नविता श्रेष्ठसहित संयोग कपाली, रुविन महर्जन र बिनेश खनियाले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने भएका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिपको समूह शीर्षस्थानमा रहेर चार खेलाडीले छनोटमा स्थान पक्का गरेका हुन्।
नेपालबाट च्याम्पिनयसिपको छनोटमा स्थान बनाउने नविता एक्ली खेलाडी हुन्। एसियन च्याम्पियनसिप छनोटमा सफल भए नविताले विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछिन्।
महिलातर्फ समूह ‘एच’ को खेलमा नविताले बंगलादेशकी कोइ कोइ साइ मार्मालाई ३–१ को सेटमा पराजित गर्दै छनोटमा स्थान बनाएकी हुन्। लगातार दुई सेट ११–९, ११–६ लेआफ्नो पक्षमा पारेकी नविताले तेस्रो सेट ४–११ ले गुमाएकी थिइन्। तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेकी नविताले सेट ११–७ ले जित हात पारिन्।
समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा रहिन्। यसअघि नविताले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरेकी थिइन्। सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन्।
संयोग कपालीले लगातार दोस्रो जित निकाल्ने क्रममा माल्दिभ्सका मूसा मुन्सिफ अहमेदलाई ३–१ को सेटमा पराजित गरे। पहिलो खेलमा संयोगले बंगलादेशका मोहम्मद नाफिज इक्वाललाई सोझो सेटमा पराजित गरे। समूह ‘डी’ मा संयोक चार अंक सहित शीर्षस्थानमा रहे।
रुविन महर्जनले आफ्नो दोस्रो खेलमा पाकिस्तानका मुहम्मद शाह खानलाई ३–१ को सेटमा हराए। समूह ‘सी’ को पहिलो खेलमा रुविनले श्रीलंकाका भुवनेका निर्मल बान्देरा जयासिंघीलाई सोझो सेटमा हराएका हुन्।
दुई खेलमा जित निकाल्दै समूह ‘एफ’ बाट बिनेश खनिया छनोट भएका छन्। शीर्षस्थानमा रहेका बिनेशले बंगलादेशका फहाद खवाजा र रामहिमलियनलाई पराजित गरेका थिए।
शिव शुन्दर गोथेले बंगलादेशका रिवन खानलाई पराजित गर्दै छनोट हुने सम्भावना कायम राखेका छन्। समूह ‘इ’ मा रहेका प्रदीप रोकाको पनि छनोटमा स्थान बनाउने समभवना कायमै छ।
महिलातर्फ भारतकी मनिका बट्रा, श्रीजा अकुला, रीथ रिस्या टेनिसन, अर्चना गिरिस कमाथ, दिया पाराङ चितल, विमन्दी सन्दिन्सा स्वा र माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट भएका छन्।
आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ। वरियता ९ देखि १६ सम्मको बाँकी छनोट खेल शनिबार हुनेछन्।
नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ बरियतासम्म प्रतिस्पर्धा गर्ने छन्।
एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन्। नेपालबाट भने पाँच–पाँच खेलाडी छनोटमा सहभागी भएका छन्।
Shares
प्रतिक्रिया