यस्त रहेकाले उनले अर्को वर्ष दसैँ मनाउने छन्।
‘अहिले दसैँभन्दा पनि राष्ट्रिय खेलकुदमा ध्यान दिँदैछु। दसैँ अर्को वर्ष मनाउँला, अहिलेलाई खेलकुदको तयारीमै ध्यान दिएको छु, ’ उनले भने।
अरुणा शाही, कप्तान भलिबल
राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही अहिले नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर कार्यदलमा छिन्। अरुणाले आयोजक गण्डकी प्रदेशबाट नवौँ खेलकुदमा प्रतिस्पर्धा गर्नेछिन्। अरुणाले दसैँ मनाउने योजना नभएको सुनाइन्।
‘त्यस्तो खास योजना छैन। १६ गतेबाट प्रशिक्षण बन्द हुन्छ, छुट्टी भएपछि घर (म्याग्दी) गएर सबैसँग भेटघाट गर्ने र टिका लगाउने हो’, उनले भनिन्, ‘त्यसपछि फेरि प्रशिक्षणमा फर्किने हो।’
रोजन खड्का कराते, प्रदेश १
करातेमा आफ्नो तौल समूहका राष्ट्रिय च्याम्पियन रोजन खड्का नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्यमा छन्। प्रदेश १ का कराते खेलाडी रोजनले दसैँका लागि खास योजना बनाएका छैनन्। उनी प्रदेश १ मै प्रशिक्षणमा छन्।
‘अहिले दसैँको भन्दा नवौँ राष्ट्रिय खेलकुदको तयारी धेरै छ’, उनले सुनाए, ‘स्वर्ण जित्ने लक्ष्यसाथ मिहिनेत गरिरहेको छु।’
Shares
प्रतिक्रिया