अस्मिता खरेल र कञ्चन श्रेष्ठको उत्कृष्ट साझेदारीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
सुमन खतिवडा ११ र आरती विडारी ३ रनमा नटआउट रहे। पहिलो विकेटका लागि ओपनर अस्मिना खरेल र कन्चन श्रेष्ठले १०.४ ओभरमा ४७ रनको उत्कृष्ट साझेदारी गरे। २६ बलको सामना गरेकी खरेल ९ रनमा पवेलियन फर्किइन्।
कन्चन २५ रनमा रन आउट भइन्। ४४ बलको सामना गरेकी कन्चनले १ चौका हानिन्।
त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा बागमतिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १८ दशमलव २ ओभरमा ७१ रन जोड्दा अलआउट भयो।
अनु कडायतले जोडेको २२ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा २ चौका हान्दै २२ रन जोडिन्। अन्य ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
ओपनर रुबी पोडारले जोडेको १२, कप्तान बिन्दु रावल ५ रनमा पवेलियन फर्के। रुवीले २१ बलमा १ चौका प्रहार गरिन्। रावल ५ बलमा एलबीडब्लु धरापमा पर्दै आउट भइन्। यासु पाण्डे ७ रनमा आउट भइन्। यशोदा विष्ट र सवित्री धानु शुन्य रनमा आउट भए। रितु कनौजिया ३ र डोली भट्ट २ रनमा पवेलियन फर्के। स्नेहा महरा ५ रनमा रन आउट भइन्।
बागमती प्रदेशकी सोनी पाख्रिन एक्लैले ५ विकेट झारिन्। उनले आफ्नो स्पेलमा १३ रन खर्च गरिन्। र खुसी डंगोलले २ विकेट झारिन्। कृष्मा गुरुङ र अस्मिता खरेलले समान १ विकेट लिए।
आजै भएको पहिलो खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले हराएको थियो।
Shares
प्रतिक्रिया