ad ad

खेल


पहिलोपटक एसियन गेम्समा महिला फुटबल टोली : खुल्नसक्छ सम्भावनाको ढोका


लक्ष्मी जि.सी
साउन १२ , काठमाडौँ

असोज पहिलो सातादेखि चीनको हाङ्झाउमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडी प्रशिक्षणमा व्यस्त छन्। 

समूहगत र व्यक्तिगत स्पर्धामा गरी यो पटक एसियाडमा २९ खेलले नेपालको प्रतिनिधित्व गर्नेछन्। 

असोज ६ देखि २१ गतेसम्म हुने एसियाड पदकभन्दा सहभागिता र अन्तराष्ट्रिय एक्पोजर नै नेपाली टोलीका लागि ठूलो उपलब्धी हुने देखिन्छ।

एसियाली खेलकुदमा नेपालको महिला फुटबल टोलीले पहिलो पटक सहभागिता जनाउन लागेको हो। यसअघि पुरुष टोलीले स्पर्धा गर्दै आएको थियो। यो पटक महिला टोलीलाई मौका दिइएको छ। 

एसियन गेम्समा समूह डी मा रहेको नेपालले बंगलादेश, भियतनाम र जापानको सामना गर्नेछ। 

नेपालका लागि बंगलादेश चिरप्रतिद्धन्द्वी टोली हो। यी दुई टोली अहिलेसम्म ११ पटक आमनेसामने भएका छन्। ती भेटमा नेपालले ६ खेल जितेको छ। चार खेल बराबरीमा टुंगिएका छन्। एक खेल भने बंगलादेशले जितेको छ। 

भियतनामसँग भने नेपाल दुई पटक भेट भएका छन्। ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपाल भियतनामसँग ५–१ ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो।

नेपाल र जापानबीच पहिलो पटक हुन लागेको हो।

एसियाडमा सहभागी हुने केही खेलका टोली वैदेशिक प्रशिक्षणमा गएका छन्। अन्य केही टोली नेपालमै प्रशिक्षणरत छन्।

अधिकांश खेलको काठमाडौंमै प्रशिक्षण गरिरहेका छन्। केही खेलका टोलीहरु बन्द प्रशिक्षणमा व्यस्त रहँदा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरबाटै दैनिक रंगशाला पुग्ने गरेका छन्। 

नेपाली टोलीलाई बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन्। घरेलु र उमेर समूहको फुटबलमा सफल प्रशिक्षक बालगोपालले सिनियर महिला टोलीलाई पहिलो पटक प्रशिक्षण दिएका हुन्। 

महिला टोलीले यसअघिका खेलबाट सिकेर एसियाली खेलकुदका लागि तयारी गरेको टोलीकी मुख्य गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले बताइन्। 

‘बालगोपाल महर्जनसँग पहिलो पटक प्रशिक्षण गरिरहेका छौँ, तयारी राम्रो छ। प्रर्दशनका लागि केही दबाब त छ नै, त्यसैले बलियो टोलीसँग कसरी खेल्ने भनेर अहिलेदेखि नै तयारी गर्नुपर्नेछ’, उनले भनिन्, ‘ओलम्पिक छनोटअन्तर्गत भियतनामसँगको खेलमा हामीले धेरै सिक्न पायौं। हामीसँग प्रतिभाशाली जुनियर खेलाडीसँगै अनुभवी सिनियर खेलाडी पनि छन्। त्यसैले राम्रो प्रर्दशन गर्छौ भन्नेमा ढुक्क छौँ।’ 

एसियाली खेलकुदका लागि महिला टोलीले पहिले पनि प्रशिक्षण गरेको थियो। तर बीचमा आर्थिक कारण देखाउँदै प्रशिक्षण रोकिएको थियो। अहिले फेरि एसियालीडका लागि प्रशिक्षण भइरहेको छ। 

नेपाली टोली प्रशिक्षणमा व्यस्त रहँदा मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा मंगलबार युरोपियन लिगका लागि इजरायल जाँदैछिन्। 

साम्बा इजरायली क्लब हापोयल रनानामा अनुबन्ध भइसकेकी छिन्। इजरायल एसियन देश भए पनि फुटबलमा युरोपको प्रतिनिधित्व गर्छ। युरोपियन लिग खेलिरहँदा साम्बा उतैबाट एसियाली खेलकुदका लागि चीन जानेछिन्। 

‘हामीले पहिलाको भन्दा फरक तरिकाले प्रशिक्षण गरिरहेका छौँ, नेपाली फुटबलमा सफल प्रशिक्षकको छवि बनाएका बलगोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण गर्न पाउँदा टोली उत्साहित छ’, साम्बाले भनिन्।

जस्तो टोली आए पनि आफूहरु कडा टक्कर दिन तयार रहेको साम्बाले बताइन्। ‘हामीले राम्रो प्रदर्शन गर्ने हो भने अन्य देशमा व्यवसायिक लिगमा अनुबन्ध हुने राम्रो मौका छ’, उनले भने, ‘दक्षिण एसियाभन्दा बाहिरका बलिया टोलीसँग स्पर्धा गर्नु हाम्रो लागि ठूलो कुरा हो। यसले धेरै कुर सिकाउन मद्दत गर्दछ।’ 

एसियाली खेलकुद नेपाली टोलीका लागि सहभागिता मात्र होइन, आफ्नो स्तर मापन गर्ने उत्कृष्ट मौका पनि हो। पहिलो पटकको मौका सदुपयोग गर्दै उत्कृष्ट प्रर्दशन गर्ने योजनामा टोली रहेको मिडफिल्डर रेनुका नगरकोटे बताउँछिन्। 

‘पहिलो अवसरलाई राम्रो सदुपयोग गर्छौँ। हामीले मिहिनेत गरेर प्रशिक्षण गरिरहेका छौँ’, उनले भनिन्, ‘एसियन खेलकुद महिला टोलीका लागि चुनौती हो। हामीले बलिया टोलीसँग खेल्नुपर्ने हुन्छ। त्यसैले नतिजाभन्दा उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छौँ।’

खेल करिअरको उत्तरार्द्धमा रहेकी रेनुकाले एसियाली खेलकुद खेल्न पाउनु आफ्नो लागि उत्कृष्ट मौका भएको बताइन्। यसले आफूलाई प्रमाणित गर्ने पनि बताएकी छन्। लामो समयको तयारीका कारण टोलीको प्रर्दशन राम्रो हुनेमा रेनुकासहित टोली आशावादी छ। 

एसियाड खेल्ने टोली 
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला बि.क., निशा ठोकर, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल।

तस्बिरहरू

साउन १२, २०८० शुक्रबार ७:५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .