यो सिजन उत्कृष्ट लयमा देखिएको आर्सनलले बलियो प्रतिद्वन्द्वी लिभरपुललाई हराउँदै उपाधि यात्रामा शीर्षता यथावत राखेको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले लिभरपुललाई ३-२ गोलले पराजित गर्दै लिग तालिकामा अग्रता कायमै राखेको हो।
आर्सनलको महत्वपूर्ण जितका लागि युवा स्ट्राइकर बुकायो साकाले २ गोल र गाब्रियल मार्टिनेलीले १ गोल गरे।
यो सिजन खराब लयबाट गुज्रिरहेको लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक एक गोल फर्काउन सके।
घरेलु दर्शकको साथ पाएको आर्सनलले खेलको पहिलो मिनेटमा मार्टिनेलीको गोलबाट अग्रता बनायो।
तर खेलको ३४ औँ मिनेटमा लिभरपुलका नुनेजले गोल फर्काउँदै खेलललाई १-१ गोलको बराबरी बनाए।
तर आर्सनलका लागि साकाले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेर अग्रता २-१ बनाउन सफल भए।
प्रतिस्पर्धात्मक यो खेलको ५३ औँ मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिन्होले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा आयो।
बराबरी अवस्थामा रोचक भइरहेको यो खेलको ७६ औँ मिनेटमा आर्सनलले पेनाल्टी पायो। त्यसलाई साकाले गोलमा परिणत गर्दै अग्रता बनाए।
साकाको यही पेनाल्टी गोल आर्सनललाई ३ अंक दिलाउन पर्याप्त भयो। यो हारले लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोप भने दबाबमा परेका छन्।
लिभरपुललाई हराएपछि आर्सनलले ९ खेलबाट २४ अंक बनाएको छ। लिभरपुल १० अंकसहित १० औँ स्थानमा छ। म्यानचेस्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया