ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा राष्ट्रिय सभा : सत्ता गठबन्धनको पल्लाभारी, प्रतिपक्षी एमालेको हात खाली

सुदूरपश्चिममा राष्ट्रिय सभा : सत्ता गठबन्धनको पल्लाभारी, प्रतिपक्षी एमालेको हात खाली

गोकुल जोशी
पुस २३, २०८० सोमबार १९:२, कञ्चनपुर

सुदूरपश्चिममा राष्ट्रिय सभाको तीनै सीटमा उम्मेदवारी दर्ता भएको छ। सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका हुन्। 

धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्तारुढ गठबन्धन र  एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

नेकपा एमालेले अन्यतर्फ ईश्वरी खरेल (कञ्चनपुर), महिलातर्फ सावित्री घिमिरे (कैलाली) र अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली)लाई एमालेले उम्मेदवार बनाएको छ।

यस्तै, सत्तारुढ गठबन्धनमा कांग्रेसले दुई सीट र माओवादी केन्द्रले एक सीटमा उम्मेदवार खडा गरेको छ। 

कांग्रेसले अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र अपांगता तथा अल्पसङ्ख्यक कलस्टरमा नारायणदत्त भट्ट (कैलाली) तथा माओवादीले महिलातर्फ रेणु चन्द  (बैतडी)लाई उम्मेदवार बनाएको छ।

राष्ट्रियसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने तीन जनाको कार्यकाल अगामी  फागुन २० मा सकिँदैछ। 

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका कैलालीका हरिराम चौधरी, डडेल्धुराका महेश महरा  र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी कञ्चनपुरकी इन्दु कडरियाको पदावधि सकिन लागेको हो। राष्ट्रिय सभाको चुनाव माघ ११ गते तोकिएको छ।

गठबन्धनको पल्लाभारी
राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेश सांसद मतदाता हुन्छन्। 

निर्वाचन आयोगका अनुसार प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १९ रहेको छ।

सुदूरपश्चिममा स्थानीय तहको ३ हजार ३४४ र प्रदेश सांसदको २ हजार ७५६ गरेर कुल ६ हजार १०० मतभार छ।

मतभारमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। ५३ प्रदेश सांसद रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजादीका ४ तथा एक÷एक जना राप्रपा र स्वतन्त्र सांसद छन्। 

मतभार
बझाङबाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएको थियो। प्रदेशका ८८ स्थानीय तहमध्ये कांग्रेसले ४० प्रमुख र ४५ उपप्रमुख जितेको छ। 

स्थानीय तहको १ हजार ६१५ र प्रदेशको ९५४ मतभारसहित कांग्रेससंग सबैभन्दा बढी २ हजार ५६९ मतभार छ।

नेकपा एमालेसँग स्थानीय तहमा ९६९ र प्रदेशमा ५३० गरेर कुल एक हजार ४९९ मतभार छ। एमालेले २६ स्थानीय तह प्रमुख र २५ उपप्रमुख जितेको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रसँग १ हजार ५८ मतभार छ। माओवादीसँग १४ स्थानीय तह प्रमुख र ११ उपप्रमुखको ४७५ तथा ११ प्रदेश सदस्यको ५८३ मतभार रहेको छ।

नागरिक उन्मुक्तिसँग स्थानीय तहमा १३३ र प्रदेश सदस्यको ३७१ गरेर कुल ५०४ मतभार छ। उन्मुक्तिले कैलालीका ४ स्थानीय तहमा प्रमुख र ३ उपप्रमुख जितेको थियो। 

यस्तै, २ स्थानीय तह प्रमुख र १ उपप्रमुख तथा ४ प्रदेश सांसद रहेको सत्तारुढ नेकपा एकीकृत समाजवादी कुल ३०७ मतभार छ।

सुदूरपश्चिममा १ प्रदेश सांसद, २ स्थानीय तह प्रमुख र १ उपप्रमुख गरेर ११० मतभार स्वतन्त्र छ। यस्तै, राप्रपासंग सबैभन्दा कम ५३ मतभार छ।

एमालेको हात खाली
मतभारअनुसार सत्तारुढ गठबन्धनको पल्लाभारी र नेकपा एमालेको हात खाली हुने देखिएको छ। 

सबैभन्दा बढी मतभार रहेको नेपाली कांग्रेसले सुदूरपश्चिममा राष्ट्रिय सभाका दुई सीटमा उम्मेदवार खडा गरेको छ। 

यसअघि दुई सीट जितेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा यसपटक एक सीटमा खुम्चिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .