ad ad

खेल


‘बी डिभिजन’मा झरेपछि एपीएफमा व्यापक परिवर्तन, ५३ जनालाई काठमाडौं बाहिर पठाइयो

‘बी डिभिजन’मा झरेपछि एपीएफमा व्यापक परिवर्तन, ५३ जनालाई काठमाडौं बाहिर पठाइयो

लक्ष्मी जि.सी
असार १६, २०८० शनिबार ८:५५, काठमाडौँ

सहिद स्मारक ‘ए डिभिजन’ लिगमा रेलिगेसनमा पर्दै ‘बी डिभिजन’मा घटुवा भएपछि सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबमा व्यापक परिवर्तन गरिएको छ।

१४ टोली सहभागी एपीएफ ‘ए डिभिजन’ लिगको तेह्रौँ स्थानमा रहेको थियो। रेलिगेसनमा परेपछि यसअघि टोलीमा सहभागी खेलाडीलाई सशस्त्रले आफ्नो दरबन्दी रहेकै युनिटमा फिर्ता पठाएको छ। यसअघि विभिन्न युनिटमा दरबन्दी भए पनि उनीहरू क्लबमा रहेर फुटबल खेल्दै आएका थिए। टोलीको निराशाजनक नतिजापछि पहिलो एक्सन टोलीका सदस्यमाथि नै लिइएको हो। 

टोलीमा परिवर्तन आवश्यक रहेको बताउँदै सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले त्यसका लागि काम भइरहेको जानकारी दिए। लिग सकिएपछि टोलीका सदस्यलाई अन्य स्थानमा खटाइएको उनले बताए। आफ्नो दरबन्दी भएकै स्थानमा पठाउनुलाई अन्यथा लिन नहुने उनको भनाइ छ।

‘हामी जहाँ छौँ, त्यहाँ खेल्छौँ। हामी ‘बी डिभिजन’बाट बढुवा भएर फेरि ‘ए डिभिजन’मा नै आउँछौँ। खेल्ने मान्छे लड्छ, उठ्छ। तर हामी फेरि खेल्छौँ र राम्रो गर्छौँ,’ नेपालखबरसँग एसएसपी खड्काले भने,

एपीएफको टोलीमा अब अधिकांश नयाँ खेलाडीले मौका पाउने सम्भावना देखिएको छ। ‘पुन:संरचनामा राम्रो खेल्ने पुराना समेटिनुका साथै नयाँले पनि मौका पाउनेछन्, हामी राम्रो गर्नेगरी तयारी गर्छौं’, प्रवक्ता खड्काले भने। 

चर्च ब्वाइज 'सी', 'बी' हुँदै ‘ए डिभिजन’ च्याम्पियन बनेको उदाहरण दिँदै उनले एपीएफ पनि ‘बी डिभिजन’ च्याम्पियन बनेर ‘ए डिभिजन’को उपाधि उचाल्ने गरेर आउने दाबी गरे। 

सशस्त्र प्रहरीका कर्मचारी आवश्यकता अनुसार फेलबदल हुनु सामान्य भएको तर्क उनको छ। उनले ड्युटी बोर्डर, फुटबल, हिमाल, पहाड, तराईं जहाँ पनि हुन सक्ने र त्यसमा अन्यथा लिन नहुने उनको भनाइ छ। राम्रो लक्ष्यका लागि कहीँ न कहीँबाट सुरु गर्नुपर्ने तर्क उनले गरे।

‘बी डिभिजन’मा घटुवा भएपछि एपीएफले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग पनि असन्तुष्टि पोखेको थियो। 

लिग सकिएको भोलिपल्ट नै एपीएफले एन्फालाई दुई फरक पत्र पठाएको थियो। पत्रमार्फत् लिगका केही खेलमा मिलेमतो भएको भन्दै छानबिनको माग गरिएको थियो। 

एपीएफले 'थ्री स्टार क्लब'का लागि विदेशी खेलाडीले बिना भिसा खेलेको विषयमा पनि एन्फालाई पत्र लेखेको थियो। लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेललाई १–० ले हराउँदा एपीएफ रेलिगेसनमा परेको थियो। उक्त नतिजाबाट एपीएफ असन्तुष्ट बनेको थियो।

तर एन्फाले एपीएफलाई कुनै जवाफ दिइसकेको छैन।

एन्फाले जवाफ दिन ढिलाइ गरेपछि एपीएफले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पनि पत्र पठाएको छ। तर जवाफ नआउँदै आफ्ना खेलाडीलाई एपीएफले अन्य डिउटीमा खटाएको हो।

लिग सकिएपछि एपीएफले खेलाडीलाई केही समय बिदा दिएर नियमित अभ्यास गराउने गर्थ्यो। तर यसपटक अन्य काममा खटाइएपछि अभ्यास हुन सकेको छैन।

एपीएफले मुख्य टोली र दोस्रो टोलीका खेलाडी, प्रशिक्षक र रेफ्री गरी ५३ जनालाई काठमाडौंबाहिर फर्काएको छ।

करारमा राखेका खेलाडीसँग पनि सम्झौता रद्द गरिएको छ। सम्झौता फकुवा भएसँगै अब ती खेलाडीले अन्य क्लबसँग सम्झौता गर्न र खेल्न पाउनेछन्। गएको सिजनमा करारमा सम्झौता गरेर चार खेलाडीले एपीएफबाट खेलेका थिए। 

करार सम्झौता थप नभएका चारमध्ये दुई खेलाडी भने राष्ट्रिय टोलीमा समेत छन्। डिफेन्डर सनिश श्रेष्ठ र मिडफिल्डर आवास लामिछाने एपीएफमा करारमा आवद्ध भएका थिए। 

एपीएफकै मणि लामा र नवीन लामा भारतमा जारी साफ च्याम्पियन्ससिप खेलेर बुधबार राति मात्रै स्वदेश फर्किएका छन्। उनीहरुलाई एन्फाले रिलिज लेटर दिएपछि दरबन्दी रहेको क्षेत्रमा फर्काइनेछ।

यो संस्करणको लिगमा सुखद सुरुवात गरेको एपीएफले त्यसपछिका खेलमा लय पक्रिन सकेन। रेलिगेसन जोनमा संघर्ष गर्दै आएको एपीएफले लिगको अन्तिम खेलमा फ्रेण्ड्स क्लबसँग हार बेहोर्‍यो।

जावलाखेल र थ्रिस्टारबीचको अन्तीम खेलले एपीएफलको रेलिगेसन र ‘ए डिभिजन’ यात्रा टुंगो लाग्थ्यो। थ्रिस्टार पराजित भएमा 'बी डिभिजन' मा झरी एपीएफको 'ए डिभिजन' कायम रहन्थ्यो। तर त्यसो भएन, खेलको अन्तिम समयमा कप्तान विक्रम लामाको पेनाल्टीमा थ्रिस्टार रेलिगेसनबाट जोगियो र एपीएफ ‘बी डिभिजन’मा घटुवा हुन पुग्यो। 

एपीएफले लिगका २६ खेलमा ८ मा जित, ६ खेलमा बराबरी र १२ खेलमा हार भोग्दै ३० अंक बनाएको थियो। 

२०६३ यता लगातार ‘ए डिभिजन’ लिगमा सहभागिता जनाउँदै आएको एपीएफले अधिकांश लिगमा उच्च प्रदर्शनका लागि संघर्ष गर्दै आएको थियो। 

गएको सिजन पनि लिगमा खराब सुरुवात गरेको एपीएफले सुरुवातका तीन खेलमा हार व्यहोरेको थियो भने चौथो चरणमा पुगेर अंकको खाता खोलेको थियो। 

लिगमा लगातार खराब सुरुवात गरेपछि तत्कालीन मुख्य प्रशिक्षक कुमार थापाले एपीएफले विदेशी खेलाडी राख्नुपर्नेमा जोड दिँदै आएका थिए। त्यही जोडमा एपीएफले दुई विदेशी खेलाडी अनुबन्ध गरेको थियो। 

टोलीमा विदेशी खेलाडी अनुबन्धपछि एपीएफले मोफसलकै प्रतिष्ठित २० औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको थियो। आहा राराको सर्वाधिक सफल टोली मनाङलाई टाइब्रेकरमा हराउँदै एपीएफले उपाधि जितेको थियो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .