ad ad

खेल


आफ्नै लगानीमा क्रिकेट रंगशाला बनाउन कस्सिएका कुँवर दम्पती (भिडिओ)


लक्ष्मी जि.सी
असार २ , काठमाडौँ

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बन्न लागेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम एक क्रिकेट समर्थकले देखेको सपना हो। उनी हुन्- हाल अस्ट्रेलियामा व्यवसाय गरिरहेका गुल्मीका विनोद कुँवर। आफू त क्रिकेट समर्थक हुन् नै, क्रिकेटप्रति नेपालीहरुको बढ्दो क्रेजबाट पनि उनी क्रिकेट रंगशाला निर्माणका लागि प्रेरित भएका हुन्।

कुँवर भन्छन्, ‘अहिले पो धेरैलाई थाहा भयो। हामी क्रिकेट रंगशाला बनाउँदै छौं भन्ने। यसको योजना हामीले ५ वर्षअघिबाट बनाएका थियौं।’

उनको योजनामा पत्नी सुदीक्षा गौतमले मज्जैले साथ दिइरहेकी छन्। 

अध्ययनका सिलसिलामा अस्ट्रेलिया पुगेका कुँवरले अध्ययन सकेपछि आईटीको एक्स्ट्राटेक कम्पनी खडा गरे। त्यसको सफलताले उनलाई क्रिकेट रंगशाला निर्माणका गर्न सहज भयो। पाँच वर्षमा रंगशालाको निर्माण र सय जनाका लागि होस्टल निर्माण गर्ने उनको लक्ष्य छ। पहिलो वर्ष मैदान र ५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने र त्यसका लागि बजेट पनि छुट्टाइएको कुँवरले बताए। 

सरकारी लगानीमा क्रिकेटका थुप्रै संरचना छन्। तर, ती कुनै पनि पूर्ण छैनन्। फ्लड लाइटसहितको क्रिकेट मैदान अहिलेसम्म छैन। अर्को धुर्मुस सुन्तली फाउन्डेसनले सहयोग उठाएर चितवनमा  क्रिकेट रंगशाला बनाउने अभियान सुरु गरे। तर, त्यसले सफलता पाउन सकेको छैन। आर्थिक अभावमा अहिले योजना अलपत्रजस्तै छ। 

यी दुईभन्दा भिन्न तरिकाले आफ्नै लगानीमा क्रिकेट रंगशाला बनाउन कुँवर कस्सिएका छन्। सरकारको लामो प्रक्रिया र अरुको सहयोगमा बनाउनुमा जोखिम रहेको उदाहरण हाम्रासामु छन्। त्यसैले कुँवरले आफ्नै लगानीमा यो आँट गरे। उनी सरकारी सहयोग र चन्दाको आशा गरिरहेका छैनन्।

भविष्यमा आर्थिक अभावको नै भएछ भने पनि सेयर निस्कासन गर्ने विषयमा भने सोच्न सक्ने बताउँछन्। एकल प्रयासमा निर्माणमा जुट्न सहज हुने उनको विश्वास छ। निर्णय गर्न ढिलाइ हुन्न। कसैको आशमा बस्नु पर्दा त्यो काम समयमा नहुन पनि सक्ने उनले बुझेका छन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ स्थित पूर्व दरखसवामा स्टेडियम बनाउँदा सुरुवातमा स्थानीयको साथ पाएनन् र केही अवरोधको पनि सामना गनुपर्‍यो। 

तर, उनीहरूले हरेस खाएनन्। सबैलाई बुझाउने प्रयासमा लागे र त्यो सम्भव पनि भयो। अहिले स्थानीय पनि उनीहरुको प्रयासमा खुसी छन्। सोमबार हिन्दूधर्मअनुसार स्टेडियमको शिलान्यास गर्दा स्थानीयको पनि उत्साहजनक सहभागिता थियो। 

५ बिघा जग्गा खरिद गरेपछि मात्र रंगशाला  निर्माणको अभियानमा जुटेका कुँवर अझै केही जग्गा थप्ने प्रक्रियामा छन्। कुँवर एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक र उनी पत्नी सुदीक्षा चिफ अप्रेटिङ अफिसर हुन्। दुई साता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याएपछि बल्ल शिलान्यस गरिएको कुँवर बताउँछन्। ‘जग्गामा यसै शिलान्यास गर्दा पत्यार नलाग्न पनि सक्छ, त्यसैले हामीले पहिला मैदान सम्याएर अनि शिलान्यास गरेका हौं,’ उनले भने।

पाँच वर्षमा रंगशाला  निर्माण सक्ने उनको योजना छ। प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ५ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने उनी बताउँछन्। रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

यूएईमा लामो समय बसेर अबुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी निर्वाह गरेका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटर छन्। 

अहिले रंगशालाको निर्माण क्रममा ब्रान्ड एम्बसडर रहेका राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचन पनिले त्यसपछि एकेडेमी र प्रशिक्षक दुवै हेर्ने बताइएको छ। गौचन नयाँ योजनालाई लिएर उत्साहित छन्। अहिले जत्ति पनि खेलाडी रुपन्देहीबाट तयार भइरहेका छन्, भविष्यमा यो भन्दा बढी संख्यामा तयार हुनेमा शक्ति आशावादी छन्।

तस्बिर/भिडिओ : सरोज नेपाल 

असार २, २०८० शनिबार ७:५१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .